बौद्ध विश्वविद्यालयका सभा-समारोहमा बुद्ध वन्दना र मूर्ति अनिवार्य – Nepal Press

बौद्ध विश्वविद्यालयका सभा-समारोहमा बुद्ध वन्दना र मूर्ति अनिवार्य

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा-समारोह तथा बैठकहरुमा बुद्ध वन्दना र बुद्ध मूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध वन्दना र बुद्ध मूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवर्द्धन गर्न सभा-समारोहमा बुद्ध वचनको प्रार्थना र बुद्ध मूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसँगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा-समारोह, बैठकहरुमा बुद्ध वन्दना वाचन अनिवार्य गरिएको हो । सभासमारोहस्थलको अग्रभागमा बुद्ध मूर्ति अनिवार्य राखिने निर्णयसमेत विश्वविद्यालयले गरेको छ ।

बौद्ध विश्वविद्यालय कार्यालय परिसरलाई पञ्चशीलयुक्त राख्ने नीति अवलम्बन गरेको छ । बुद्धका सन्देशहरुको ज्ञान तथा अनुशरणमा जोड दिँदै लैजाने नीति विश्वविद्यालयको १४औं सभाले लिएको थियो ।

बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शन, आर्कोलोजी एण्ड आर्कोलोजिकल साइट, म्युजोलोजीलगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् ।

त्यस्तै व्यवसायिक विषयतर्फ स्नातकोत्तरमा एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज, इन्भारोमेन्ट साइन्स तथा स्नातक तहमा बीएएलएलबी, बीटीटीएम, बीएआरडीलगायतका कार्यक्रम सञ्चालनमा छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी, बुटवल सिटी क्याम्पस तथा देवदहमा स्कुलअन्तर्गत शैक्षिक कार्यक्रम चलिरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *