प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव चन्दसहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरुको एकताको विषयमा चर्चा भइरहेको र सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रले यस्ता दलहरुसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै बनाएकाले विप्लव र प्रचण्डको भेट अर्थपूर्ण मानिएको छ ।

प्रचण्डसँगको भेटमा माओवादी उपाध्यक्ष महरा पनि रहेका थिए । लामो समय पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुमा रहेका विप्लव पार्टीको शीर्ष नेतृत्वसहितको बैठकपछि योजना बनाएर काठमाडौं गएका हुन् ।

विप्लव नेतृत्वको पार्टीको केन्द्रीय भेला कपिलवस्तुमा चलिरहेको समयमा सत्तारुढ माओवादी केन्द्रमा उपाध्यक्ष तथा वार्ता समितिका संयोजक कृष्णबहादुर महरा कपिलवस्तुको शिवगढीस्थित भेलामै पुगेर छलफल गरेका थिए ।

विप्लव निकट एक नेताले प्रधानमन्त्री प्रचण्डसँग विप्लवले यसअघिको सरकारसँग गरेका तीन बुँदे सहमति कार्यान्वयनको विषय नै प्राथमिकताका साथ कुरा गर्नका लागि नेताहरु बालुवाटार गएको बताए ।

एकताको विषयमा पनि केही कुरा त होलान्, वार्ता समिति नै बनाएपछि केही कुराकानी भएका पनि छन् नेताहरुबीच तर अहिले पहिलो प्राथमिकता यसअघिको सरकारसँग भएका तीन बुँदे समहति कार्यान्वयन कै विषय प्राथमिकतामा छ– उनले भने ।

फागुन १ गते नजिक आइरहेकाले विप्लव निकट नेकपा माओवादीले जनयुद्ध दिवसमा केही सन्देश दिनेगरी अगाडि जान नेताहरुले शीर्ष नेतालाई सुझाएका छन् । विप्लवले काठमाडांैंमा माओवादी केन्द्रका अन्य नेताहरु तथा अन्य दलका नेताहरुसँग पनि भेट्ने योजना बनाएका छन् ।

तस्बिर : प्रदीपराज वन्त

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर