माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष – Nepal Press

माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो।

माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ हुँदैन। गठबन्धन छाडेर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ।’

यद्यपि, अहिले बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच निर्णायक छलफल चलिरहेको छ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए ।

निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन् । निधिले शनिवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

तर, माओवादीका युवा नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नपाए प्रतिपक्ष बस्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘विषयलाई सहज बनाऔँ। पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ । नत्र राष्ट्रपति ले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उनले चाहेको पनि यही हो । देउवाले गठबन्धन छोडेको हुन्छ ।’

राष्ट्रपतिले दिएको समय सीमा कटे संविधानतः देउवा प्रधानमन्त्री हुने भएकाले कांग्रेसले त्यही चाहेको उनको भनाइ छ।

‘गठबन्धनको दोस्रो ठुलो दल माओवादीले रास्ट्रपती र प्रममध्य एक त अधिकार हो । दुवै नमाने हामी प्रतिपक्ष हुन्छौ’ उनले भनेका छन्, ‘यति भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा हाम्रो विकल्प खुल्ला हुन्छ । अब बल्ल अरू राजनीतिक दल हाम्रो दैलोमा आउनुपर्छ ।’

ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री भए राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा विकल्प खुल्ला हुने भएकाले अरू राजनीतिक दल माओवादीको दैलोमा आउने उनको भनाइ छ।


प्रतिक्रिया

One thought on “माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

  1. ३६ सिट जितेको बेलामा एमालेसँग चाहिँ सभामुखमा चित्त बुझ्ने । अहिले जम्मा १८ सिट जित्दा चाहिँ प्रधानमन्त्री चाहिने ? लाज पनि लाग्नु पर्ने नि माग्दा पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर