सभापति देउवालाई कारबाही गराैं भन्नु गलत: कोइराला – Nepal Press

सभापति देउवालाई कारबाही गराैं भन्नु गलत: कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताएका छन् । उनले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापतिलाई केमा कसरी कारबाही गर्ने भन्दै प्रश्नसमेत गरे ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बनेको विषयमा सभापतिलाई कारबाही गर्नुपर्ने माग उठेको थियो । उनले भने, ‘मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ । तर, कारबाही भन्ने कुरा हुँदैन ।’

कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको उनको टिप्पणी छ । ‘यो कांग्रेसको पनि कमजोरी हो’, उनले भने, ‘मैले के भने भन्ने कुरा महत्वपूर्ण होइन । प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरुले फाइनल गर्नुपर्थ्यो ।’

नेता कोइरालाले कांग्रेसले अब नीति अधिवेशन बोलाउनुपर्ने बताए । केही नेताहरुले विशेष अधिवेशनको माग गरिरहेका वेला कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर