इन्जिनियरिङको जागिर छोडेर साेसल मिडिया म्यानेजमा रमेका सन्ताेष – Nepal Press

इन्जिनियरिङको जागिर छोडेर साेसल मिडिया म्यानेजमा रमेका सन्ताेष

काठमाडौं । पर्वत स्थायी घर भई बुटवलको सिमानामा पर्ने भालवारीमा हुर्केका सन्तोष शैक्षिक योग्यताका हिसाबले मेकानिकल सब इन्जिनियर हुन् ।

भारतको बेङ्लोरबाट मेकानिकल इन्जिनियरिङमा डिप्लोमा सकेर सन्तोषले भारतमै अवस्थित एक कम्पनीमा जागिर समेत सुरु गरे । पढाई सकेका दुई वर्ष भारतमा बिताएर उनी नेपाल फिरे ।

उनले नेपालमा पनि केही समय आफ्नै पढाइसँग सम्बन्धित काम गर्न थाले । नेपाल फिरेसँगै उनको भेट भयो लोक दोहोरी गायक अर्जुन सापकोटासँग । अर्जुन र सन्तोष नाताले दाजु भाई पर्छन् ।

२०१८ तिर लोक दोहोरी क्षेत्रमा स्थापित हुन संघर्षरत अर्जुनले सन्तोषलाई आफ्नो फेसबुक पेजमा एडमिन बनाइदिए । त्यस बखत सर्भिस इन्जिनियरको रूपमा कार्यरत सन्तोष समय मिल्दा बित्तिकै दाइ (अर्जुन) को फेसबुक पेजमा समय बिताउन थाले ।

पेजमा लाइक, भ्युज बढाउनुमा धेरै मानिसको माझमा कन्टेन्ट पुर्‍याउनुको उनको मन पर्दो ‘हबी’ हुन थाल्यो । सामाजिक संजालमा पोस्ट गरिएका कन्टेन्टमा कसरी भ्युज लाइक सेयर बढाउने भन्ने मुख्य चासो राखेर सुरु भएको उनको एडमिन यात्रा बिस्तारै अडियन्स इङेजमेन्ट, एकाउण्ट भ्यालिडेसन, सेक्युरेटी इस्यु, मोनीटाइजेसन तर्फ मोडिन थाल्यो ।

‘सुरुमा त दाइको पेजमा लाइक र भ्युज बढाउन पर्यो भनेर सुरु गरेको, बिस्तारै मलाई यो क्षेत्रमा चासो बढ्दै गयो , मेरो कम्प्युटरमा रात दिन सोसल मिडिया म्यानेजमेन्टसँग सम्बन्धित लेख, टुटोरियल दिन रात खुल्न थाले’ सुरुवातका दिन सम्झँदै सन्तोष भन्छन् ।

आफूले सिकेका नयाँ टिप्स एण्ड ट्रिक्सको प्रयोग उनले आफू एडमिन रहेको दाइको पेजमा गर्न थाले । बिस्तारै उनलाई अन्य ‘पब्लिक फिगर’ आफ्नो पनि सामाजिक सञ्जाल म्यानेज गरिदिनुहोस् भनेर प्रस्ताव राख्न थाले ।

सो समय देखि सब इन्जिनियर सन्तोष सापकोटा सोसल मिडिया म्यानेजर सन्तोष सापकोटा बने । विगत ४ वर्ष देखि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउनु नै उनको मुख्य पेसा हो, रोजी रोटीको बाटो हो ।

‘म लगभग ५ वर्ष देखि फ्रिलान्स सोसल मिडिया म्यानेजरको रूपमा नै कार्यरत छु, गहिरो इच्छा शक्ति र धैर्यता साथ काम गर्ने हो भने यो क्षेत्र गुणस्तरीय जीवनयापनको गतिलो माध्यम बन्न सक्छ भन्ने कुरामा म विश्वस्त छु’, उनी भन्छन् ‘यो क्षेत्र एकदमै सजिलो छ, रातारात मनग्य आमदानी हुन्छ भनेर ठोकुवा गर्न म सक्दिन ।’

नेपालमा पहिलो कुरा त सोसल मिडिया म्यानेजर भन्ने पनि कुनै पेसा हुन्छ भन्ने बुझाउन नै चुनौतीपूर्ण हुन सक्छ धेरैका लागि ।

सोसल मिडिया म्यानेजरको काम भनेको कन्टेन्ट पोस्ट गर्नु, लाइक भ्युज बढाउनु मात्र हैन प्रोफाइललाई साइबर सेक्युरेटी प्रदान गर्नु पनि हो, ह्याकिङ, फिसिङबाट बचाउनु पनि हो यसका लागि सोसल मिडिया म्यानेजर सदैव तयार रहनु पर्छ ।

विशेष गरी ‘पब्लिक फिगर’का सोसल मिडिया म्यानेज गर्दा फेक प्रोफाइलले समस्या निम्त्याउन सक्ने सन्तोष बताउँछन् ।

यति मात्र नभएर नीतिगत रूपमा पनि यो पेसा अगाडि बढाउन चुनौतीपूर्ण रहेको सन्तोष बताउँछन् । नेपालमा फेसबुक र इन्स्टाग्रामलाई मोनिटाइज (मुद्रिकरण) गर्न पनि सहज नरहेको उनको भनाई छ ।

‘फेसबुकलाई त नेपाल भन्ने देश छ है भन्ने सम्म थाह छ वा छैन भन्ने जस्तो अवस्था छ । यति मात्र नभएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा पनि आफ्नो सामाजिक संजालमा के कस्ता कुराहरु पोस्ट गर्ने के गर्ने के नगर्ने ? लगायतका आधारभूत ज्ञानको पनि केही हद सम्म कमी रहेको छ ।’ उनले भने ।

यी यावत चुनौतीलाई सामना गर्दै हाल सन्तोषले अर्जुन सापकोटा, शिरीष देवकोटा, साइग्रेस पोख्रेल, अनिल गुरुङ, कुशल भुर्तेल, विमल अधिकारी लगायताका व्यक्तिहरूको सामाजिक सञ्जाल म्यानेज गरिरहेका छन् ।

विगतमा सन्तोषले देवी घर्ती, भूमिका शर्मा, पशुपति शर्मा लगायतको म्यानेज गरिसकेका छन् । हाल भारतमै रहेर काम गरिरहेका सन्तोष फेसबुकले नेपालको नीतिमा परिवर्तन ल्याएको खण्डमा र देश राजनैतिक स्थिरतासँगै नीतिगत सुधारको तर्फ अघि बढेको सन्दर्भमा देश फर्केर आफ्नो काम अघि बढाउने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर