‘तिमी फूलहरू च्यात्न सक्छौ तर, वसन्त ऋतुलाई रोक्न सक्दैनौं’ – Nepal Press
‘तिमी फूलहरू च्यात्न सक्छौ तर, वसन्त ऋतुलाई रोक्न सक्दैनौं’
तस्बिर कथा
गौरव पौडेल २०७९ फागुन २४ गते ६:५३
२०७९ फागुन २४ गते ६:५३

काठमाडौं । यतिवेला भृकुटीमण्डप ‘चेरी ब्लसम’ ले रंगिएको छ । सहरमा वसन्त ऋतु भित्रिएको आभास पहिलोपटक गराउने फूल नै चेरी ब्लसम हो, जो हेर्दाखेरि आरुजस्तै देखिन्छ । भृकुटीमण्डपलाई रंगीन बनाएको चेरी ब्लसम अब विस्तारै सहरका सडक किनारहरूमा पनि फैलने संघारमा छ ।

धुलोले घेरिएको सहरलाई सिंगार्ने यत्नमा लागेका चेरी ब्लसमलाई ब्याकग्राउण्डमा राखेर खुसी र उल्लास बाँड्न युवा युवतीहरु मुस्कुराउँदै फोटो लिइरहेका छन् । फूलहरुको सुन्दरतासँग मस्त छन् ।

चेरी ब्लसमको हाँगामा फक्रिएका फूलहरूले वसन्तको आगमनलाई इंगित गर्छन् । मान्छेहरूलाई मोहित पार्ने गरी फुल्ने यी फूलहरु र वसन्त ऋतुमाथि कविवर माधवप्रसाद घिमिरेको एक कविता पंक्ति छ,–

आई कैल्यै नसकिने चैत वैशाख मेरा
लाई कैल्यै नसकिने प्रिती नौ लाख मेरा

चेरी ब्लसम रातो र गुलाबी रङमा धकमक्क हुने गर्छ । एकै हाँगामा पनि सेता र गुलाबी फूलको सम्मिश्रण देख्न सकिन्छ । यो फूल पर्सियाको मुख्य प्रजाति हो । यो फूल चीन र जापानका रैथाने प्रजाति पनि हुन् । तर, यसको सौन्दर्यका कारण यस फूललाई हाइब्रिड गरेर संसारभर फैलाइएको छ । यो फूल हेर्दा आरुको फूलजस्तै देखिन्छ । तर, यो आरु भने होइन । आरुमा फल लाग्छ । साथै अरुको फूल एक पत्रे हुन्छ । तर, चेरी ब्लसमको फूलमा भने फल लाग्दैन, यो दुईपत्रे फुल्छ । यो फूल फुल्दा चीन र जापानमा वसन्त ऋतुको बैंस आएको भन्ने संकेतको रुपमा बुझिन्छ ।

फूलहरु पवित्रताको प्रतीक त छँदै हो, सँगै प्रेमको प्रतीक पनि हो । फूलहरुको अर्थ र सान्दर्भिकता धर्म र संस्कृतिसँग पनि सीधा रूपमा जोडिएको छँदैछ । अहिले भृकुटीमण्डपमा फुलेका फूलहरूमा झुम्मिएका युवायुवतीहरु हेर्दा भने चेरी ब्लसम प्रेम र उल्लासको प्रतीक बनेर फुलिरहेको छ ।

यो फूलबाट फल आउँदैन, तर जब फूल्छ, उसको वरिपरिको पर्यावरण नै सुन्दर बनाउँछ । यो फूललाई विदेशबाट पनि सजावटकै लागि भित्र्याइएको बताइन्छ । तीन महिना यो फूल ढकमक्क भएर फुल्छ । पछि फूलहरु झरेपछि हरिया पातहरु भाम्मिएर हरियै बन्छन् । हेर्दाखेरि आरु जस्तो देखिए पनि यो फूल आरु नै भने होइन, अरु प्रजातिभित्र भने पर्छ ।

अहिले ढकमक्क फुलिरहेका फूल र वसन्त ऋतुले दक्षिण अमेरिकी कवि पाब्लो नेरुदाको कवितालाई सम्झाउँछ,–

तिमी फूलहरू च्यात्न सक्छौ
तर, वसन्त ऋतुलाई रोक्न सक्दैनौं