शेखर-गगनले छुट्टै भेला गर्ने, केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव लैजाने – Nepal Press

शेखर-गगनले छुट्टै भेला गर्ने, केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव लैजाने

काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय कार्यसमिति बैठकअघि नै आफ्नो पक्षको भेला बोलाउने भएको छ ।

बालुवाटारमा भएको शेखर-गगन समूहको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । आजको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए ।

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्न अर्को भेला बोलाउने यो समूहको तयारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ । त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि नै बस्ने भएको हो ।

संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको परिणामस्वरूप अहिले परिस्थिति बन्यो भन्ने नै हाम्रो निष्कर्ष रह्यो । अब कसरी अगाडि बढ्ने भन्नेबारे केन्द्रीय समिति बैठकअघि निचोडमा पुग्छौं । ’

उनले भने, ‘सभापतिज्यूले केन्द्रीय कार्यसमितिको त कुरै छाडौँ । पदाधिकारीलाई पनि बाहिर राखेर एकपक्षीय निर्णय हाबी भयो । त्यसैको परिणामस्वरूप अहिले संघदेखि प्रदेशसम्मका सरकार गुम्नुका साथै गठबन्धन टुट्यो ।’

सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर