दयाहाङको ‘जारी’ को ओझेलमा दयाहाङकै ‘बिहे पास’, निर्माता भन्छन्- गुनासो छैन – Nepal Press

दयाहाङको ‘जारी’ को ओझेलमा दयाहाङकै ‘बिहे पास’, निर्माता भन्छन्- गुनासो छैन

‘जारी'मा उहाँको पनि लगानी छ, आफू निर्माता भएको फिल्मलाई बढी महत्व दिनु स्वाभाविकै हो: निर्माता रत्न श्रेष्ठ

काठमाडौं । नयाँ वर्षको अवसर पारी वैशाख १ गतेबाट ३ चलचित्र एकसाथ रिलिज हुँदैछन् । अभिनेता दयाहाङ राईको ‘जारी’, दयाहाङकै ‘बिहेपास’ र अभिनेत्री सुरक्षा पन्तको ‘बुलाकी’ ।

हुन त वैशाख १ बाट ४ चलचित्र रिलिज हुने तय भएको थियो । तर, रिलिजको मुखमा विकास आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नु ल ६’ ले हात झिकेको छ । चलचित्रको सेन्सर सिफारिसमा ढिलाइ भएको कारण देखाउँदै चलचित्र १ गते सो चलचित्र नलाग्ने भएको हो ।

‘नाई नभन्नु ल ६’ ले मैदान छोडेपछि अब वैशाख १ गते ३ चलचित्रले आफ्नो खेल देखाउने भएका छन् । यीमध्ये दुई चलचित्रमा एकै अभिनेता दयाहाङको मुख्य भूमिका रहेको छ । एउटै मितिमा एउटै अभिनेताका दुई चलचित्र किन भिड्न पुगे ? दुईमध्ये एक वा दुवै चलचित्र मारमा पर्लान् कि नपर्लान् ? यो प्रश्न दयाहाङका शुभचिन्तकहरुले गरिरहेका छन् ।

दयाहाङले ‘बिहे पास’ लाई उपेक्षा गरेको र ‘जारी’ मा बढी झुकाव देखाएको आरोप पनि लागेको छ । जारीको प्रचारप्रसारमा सक्रिय भएर हिँडिरहेका उनले के साँच्चै ‘बिहे पास’ लाई वेवास्ता गरेका हुन् त ? यो विषयमा हामीले निर्माता रत्न श्रेष्ठसँग कुराकानी ग¥यौं ।

चलचित्र ‘बिहेपास’को प्रचारप्रसारमा दयाहाङ कम देखिनुलाई गलत मान्नु नहुने उनले बताए । दयाहाङ आफैंले बेलाबेलामा सम्पर्क गरेर के गर्ने भनेर सोधिरहने गरेको उनको भनाइ छ ।
चलचित्रकी नायिका प्रकृति श्रेष्ठ अष्ट्रेलियामा भएकाले प्रचारप्रसारमा ढिलाइ भएकोसमेत श्रेष्ठले बताए ।

उनी भन्छन्, ‘हामीले नै प्रमोसनलाई सुस्त हिसाबले लगेका हौं । नायिका अष्ट्रेलियामा भएकाले के छुट्टाछुट्टै हिँड्ने भन्ने विचार आयो । नायिकाविना नायक एक्लै के हिँडाउनु भनेर हो । प्रकृति भर्खर आएकी छन् । अब हाम्रो प्रोमोसन दौडिन्छ ।’

चलचित्रका निर्देशक प्रवेश पौडेलसमेत युकेमा छन् । उनी युकेमा यही चलचित्रको रिलिजका लागि पुगेका हुन् ।

दयाहाङले ‘बिहेपास’लाई समय नदिएको समाचार सत्य नभएको पनि श्रेष्ठले स्पष्ट पारे । जारीमा दयाहाङको पनि लगानी भएकाले बढी सक्रिय हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

‘आफैं लगानीकर्ता भएपछि खेलेको चलचित्रभन्दा लगानी गरेको चलचित्रमा सपोर्ट हुुनु सामान्य हो । उहाँहरुको टीमले बनाएको चलचित्र हो । हामीले यस विषयलाई त्यस्तो ठूलो विषय बनाएका छैनौं । नकारात्मक सोचेका पनि छैनौं’, उनी थप्छन् ।

‘जारी’को हल्ला र प्रचार धेरै भएकाले आफ्नो चलचित्र दबिएको वा हेपिए जस्तो भएको उनको धारणा छ ।

उनी भन्छन्, ‘झट्ट हेर्दा त्यस्तै देखिएको छ । तर, त्यस्तो होइन । अहिले म पूर्वमा छु । यहाँ ‘जारी’को कहींकतै एउटा होडिङ बोर्डसमेत छैन । म आएको चार दिन भयो, कसैको घरमा जारीबारे कुरा भएको देखेको छैन । पत्रकार किनेको भन्ने कि खै के भन्ने सामाजिक सञ्जालमा चाहिँ ‘जारी’को भयंकर चर्चा छ ।’

‘जारी’ सक्रिय देखिनुको अर्को कारण चलचित्रको ‘डाइलग’ लाई मान्छन् श्रेष्ठ । ट्रेलरको एक डाइलग भाइरल भएका कारण चर्चा थप भएको उनको दाबी छ ।

‘बाहिर हेर्नुभयो भने ‘जारी’को भन्दा ‘बिहेपास’को प्रोमोसन धेरै छ । हामीले गर्नुपर्ने ठाउँ सबैमा प्रचार गरिसकेका छौं । सामाजिक सञ्जालमा पनि सुरु गरिसक्यौं’, उनी जोड्छन् ।

श्रेष्ठका अनुसार ‘जारी’भन्दा भिन्न र राम्रो कथावस्तु भएको चलचित्र हो ‘बिहेपास’ ।

‘जारी’ एउटा समुदाय विशेषको चलचित्र हो, जुन सोही मितिमा लाग्न लागेको अर्को चलचित्र ‘बुलाकी’ को कथासँग मिल्छ । ‘जारी’ आर्टमा आधारित सिनेमा हो । ‘बिहेपास’ यो कुनै निश्चित संस्कृति, समुदाय वा जातजातिमा रहेर बनेको सिनेमा होइन । यो शुद्ध पारिवारिक सामाजिक कथामा आधारित रहेर बनेको चलचित्र हो’, उनले बयान गरे ।

चलचित्र जुध्दा यसले निर्माता, हलवाला र कलाकार सबै मारमा पर्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘पहिलो, ३ वटा चलचित्र जुध्दा निर्माता त त्यसै पनि डुब्ने भइयो । दोस्रो, हलवालालाई पनि गाह्रो । कसलाई कति शो दिने ? तेस्रो, कलाकारलाई घाटा । बिचरा एकैसाथ दुइटा चलचित्र रिलिज गर्दिएपछि कसलाई समय दिने ? कलाकारले कति मेहनत गरेर काम गरेका हुन्छन् ।’

चलचित्र जुध्नु सबैलाई घाटाको कुरा हो भने श्रेष्ठले सोही मितिमा आफ्नो चलचित्र किन लगाए ? उनले ‘बिहेपास’लाई पछि धकेल्न पनि त सक्थे ।

यसबारे प्रष्ट्याउँदै उनले सुनाए, ‘१ गते चलचित्र रिलिज गर्ने भनेर सर्वप्रथम हामीले घोषणा गरेका थियौं । त्यसको ३ हप्तापछि ‘जारी’को निर्माण टीमले त्यही मितिमा चलचित्र लगाउने निर्णय गर्नुभयो । चलचित्र राम्रो थियो भने उहाँहरुले १ गते नै लगाउनुपर्छ भन्ने थिएन । राम्रो चलचित्र त जस्तोसुकै समयमा पनि चल्छ नि ! जुधाउनैपर्छ भन्ने थिएन । उहाँहरुको चलचित्र हेर्न दर्शक जहिले पनि आउँछन् भन्ने ग्यारेन्टी भएको भए अरु समयमा प्रदर्शन गर्दा हुन्थ्यो । १९ गते हल खाली थियो । २४ गते पनि खाली थियो ।’

‘जारी’ र ‘बिहेपास’ जुध्ने भएपछि श्रेष्ठले सर्वप्रथम दयाहाङ राईलाई भेटेका थिए । उनले रिलिज मितिबारे आफूलाई भनेर नहुने बताएपछि उनी रामबाबु गुरुङलाई भेट्न पुगे । आफूले भनेर रामबाबु गुरुङले नमान्ने र चलचित्र जुध्नु आफ्नो लागि पनि घाटाको कुरा भएको अभिव्यक्ति दयाहाङले दिएपछि उनी पुनः ‘जारी’को वितरकलाई भेट्न गए ।

वितरकबाट पनि श्रेष्ठले सकारात्मक प्रतिक्रिया पाएनन् । रिलिज मिति सबै रामबाबुको हातमा हुने खालका कुरा वितरकबाट आएपछि त्यहाँबाट पनि उनी फर्किए । उनी त्यहाँबाट फर्किएको केही दिनमा थप दुई चलचित्र जुध्ने निश्चित भयो- चलचित्र ‘बुलाकी’ र ‘नाईं नभन्नु ल ६’ ।

‘बुलाकी’ त्यही मितिमा किन आएको भन्ने थाहा छैन । ‘बुलाकी’पछि फेरि ‘नाईं नभन्नु ल ६’ लाग्ने फाइनल भयो । त्यो डेटमा के छ भन्ने मैले अहिलेसम्म बुझेको छैन । बिडम्वना हेर्नुहोस्, भदौसम्म कुनै पनि चलचित्र छैन हलमा । एउटै समयमा जुधाउनुभन्दा त मिलेर पालैपालो रिलिज गरे हुँदैन ?’, उनी गुनासो गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *