मधेसी समुदायको उत्थानका लागि मधेसी आयोगको महत्त्वपूर्ण भूमिका: प्रदेश प्रमुख मियाँ – Nepal Press

मधेसी समुदायको उत्थानका लागि मधेसी आयोगको महत्त्वपूर्ण भूमिका: प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मधेसी समुदायको उत्थानका लागि मधेसी आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

मधेसी आयोगको आयोजनामा सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मधेसी समुदायको सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक गतिविधिहरूलाई समुदायको पहुँचमा पुर्‍याउन, समुदायमा जनचेतना बढाउन र समस्याहरूको पहिचान गरी राज्यको ध्यानाकर्षण गराउन आयोगले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

मधेसी आयोगका सदस्य आभाकुमारी सिंह (आभा सेतु सिंह) ले लक्षित समूहको समस्या पहिचान गरी समाधान र सशक्तीकरणका लागि सरकारसँग सहकार्य गर्ने बताइन् ।

सुदूरपश्चिम प्रदेशमा रहेका मधेसी समुदायलाई सङ्गठित गर्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको बताउँदै सदस्य सिंहले तीनै तहको सरकारले मधेसी समुदायलाई पनि समावेश गरी संविधानमा उल्लेखित अधिकार कार्यान्वयनमा जोड दिएकी थिइन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पछिल्लो समयमा कुनै पनि वर्गले राज्यबाट दिइने सुविधामा विभेदको महसुस गर्न नपरेको विश्वास व्यक्त गरेका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मधेसी समुदायको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राज्यले प्राथमिकता दिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *