मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरी छ : ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरी छ : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल बाह्य हस्तक्षेपको शिकार भइरहेको उल्लेख गर्दै उनले बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो शक्तिको रुपमा उदाउन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष मुलुकलाई वाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराए ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कहिल्यै पराधिन नभएको मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरुलाई भ्रष्ट्रखालका कुनैपनि गतिविधिमा संलग्न नहुने पनि निर्देशन दिए ।

यस्तो छ पोखरेलको भनाइः

एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने जरुरी छ । त्यसका लागि एमालेको संगठनहरु सुदृढ हुनुपर्यो । एमालेसँग सम्वद्ध जनसंगठनहरु सुदृढ हुनुपर्यो । र मात्रै त्यो आवश्यक्ता पूरा गर्न सकिन्छ । होइन भने यत्रा ठूलो शक्ति राष्ट्रहरुको बीचमा हामी छौं । हाम्रा पुर्खाहरुले हाम्रो देश बनाए, बचाए । कहिल्यै कसैको गुलाम भएन हाम्रो देश । कसैको पराधिन हुनु परेन । तर अहिले जस्तो हालत छ ।

त्यो हालतलाई नबदल्ने हो भने हामीलाई विदेशीले हेप्ने, छिमेकीले हेप्ने, सिध्याउन बेर छैन । त्यसकारणले त्यस्तो नहोस् भन्नका लागि हाम्रो संगठित शक्ति एउटा निर्णायक राष्ट्रिय शक्तिको रुपमा एमाले उभिनुपर्छ । अनि मात्रै यो अवस्थालाई बदल्न सकिन्छ । त्यसकारण अहिले युवा संघको भूमिका भनेको एउटा उत्पादनका कुरा, रोजगारीका कुरा, सीपका कुरा र आत्मनिर्भर बन्ने कुरा छ ।

यी चीजहरुमा ध्यान दिन जरुरी छ । अर्को भनेको निर्णायक राष्ट्रिय शक्ति बनाउने कुरामा एमालेले जुन अभियान थालेको छ । यसमा सहयोग पुर्याउनुपर्ने जरुरी छ । आज हाम्रो अगाडि यो अभिभारा छ । यो अभिभारा पुरा गर्नेपर्ने जरुरत छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर