स्थायी कमिटी र पोलिटब्युरोसमेत एमालेमा ११ केन्द्रीय सदस्य रिक्त, को-को छन् दाबेदार ? – Nepal Press

स्थायी कमिटी र पोलिटब्युरोसमेत एमालेमा ११ केन्द्रीय सदस्य रिक्त, को-को छन् दाबेदार ?

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीतसमेत गरी ११ जना केन्द्रीय कमिटी सदस्य रिक्त भएका छन् । एमाले केन्द्रीय कार्यालयका अनुसार एकजनाको निधन र दुईजना सभामुख भएबाहेक अन्य पार्टीबाट निष्कासनमा परेर रिक्त भएका हुन् ।

३४५ सदस्यीय केन्द्रीय कमिटीमा अहिले एमालेका ३३४ सदस्यमात्र छन् । यसबीचमा पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । त्यस्तै स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रतिनिधिसभा र केन्द्रीय सदस्य रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुख भएका कारण पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेबाट राजीनामा दिएर रूपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेपछि उनको स्थान रिक्त भएको थियो भने अर्का स्थायी कमिटी सदस्य प्रभु साहले चुनावको मनोननयका दिन पार्टीमाथि घात गरेर केही सीटमा एमालेका उम्मेदवार नै नहुने अवस्था आएकाले निष्कासमा परेका थिए ।

यीबाहेक प्रभु साहसँगै निष्कासमा परेका केन्द्रीय सदस्यहरूमा उपेन्द्र साह, कुन्दन कुशवाह, बद्री न्यौपाने र रिता कुमारी छन् । उनीहरू अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीमा छन् ।

केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी स्थानीय तह निर्वाचनपछि माओवादीमा फर्किएका थिए भने गंगा चौधरी सतगौंवा दाङ १ मा शान्ता चौधरीविरुद्ध बागी उम्मेदवारी दिएपछि निष्कासनमा परेकी हुन् ।
रिक्त रहेकामध्ये देवराज घिमिरे सभामुख भएपछि प्रदेश १ को इन्चार्ज पद खाली छ । अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसाल र प्रभु साहको विभागमा समेत रिक्त छन् ।

को-को छन् दाबेदार ?

स्थायी कमिटीका ३ रिक्त स्थानसहित पोलिटब्युरो र केन्द्रीय कमिटीमा रिक्त हुन आएका पदमा तत्कालै मनोनयन नहुने एमाले स्रोतले जनाएको छ । पार्टीको अब बस्ने केन्द्रीय कमिटी बैठकमा रिक्त रहेका विभाग प्रमुखका साथै प्रदेश इन्चार्जको बारेमा टुंगो लाग्नेछ ।

केन्द्रीय सदस्यहरूको मनोनयनअघि पार्टीले २ महिने अभियान सञ्चालन गर्न लागेको एमाले स्रोतले जनाएको छ । सबै केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्म गएर सदस्य नवीकरण,सदस्यता थपलगायत संगठन विस्तार तथा परिचालनका काममा खटाइने र त्यसको मूल्यांकनका आधारमा मनोनयन हुने सम्भावना छ ।

एमालेको रिक्त ३ स्थायी कमिटी सदस्यमा वरिष्ठताका आधारमा चयन हुने सम्भावना छ । एमाले पदाधिकारी,स्थायी कमिटी र पोलिटब्युरोको वरीयता यसअघि नै तोकिएको छ ।

पोलिटब्युरोको शीर्ष वरीयतामा क्रमशः अरुण नेपाल, देवी ज्ञवाली, पर्शुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेत र लीला गिरी छन् । यदि वरीयताअनुसार स्थायी कमिटीमा मनोनयन हुँदा अरुण नेपाल, देवी ज्ञवाली र पर्शु मेघी हुनसक्छन् ।

३ जना पोलिटब्युरो सदस्य स्थायी कमिटीमा बढुवा भएसँगै बालकृष्ण ढुंगेलको निधनबाट रिक्तसहित ४ जना केन्द्रीय सदस्य पोलिटब्युरोमा मनोनयन हुनेछन् । केन्द्रीय सदस्यमा भने एमालेले वरीयता तोकेको छैन ।

आठौं महाधिवेशनकै केन्द्रीय सदस्य र नवौंको पोलिटब्युरो भएर पनि दशौं महाधिवेशनमा पोलिटब्युरोसमेत नपरेकी श्रीमाया थकालीमाथि अन्याय भएको भन्दै उनलाई पोलिटब्युरो सदस्यमा मनोनयन गर्ने सम्भावना छ ।

त्यस्तै बालकृष्ण ढुंगेलको निधनका कारण रिक्त ठाउँमा ओखलढुंगाकै सिनियर केन्द्रीय सदस्य यज्ञराज सुनुवारको सम्भावना छ । उनी पनि यसअघि पोलिटब्युरोमा छुटेका थिए । उनी नवौं महाधिवेशनकै पूर्ण केन्द्रीय सदस्य हुन् ।

यसबाहेक थप दुई केन्द्रीय सदस्य पोलिटब्युरोमा बढुवा हुनेछन् । दुईपटक केन्द्रीय सदस्य भइसकेका र पार्टीमा सिनियरमध्येबाट पोलिटब्युरोमा मनोनयन हुने नेताहरू बताउँछन् । यस हिसाबले नवौं महाधिवेशनकै पूर्ण केन्द्रीय सदस्यहरू पोलिटब्युरोमा छुटेकामा जीवन घिमिरे, लालबहादुर थापालगायत छन् ।

यसबाहेक वरिष्ठताका आधारमा विनोद ढकाल, कैशाल ढुंगेललगायतका नेताहरू पनि पोलिटब्युरोका दाबेदार हुन् । नवौं महाधिवेशनबाटै केन्द्रीय कमिटीमा पुगेका हरिबहादुर राई, गणेश पहाडी, कमलजंग राई, रविन कोइरालालगायत छन् ।

रिक्त केन्द्रीय सदस्यमा भने पार्टीले जुन क्लस्टरको रिक्त भएको हो त्यसलाई समेत विचार गरेर सिनियर प्रदेश कमिटी सदस्य, जनवर्गीय संगठनका महाधिवेशनबाट बिदा भएका सिनियर नेता तथा अन्य पार्टीबाट यसबीचमा एमाले प्रवेश गरेकाहरूलाई समेत समायोजन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर