अहिलेका राजदूतहरु दलका भए, देशका भएनन् : जयराज आचार्य – Nepal Press
नेपाल टक

अहिलेका राजदूतहरु दलका भए, देशका भएनन् : जयराज आचार्य

काठमाडौं । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा भेटिन्छन् संयुक्त राष्ट्रसंघका लागि पूर्वनेपाली राजदूत जयराज आचार्य । सन् १९९१ देखी सन् १९९४ सम्म संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत भएका आचार्यको व्यक्तित्व कूटनीतिकमात्रै होइन, नेपालका आदिकवि भानुभक्त खलककै एक सदस्य हुन् उनी । उनले कूटनीतिज्ञको जीवनमात्रै बाँचेका छैनन्, जीवनी पनि लेखेका छन् । नेपालका हेनरी किसिन्जर भनेर चिनिने यदुनाथ खनालको जीवनी उनैले लेखेका हुन् । खनालको जीवनी लेख्नुको कारण सुनाउँदै उनी भन्छन्, ‘जिवनी प्रकाशन गर्ने भएछ, नेपाली, अंग्रेजी र संस्कृत भाषा जान्ने, कूटनीति बुझ्ने र उहाँलाई नजिकबाट चिनेको मान्छे खोज्ने क्रममा मैले मौका पाएको हुँ ।’

आचार्य अहिले पनि लेखनपठनमै व्यस्त छन् । उनी कुची पनि चलाउँछन् । आफ्नो घरमा एक कोठा पेन्टिङलाई छुट्याएका छन् । बैठक कक्षमा विभिन्न तस्बिरहरु राखेका छन् । ती तस्बिरहरुमै उनको व्यक्तित्व, कृतित्व र वंशज चित्र झल्कन्छ । सबैभन्दा ठूलो तस्बिर भानुभक्तको छ । एक कुनामा उनको र यदुनाथ खनालको पुरानो बानेश्वरमा २०६१ सालमा खिचेको तस्बिर छ । भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीसँगको तस्बिर पनि सजिएको छ बैठक कक्षमा । अर्कोतिर बिल क्लिन्टनसँगको तस्बिर छ । अमेरिकाको जर्जटाउन विश्वविद्यालय पढेका क्लिन्टन र आचार्यको तस्बिर चैं राष्ट्रपति र राजदूत हुँदाको हो । नेल्सन मण्डेलासँगैको तस्बिर एक कुनामा छ । अर्का कुनामा राजा वीरेन्द्र र बीपी कोइरालासँगका उनका तस्बिरहरु छन् । बीपीसँगको तस्बिर जनमतसंग्रहताकाको हो । वीरेन्द्रसँगको दरबारको तस्बिर २०५७ सालको हो । यो त बैठक कक्षको कुरा भयो ।

पठन कक्षमा उनका खातका खात पुस्तक छन् । साहित्य, कथा, कविता, कूटनीति, इतिहास खण्ड खण्ड छुट्याएर पुस्तकहरु राखिएका छन् । उनले राजदूत हुँदा विश्व मिडियामा पाएको कभरेजका कटिङ, संयुक्त राष्ट्रसंघमा बोल्दाका भाषण र स्ल्लाइडहरु छन् । उनले दस्तावेजहरु यत्ति मज्जाले राखेका छन् कि त्यत्ति मज्जाले त राज्यले नै राखेको छैन । प्राध्यापक, कूटनीतिज्ञ, साहित्यकार, अनुवादकदेखि अन्वेशषकसम्म विभिन्न नामको ब्राण्ड बनाएका उनै जयराज आचार्यसँग नेपाल प्रेसकर्मी विराट अनुपमले गरेको संक्षिप्त कुराकानीः

– तपाईं संयुक्त राष्ट्रसंघको राजदूत भएर जाँदा नेपालको तर्फबाट अमेरिकाको राजदूज योगप्रसाद उपाध्याय थिए, चीनका लागि बीसी मल्ल र भारतको लागि चक्र बाँस्तोला थिए । तपाईंलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कसरी पत्याए ?

मैले गिरिजाबाबुलाई नै जाने बेला सोधें, ‘तपाईं प्रधानमन्त्री हुनुभन्दा अगाडि वान टु वान पन्ध्र मिनेट पनि कुरा भएको छैन । तपाईंले मलाई के भनेर यूएनको यत्रो राजदूत बनाउनुभयो ?’

उहाँले जवाफ दिनुभयो, ‘हो, सान्दाजु हुञ्जेल तपाईंले मलाई मान्छे गन्नुभयो र ? कुरा हुँदैन थियो । तर, तपाईं सक्ने मान्छे हो, जानुहोस् ।’ सान्दाजु भनेको बीपी कोइराला । गिरिजाप्रसाद कोइरालाले मलाई राजदूत बनाएकोमा मैले कुनै उपहार दिइनँ । एक जोर मोजा पनि दिइनँ । जनआन्दोलनको समयमा मैले अमेरिकी सिनेटमा लबिङ गरेर पत्र लेखेर सक्रियता जनाएको थिए । त्यो कुरा गिरिजाप्रसाद कोइरालालाई थाहा थियो ।

यदुनाथले राजाको मात्रै देश होइन, हाम्रो पनि हो भन्नुभयो । नेपालको राष्ट्रिय हितमा लिएर उहाँले भारत, चीन र अमेरिका सबैसँग सन्तुलनको नीति ल्याउनुभयो । भारतसँग राम्रो सम्बन्ध पनि राख्दै जाने र नेपालको स्वतन्त्र छवि राख्नमा महेन्द्रको नीति सफल थियो ।

– तपाईं यूएनमा हुँदाका महत्वपूर्ण घटनाहरु के के थिए ?

नेल्सन मन्डेलालाई छुटाउन सक्रिय यूएनको रंगभेदविरुद्धको समितिको उपाध्यक्ष थिएँ म । अध्यक्ष नाइजेरियाका राजदूत थिए । उनी परराष्ट्रमन्त्री पनि भए । इब्राहिम गम्भारी नामका थिए उनी । म दक्षिण अफ्रिका गएँ । मण्डेला राष्ट्रपति हुनुभयो । हामीले रिपोर्ट लेख्यौं । हामीले रिपोर्ट बुझाएपछि हाम्रो समिति भंग भयो । अर्को कुरा गणेशमान सिंहलाई यूएनको मानव अधिकार पुरस्कार दिलाउन मैले लबिङ गरे । तेस्रो उपलब्धि चै, नेपाली सेनाको लेबनानको शान्ति फौजमा ८०० हाराहारी थिए ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री र रक्षामन्त्री गिरिजाबाबु नै हुनुहुन्थ्यो । उहाँलाई सीधै कल गरेर संख्या बढाउन मैले लबिङ गरेको भन्दै प्रक्रिया थाल्न भनें । उहाँले सहयोग गर्नुभयो । पछि २ हजार ४०० संख्या पुग्यो । हामीले १० हजारसम्म दिन सक्छौं भन्यौं । नेपाली सेनामात्रै होइन प्रहरीलाई पनि पठाउने प्रचलन थाल्यौं । कम्बोडियाबाट त्यो थालनी भयो । ८० प्रहरी पठाएर सुरु भएको थियो । अहिले नेपाली सेना दोस्रो ठूलो शान्ति सेना भएको छ । म अहिले यूएनमा थिएँ भने पहिलो सेना बनाउन सक्रिय हुन्थे ।

– करियर डिप्लोम्याट हुनु र नहुनुमा यूएनमा कत्ति फरक हुने रहेछ ?

मलाई करियर डिप्लोम्याटबारेमा थाहा भएन । म राजदूत हुँदा सीधै प्रधानमन्त्रीसँग सम्बन्ध भएको र जागिर जाने डर थिएन । प्रोफेसर थिएँ । मलाई काममा सजिलो थियो । पञ्चायत सकिएर जनताको सरकार आएको व्यवस्थाको पहिलो राजदूत भएकाले मलाई धेरै सजिलो भयो ।

– तपाईंले यदुनाथ खनाललाई कूटनीतिक आदर्श मान्नुहुन्छ । यदुनाथ खनालको सक्रिय कूटनीति कालमा सोभियत संघ र अमेरिकी धु्रवमा विश्व विभाजित थियो । अहिले चीन र अमेरिकी ध्रुव जस्तो शितयुद्ध दुई आएको भन्ने गरिएको छ । भारत क्वाड र इन्डो प्यासिफिक रणनीतिमा जोडिएको छ । चीन बीआरआई र ग्लोबल सेक्युरिटी इनिसिएटिभ बोकेर उभिएको छ । यो समयमा यदुनाथ डक्ट्रिन कसरी प्रयोग गरेर तटस्थ नीति बलियो बनाउने ?

यादुनाथ डक्ट्रिन भन्नु वा बीपी वा महेन्द्र डक्ट्रिन भन्नु, एउटै कुरा हो । राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्‍यो । महेन्द्र र बीपीको परराष्ट्र नीति एकै जस्तो हो । बीपीले आदर्शवाद अंगाल्नुभयो । महेन्द्रले यथार्थवादी नीति अंगाल्नुभयो । बीपीलाई विश्व परिस्थितिले साथ दिएन । २०१७ पुस १ को घटना आन्तरिक कारणले मात्रै घटेन । बाह्य कारण नि त्यसमा थिए । यदुनाथले राजाको मात्रै देश होइन, हाम्रो पनि हो भन्नुभयो । नेपालको राष्ट्रिय हितमा लिएर उहाँले भारत, चीन र अमेरिका सबैसँग सन्तुलनको नीति ल्याउनुभयो । भारतसँग राम्रो सम्बन्ध पनि राख्दै जाने र नेपालको स्वतन्त्र छवि राख्नमा महेन्द्रको नीति सफल थियो । महेन्द्रले संसदीय व्यवस्था हुँदा र पछि पञ्चायतकालमा पनि अमेरिकाको राजकीय भ्रमण गरे ।

यदुनाथ खनालको समयमा बुद्धि पुर्‍याएर काम हुन्थ्यो । अहिले त्यस्तो छैन । खेंलाची छ । चुच्चे नक्सादेखि ईपीजी रिपोर्टको मामिलासम्ममा कच्चा खेल भएको छ । ईपीजीकै नेपालको सदस्य राजदूत भएर भारत पुग्दा पनि भारतले रिपोर्ट लिन सक्ने वातावरण बन्न सकेन ।

महेन्द्रकै पालामा भारतीय वायरलेस अपरेटरहरु हटाइएको थियो । चीनको जासुसी गर्ने ती अपरेटर हटाउने महेन्द्रकै नीति थियो । त्यहाँ महेन्द्रले आफैं भाषण गर्न खोजेका थिए । यदुनाथ खनाललाई भाषण लेख्न भनेका थिए । यदुनाथ खनालले त्यसमा फरक मत राख्दै तपाईंले भाषण गर्ने होइन भन्नुभएको थियो । सरकारले गरेको भाषणअनुसार भारतले माने त ठीकै हो । नमान्दा समस्या हुने भन्दै आफैं भाषण नगर्न आग्रह गर्नुभयो । त्यसपछि राजाले प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई भाषण गर्न भन्नुभयो । त्रिचन्द्रका पूर्वविद्यार्थीको रुपमा विष्टलाई यदुनाथ खनालले पढाउनुभएको थियो । उहाँ परराष्ट्र सचिव हुँदा प्रधानमन्त्री विष्टले कहिल्यै बोलाउनुभएन । आफैं सचिवको कक्षमा जानुभयो । यदुनाथ खनालले नै भाषण होइन, अन्तर्वार्ता छापौं द राइजिङ नेपालमा भनेर प्रस्ताव गर्नुभयो । भारतको प्रतिक्रिया हेरौं । नरम आए अगाडि बढ्ने, कडा रुपमा आए मैले वा विष्टले राजीनामा दिने नाटक गर्नुपर्छ भनेर अन्तर्वार्ताको प्रश्न र उत्तर आफैंले टाइप गरेर छाप्नुभयो । पछि काम पनि भयो ।

यदुनाथ खनालको समयमा बुद्धि पुर्‍याएर काम हुन्थ्यो । अहिले त्यस्तो छैन । खेंलाची छ । चुच्चे नक्सादेखि ईपीजी रिपोर्टको मामिलासम्ममा कच्चा खेल भएको छ । ईपीजीकै नेपालको सदस्य राजदूत भएर भारत पुग्दा पनि भारतले रिपोर्ट लिन सक्ने वातावरण बन्न सकेन ।

– भारतले ईपीजी किन बुझेन ?

किन बुझेन भन्नेमा मलाई ठ्याक्कै थाहा छैन । ईपीजीमा के लेखिएको छ भन्नेबारेमा पनि थाहा छैन । तर, भारतको एक नेपाल विशेषज्ञ अशोक मेहताले टीभीमै बोलेर रिपोर्टमा के छ र भारतले किन नलिएको भनेका छन् । भारतीय पक्षले रिपोर्ट पढिसक्यो । नेपाल पक्षले पढेकै छैन । यस्ता रिपोर्ट धूलो खाएर बसेका छन् जस्तो गरेर भारतले हेपाहा व्यवहार देखाएको छ । रञ्जित रेले रिपोर्ट लिए हुन्छ भनेर भनेको छ आफ्नो किताब ‘काठमाडौं डिलेमा’मा ।

– भारतले आफूलाई ग्लोबल साउथको शक्ति भनेर चिनाउँदैछ । भारतका विदेशमन्त्री एस. जयशंकर यो कुरामा मुखर छन् । चीन विश्वको एक नम्बर शक्ति हुने दौडमा छ । मोदीको भारत र सीको चीनसँग नेपालले डिल गर्न कत्ति सजिलो छ ?

यसमा फेरि यदुनाथ खनालको कुरा आउँछ । मैले किताबमा पनि यो भनाइ कोट गरेको छु । उहाँले भन्नुभएको छ- चिनियाँहरु यथार्थवादी छन् । उनीहरु हाम्रो नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्छन् । तर, यत्ति हुँदाहुँँदै पनि चीन-नेपाल सम्बन्ध चैं नेपाल-भारत सम्बन्धको सब्टिच्युट हुन सक्दैन भन्ने उनीहरुले बुझेका छन् । र, चीन-नेपाल सम्बन्ध, भारत-नेपाल सम्बन्ध र भारत-चीन सम्बन्ध यी तीन अलग अलग विषय हुन् भन्ने उनीहरुले बुझेका छन् । यो कुरा खै हाम्रो मान्छेले बुझेका ?

भारतीय पक्षले रिपोर्ट पढिसक्यो । नेपाल पक्षले पढेकै छैन । यस्ता रिपोर्ट धूलो खाएर बसेका छन् जस्तो गरेर भारतले हेपाहा व्यवहार देखाएको छ । रञ्जित रेले रिपोर्ट लिए हुन्छ भनेर भनेको छ आफ्नो किताब ‘काठमाडौं डिलेमा’मा ।

सबैभन्दा बुज्रुकले के ठान्छन् भने चीन र भारत सम्बन्ध कहिल्यै राम्रो हुँदैन । उनीहरुलाई जुधाएरमात्रै नेपाललाई फाइदा हुन्छ भन्छन् । सन् १९६२ को लडाइँमा त नेपाललाई धेरै अप्ठ्यारो भएको थियो । यदुनाथ खनाल त्यतिबेला परराष्ट्र सचिव हुनुहुन्थ्यो । भारतीय सेनामा भएका नेपाली सिपाही चीनसँग लडिरहेका छन् । धन्न चीनले बुझिदियो कि उनीहरु नेपालको तर्फबाट होइन भारतले प्रयोग गरेकाले लडेका हुन् । पक्राउ परेका नेपाली सिपाहीलाई नेपालमै बुझाउन खोजेको थियो । नेपालले नै भारतलाई नै बुझाउनु भनेर भन्यो । चीनले मान्यो ।

– सन् १९६२ को भारत-चीन युद्धको गोर्खा सैनिकको यही मुद्दाकै कारण गोर्खा भर्ती नेपालको घोषित परराष्ट्र नीतिको तटस्थता र असंलग्नताविरुद्ध देखिएन र ?

गोर्खा भर्ती बन्द हुनुपर्ने मुद्दा ल्याउने यी नै कम्युनिष्ट हुन् । उनीहरु धेरैपटक सरकारमा पुगे । पञ्चायतकालभरि पर्चा छाप्थे । धरानदेखि पोखरामा पर्चा छाप्थे । कम्युनिष्ट सत्तामा आएको ३० वर्ष भयो । खै त गोर्खा भर्ती बन्द गरेको ? उनीहरु जनता भेट्दा एउटा कुरा गर्छन्, सत्तामा हुँदा अर्को । कांग्रेस र अरुको पनि त्यही हो तरिका । एक सिनियर नेताले भनेको कुरा त झन अचम्मको छ । उनले मलाई भनेका थिए- ‘भारत जाँदा चीनको विरोध गर्‍यो, चीन जाँदा भारतको । अनि नेपाल आउँदा राष्ट्रवादको कुरा गर्‍यो । त्यही हो नेपालको विदेश नीति ।’ यस्तो काँचो भनाइ दिने दुईतीन चोटी मन्त्री भएको मान्छे हो । भारत र चीनलाई बेकुफ बनाउने हामी बाठा छौं भन्ने उनको सोचाइ छ । यस्तो तालले हुन्छ ? यदुनाथ खनालले भन्नुभएको छ- ‘सानो देशको कूटनीतिक पूँजी भनेकै इमानदारी, विश्वसनियता र पारदर्शिता हो ।’ नेपालको अहिले यी तीन वटै कुरा छैन ।

फेरि पनि गोर्खा भर्तीको कुरा गर्दा, यसले धेरै गाह्रो बनाएको चैं छैन । सकेसम्म नेपालमै रोजगार दिएको राम्रो । हो, भारत र बेलायतको सुरक्षा गर्न नगएको राम्रो । तर, त्यो स्टेजमा हामी कहिले पुग्ने ? हामी कहिले स्विट्जरल्याण्डको आर्थिक लेभलमा पुग्ने ? असंलग्न नीतिलाई बलियो बनाउन सबैभन्दा पहिले देशको आर्थिक जग बलियो बनाउनुपर्छ । फेरि पनि यदुनाथ खनालकै भनाइ कोट गर्छु । महेन्द्रको मृत्युपछि र वीरेन्द्र राजा हुनेबित्तिकै यदुनाथ खनालले एक लामो लेख लेख्नुभयो । त्यहाँ उहाँले नेपालको परराष्ट्र नीतिमा पहिलो काम नेपालको आन्तरिक आर्थिक, सामाजिक विकास हो र दोस्रो, निकट छिमेकीसँगको सम्बन्ध प्राथमिकता हुनुपर्ने लेख्नुभएको छ ।

चिनियाँहरु यथार्थवादी छन् । उनीहरु हाम्रो नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्छन् । तर, यत्ति हुँदाहुँँदै पनि चीन-नेपाल सम्बन्ध चैं नेपाल-भारत सम्बन्धको सब्टिच्युट हुन सक्दैन भन्ने उनीहरुले बुझेका छन् ।

तेस्रोमा, उहाँले संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । चौथोमा, उहाँले अमेरिकालगायतका शक्तिहरुसँगको समधुर सम्बन्धको कुरा गर्नुभएको छ । पाँचौंमा मात्रै असंलग्नता र सार्कको कुरा गर्नुभएको छ । अहिले असंलग्नताको के अर्थ छ ? पाकिस्तान पनि असंलग्न । भारत पनि असंलग्न । दुवैको निरन्तर युद्ध छ । उनीहरुकै कारण सार्क प्यारालाइज भएको छ ।

– भारत-चीन युद्धमा जस्तै गोर्खा सैनिकको समस्या भारत-पाकिस्तान युद्धमा चैं आयो कि आएन ?

पाकिस्तानले गोर्खाहरुलाई युद्धबन्दी बनाउनै पाएन । भारतसँग नराम्ररी हार्‍यो पाकिस्तान ।

– नेपालमा बीआरआई र एमसीसीको प्रतिस्पर्धा जस्तै छ । समस्या पनि छ । बीआरआईबाट बनेको हो पोखरा विमानस्थल भन्दै भारतीय मिडियामा आलोचनात्मक खबर आए । एमसीसीमा चिनियाँ पक्षले बेखुशी देखायो । यो समस्यासँग कसरी जुध्ने ?

भन्न सक्नुपर्छ भारतीयहरुलाई तपाईंको सुरक्षामा कसरी पोखरा विमानस्थलले समस्या गर्‍यो ? हो, ऋणमा डुब्ने कुरा आएमा त्यो हाम्रो समस्या हो । त्यस विषयमा हामीलाई पनि चिन्ता छ । भैरहवाकै पनि कुरा छ । तर, विमानस्थलकै कारण तपाईंको असुरक्षा हुन्न भन्न सक्नुपर्छ । कोदारी राजमार्गकै समयमा पनि भारतमा धेरै हल्ला भएको थियो । भारतीय वायरलेस अपरेटर हटाउँदा त्यस्तै भएको हो । पछि भारत कन्भिन्स भयो । बीआरआईले ऋणमा डुबाउने अवस्था आएमा सीसँग डराएर हुन्न । हामी सक्दैनौं भन्न सक्नुपर्छ । माओले यदुनाथ खनाललाई भनेका छन्- ‘हामीले नेपालको समस्या बुझेका छौं, तपाईंको भारतसँग राम्रो मित्रता हुनुपर्छ । हामी तपाईंलाई कुर्न सक्छौं, तीस वर्ष-चौबीस वर्ष ।

– अहिले नेपालका राजदूतहरुको चयन ठीक छ कि छैन ?

त्यसमा मैले कमेन्ट गर्नु उचित हुन्न होला । आममान्छेको बुझाइ के छ भने नातागोता छ । क्षमता केही छैन । म राजदूत हुँदा मलाई मान्छेले के ठाने भने शैलजा आचार्य जस्तै जयराज आचार्य पनि बीपीको भान्जै हो । जबकि हाम्रो कोइरालासँग कुनै कुटुम्बेरी साइनै छैन । अहिलेका राजदूतहरु दलका भए, देशका भएनन् । यदुनाथ खनालकै उदाहरण दिन्छु । यदुनाथ खनाललाई त्रिचन्द्र कलेजबाट सिंहदरबार लगेको टंकप्रसाद आचार्यले हो । उहाँ कांग्रेस होइन । उहाँ गैरकम्युनिष्ट वामपन्थी हो । आचार्यको सरकार ढल्यो । उहाँको जागिर गयो ।

गोर्खा भर्ती बन्द हुनुपर्ने मुद्दा ल्याउने यी नै कम्युनिष्ट हुन् । उनीहरु धेरैपटक सरकारमा पुगे । पञ्चायतकालभरि पर्चा छाप्थे । धरानदेखि पोखरामा पर्चा छाप्थे । कम्युनिष्ट सत्तामा आएको ३० वर्ष भयो । खै त गोर्खा भर्ती बन्द गरेको ?

बीपी प्रधानमन्त्री हुँदा दुईपटक संयुक्त राष्ट्रसंघमा पठाउनुभयो । महेन्द्रले पनि मेरो निम्ति परराष्ट्र सचिव हुन आग्रह गरे । बहुदल आएपछि बाबुको किरिया सकिनु अगाडि नै दरबारमा बोलाएर मलाई पनि बुबालाई जस्तै सहयोग गर्नुपर्‍यो भनेर वीरेन्द्रले भने । बहुदल आएपछि कृष्णप्रसाद भट्टराईले सल्लाहकार बनाउनुभएको थियो । यदुनाथ खनाल कुन पार्टीको ? अहिले त पार्टी छुटिन्छ ।

– लेखन र अनुवादको कुरा गरौं । तपाईंले ४० हजार अमेरिकी डलरको नेशनल जियोग्राफिक सोसाइटीको ४१७०-८९ संकेत नम्बरको ग्रान्टमा हिमवत खण्ड पुराणलाई संस्कृतबाट अंग्रेजी अनुवाद सक्नुभएको छ । सकेको पत्र सोसाइटीका अध्यक्ष पिटर एच. रेभनलाई पत्र पनि तयार गर्नुभएको छ । अहिलेको सटहीदरअनुसार ५२ लाख बढी रुपैयाँको यो ग्रान्टसम्मको यात्रा कसरी भयो ?

नेशनल जियोग्राफिक ठूलो संस्था हो । रिसर्चमा धेरै खर्च गर्छ । मैले यो ग्रन्थ संस्कृतबाट अंग्रेजीमा अनुवाद गर्न १५ वर्ष लगाएँ । यो दुई भोल्युममा तयार भयो । अमेरिका हुँदै मैले प्रस्ताव पेश गरेको थिएँ र पाएँ । यो अनुवादको मात्रै ग्रान्ट हो । छाप्ने होइन । म जर्जटाउन विश्वविद्यालयमा पीएचडी गर्दा प्रस्ताव गरेको थिएँ । मैले त्योभन्दा अगाडि पनि अनुवादको लागि नेपाल महात्म्यको लागि सानो ग्रान्ट पाएको थिएँ । मलाई संस्कृत र अंग्रेजीको कमाण्ड भएको बुझेर पत्याए ।

म ३८ वर्षको मात्रै थिए ग्रान्ट पाउँदा । अहिले ७२ पुगें । पाँच वर्ष अगाडि अनुवाद सकें । नेपालमा जस्तो तत्तातो काम गर्नुपर्दैन । उनीहरुले विद्यामा जित्ने कारण यही हो । नेपालको विश्वविद्यालय अनुदान आयोगमा दुई लाखको ग्रान्ट माग्दा तीन वर्ष झुलाउँछ, दिँदै दिँदैन । तर, त्यहाँ मैले किताब अनुवाद गर्न लागेको छु भन्दा पत्याएमा पहिले नै चेक दिन्छ । तत्काल हिसाब माग्दैन । मैले अनुदान लिँदा एक डलरको पचास रुपैयाँ आसपास थियो सटहीदर ।

अहिले असंलग्नताको के अर्थ छ ? पाकिस्तान पनि असंलग्न । भारत पनि असंलग्न । दुवैको निरन्तर युद्ध छ । उनीहरुकै कारण सार्क प्यारालाइज भएको छ ।

– तपाईं भानुभक्तकै वंशज हाँगाको सन्तान हुनुहुन्छ । भानुभक्तको विशाल सालिक रम्घामा बनाउने अभियान पनि छेड्नुभएको छ । लिखित प्रस्ताव नै बनाउनुभएको छ । यो किन ?

कुनै बेला आचार्यहरुको गाउँ भएको रम्घामा अहिले आचार्यका घर छैनन् । आचार्यहरुलाई त्यहाँ बसाउन सकिएमा थप महत्व बढ्ने थियो । १०० फिट अग्लो भानभुक्तको मूर्ति रम्घामा बनाउने प्रस्ताव हो मेरो । रम्घामै पालिकाको मुकाम बनाउने । सबै सुविधा ल्याएर त्यसलाई मूर्ति मुकाममात्रै नबनाएर पालिका मुकाम पनि बनाउने । भानु नगरपालिका भानुभक्तकै नाममा राखिएको पालिका भएकाले त्यसो गर्न सकिन्छ । पालिका र भानु दुवैको महत्व देखाउन यसो गर्न सकिन्छ ।

रम्घा डाँडामा प्रस्तावित भानुभक्तको सालिकको पादस्थलको भित्री मध्य भागमा १० फिट तलदेखि जग उठाइएको ६-६ फिटको स्तम्भ हुनेछ जसमाथि सालिक उभिनेछ । स्तम्भको चारैतिर खुला ठाउँ हुनेछ । २५-२५ फिटको पादस्थलको पूर्व, पश्चिम र उत्तर दिशामा झ्याल खुलेका चार तला हुनेछन् । भूईं तलामा रामायणलगायतका पुस्तक र सुभेनिर पसल हुनेछन् । दोस्रोमा रामायण श्रवण कक्ष र मूर्धन्य नेपाली साहित्यकारका मूर्ति हुनेछन् । तेस्रो तलामा खाजा, भोजन गर्ने हल हुनेछ । चौथो (खुला) छतमा टेबलहरुमा बसेर चियाकफी खाने प्राङ्गण जस्तो हुनेछ, जहाँबाट हिमालयलगायतका वरपरको दृश्य हेर्न पाइनेछ ।

तनहुँ जिल्लामा मूर्धन्य व्यक्तित्वहरुको मूर्तिको संस्कृति नै भएको छ । व्यासको जन्मस्थल दमौलीमा व्यासको १०८ फिट अग्लो मूर्ति बन्दैछ । तनहुँ जिल्लामा दुई नगरपालिका मानिसका नाममा स्थापना भएका छन्- व्यास नगरपालिका र भानु नगरपालिका । यी दुई नगरपालिकाको परिचय नै ती दुई व्यक्तिको नामबाट भएको हो । यी दुई व्यक्ति प्राचीन र आधुनिक नेपालका ऋषि हुन् । व्यासले ४ वेद र १८ पुराणबाहेक अध्यात्म रामायण पनि लेखे । भानुभक्तले नेपाली रामायण लेखे र नेपाल र नेपालीलाई ठूलो गुण लगाए ।

म राजदूत हुँदा मलाई मान्छेले के ठाने भने शैलजा आचार्य जस्तै जयराज आचार्य पनि बीपीको भान्जै हो । जबकि हाम्रो कोइरालासँग कुनै कुटुम्बेरी साइनै छैन । अहिलेका राजदूतहरु दलका भए, देशका भएनन् ।

रम्घा डाँडा कोटबाट छिम्केश्वरी, मिर्लुङ, तनहुँसूर र मैवल जस्ता जिल्लाका प्रमुख चार टाकुरा देखिने भएकाले त्यो क्षेत्र थप रमणीय हुन्छ । त्यो साहित्यिकमात्रै होइन, गैरसाहित्यिक पर्यटकहरुका लागि पनि आकर्षणको केन्द्र बन्नसक्छ । स्वदेशी र विदेशी पर्यटकहरुसमेत आउन थालेपछि त्यो ठाउँले आर्थिक आम्दानी पनि गर्न थाल्छ र भानु नगरपालिकाको स्थायी आयस्रोत बन्छ ।

भानुभक्तको सालिकमुनि मोतीराम भट्ट, लेखनाथ पौडेल, तीर्थराज पाण्डे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, गोपालप्रसाद रिमाल, भूपी शेरचन आदिका मूर्ति र तिनका कृतिहरु निर्माण गरिनुपर्छ । रम्घा डाँडामा भानभुक्तको अग्लो मूर्तिबाहेक रामायण भवन, राम मन्दिर र भानु साहित्य उद्यानका सौ सप्त धाम पनि निर्माण गर्नुपर्छ । त्यसोगर्दा त्यो ठाउँ धेरै दृष्टिले पर्यटकीय गन्तव्य बन्छ । देश विदेशका पाहुनाहरु आउँछन् ।

– भानुभक्तलाई कूटनीतिक ‘सफ्ट पावर’को रुपमा प्रयोग गर्न के यस्तो सोचाइ बनेको हो ?

भानुभक्तलाई नेपालको कूटनीतिक सफ्ट पावरको रुपमा प्रयोग गर्न सकिन्छ । नेपाल जस्ता साना र विपन्न देशका विश्व बजारमा बनाउने सफ्ट पावर भाषा, संस्कृति र मानवीय सम्पदा हुन् । नेपालले आफ्नो भाषा, साहित्य र मानवीय सफ्ट पावरको रुपमा भानुभक्त एक बलियो माध्यम हुन् । नेपालका अतिरिक्त भारत, भूटान, म्यानमार, थाइल्याण्डसँगै संसारका विभिन्न भागमा पुगेका नेपालीहरुको आस्था, भरोसा र श्रद्धाको व्यक्तित्व भानुभक्त हुन् । ती देशका नेपाली भाषी नागरिकहरुलाई भानुभक्तको ब्राण्ड फैलाउने, भानुभक्तको देश नेपाल र भानुको जन्मस्थल रम्घामा ल्याउन सकिन्छ । भानुभक्तलाई नेपालको आफ्नो सफ्ट पावर कूटनीतिको रुपमा सदुपयोग गर्नसक्छ । यसले नेपालको पर्यटनमा समेत नयाँ अध्याय सुरु गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर