माओवादी सुदूरपश्चिममा दलको नेता भट्ट कि भाट ? को चाहन्छ ‘हेडक्वाटर’ ? – Nepal Press

माओवादी सुदूरपश्चिममा दलको नेता भट्ट कि भाट ? को चाहन्छ ‘हेडक्वाटर’ ?

कैलाली । मंसिर ४ गतेको निर्वाचनका लागि प्रचार प्रसारमा डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट उभिएर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रूपमा खगराज भट्टलाई चित्रण गरे ।

प्रधानमन्त्री देउवासँग लगातार तेस्रो पटक पराजित भएका भट्ट यस पटक देउवाकै सुझावमा प्रदेशमा लड्न तयार भएका थिए ।

देउवा सत्ता गठबन्धनमा सकारात्मक भए आफू निर्वाचित हुने मात्र होइन सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्ने र सरकारको नेतृत्व आफूले गर्नेमा भट्ट विश्वस्त थिए ।

प्रधानमन्त्री प्रतिनिधिसभातर्फ निर्वाचित हुँदै गर्दा भट्ट प्रदेश सभामा निर्वाचित भए । अहिले केन्द्रमा कस्तो राजनैतिक समीकरण बन्ने र प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अन्यौलता भइरहेका बेला यस अघि शीर्ष नेताले दिएको आश्वासन पुरा हुने कि नहुने भन्ने पनि अन्यौलता थपिएको छ ।

सुदूरपश्चिममा भट्ट माओवादीका सबै भन्दा सिनियर नेता हुन् । प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट निर्विकल्प रूपमा दलको नेता बन्ने चर्चा चलिरहेका बेला यहाँ अन्य केही नेताहरूले पनि दलको नेतामा दाबी गरेका छन् ।

अहिले भट्टसँगै कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका ओमविक्रम भाट (सरल) ले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् । आफ्नो दाबी सशक्त रहेको बताउने भाट सके सर्वसम्मत नभए निर्वाचन मार्फत भए पनि दलको नेता बन्नेमा विश्वस्त छन् ।

भाटले अहिले सबैलाई भेटेर वा टेलिफोन सम्पर्क मार्फत दलको नेता बनाउन आग्रह गरिरहेका छन् । अन्य प्रदेश सभा सदस्यहरू पनि युवालाई दलको नेता बनाउँदा ठिकै हुने बताउँदै आइरहेका छन् । तर, प्रदेश इन्चार्ज नै दलको नेतामा दाबी गर्दा यहाँका अन्य प्रदेश सभा सदस्यहरूलाई निकै सकस परेको छ ।

दलको नेताको लागि अहिले भट्ट र भाट बिच मुख्य प्रतिस्पर्धा देखिए पनि पार्टीमा ती बाहेकका केही अन्य नेताहरूले पनि इच्छा व्यक्त गरेका छन् । यसरी चाहाना व्यक्त गर्नेमा अछामबाट प्रदेश सभामा निर्वाचित अक्कल रावल, दार्चुलाबाट निर्वाचित मानबहादुर धामी र कैलालीबाट निर्वाचित रमेश धामी रहेका छन् ।

अछामबाट निर्वाचित रावल र दार्चुलाबाट निर्वाचित धामीको यो दोस्रो कार्यकाल हो । रावल यस अघि माओवादी केन्द्रको प्रमुख सचेतक रहेका थिए भने धामी हालमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि हुन् । उनी माओवादीको प्रदेश अध्यक्षमा हरि चौधरी उत्सवसँग पराजित भएका थिए ।

सुदूरपश्चिममा खगराज भट्ट पनि यी दुई नेता पनि सिनियर मानिन्छन् । तर, यी दुई नेताले अहिले सम्म बाहिर चर्चा गरेका छैनन् । पार्टी भित्र भने दाबी गरेको प्रदेशका एक नेताले बताए ।

को चाहन्छ हेडक्वाटर ?

अहिले सम्म सशक्त दाबी गरिरहेका खगराज भट्ट जनार्दन शर्मा र ओम विक्रम भाट वर्षमान पुन निकट नेता हुन् । यी दुवै नेताको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राम्रै सम्बन्ध छ ।

माओवादीमा सधैँ लेखराज भट्टको ओझेलमा परेका खगराज भट्ट लेखराज भट्ट एमाले रोज्दा माओवादीको इन्चार्ज भएका हुन् । यता ओम विक्रम भाट पनि कुनै समय लेखराज भट्टसँगै रहेका थिए ।

प्रदेश इन्चार्ज तथा एक मात्र स्थायी कमिटी सदस्य भएको हुँदा माओवादी हेडक्वाटर खगराज भट्टलाई नै दलको नेता बनाउन चाहन्छ । तर, केही युवा सांसदहरूले यस पटक युवालाई अवसर दिनु पर्ने भन्दै माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष हरि चौधरी उत्सव, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालकी बुहारी विना मगरको पनि आफ्नै गुट रहेको छ । यस अघि मान बहादुर धामीलाई मन्त्री र मान बहादुर सुनारलाई राज्य मन्त्री बनाउँदा खगराज भट्टले खुलेरै विरोध गरेका थिए । भट्ट त्यो बेला सह इन्चार्ज थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वलाई जोकर फाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहाना र भावनालाई लत्त्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रीपरिषद् पुनर्गठन प्रक्रिया प्रति खेद व्यक्त गरौँ ।’

त्यस यता विना मगर र खगराज भट्टको सम्बन्ध चिसिएको थियो ।

स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा लोकबहादुर ऐरलाई टिकट दिनु पर्नेमा भट्टले नवराज ऐरलाई उम्मेदवार बनाउन चलखेल गरेको आरोप लागेको थियो । नवराज जनार्दन शर्माको सचिवालयमा र सभामुख अग्नि सापकोटाको सचिवालयमा समेत थिए । त्यसपछि निर्वाचन प्रयोजनमा भट्टको हस्ताक्षर नचल्ने र हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने माओवादीले निर्णय गरेको थियो ।

अहिले सुदूरपश्चिममा हरिराम चौधरी प्रचण्ड निकट मानिन्छन् । विना मगर र हरिराम चौधरी दुबैसँग असमझदारी भएका कारण माओवादी संसदीय दलमा भट्टलाई सहज नभएको विश्लेषण गरिन्छ । यता दुवै नेतासँग भाटले भने सन्तुलन बनाइरहेका छन् ।

यति हुँदा पनि प्रदेश इन्चार्ज भएका हुँदा भट्टलाई नै दलको नेता बनाउन विना मगर र हरि चौधरीलाई पनि दबाब छ । उनीहरू दुवै जना सके सम्म सर्वसम्मत नभए निर्वाचन प्रणाली मार्फत भए पनि दलको नेता छनोट गर्ने तर, आफूहरूले हस्तक्षेप नगर्ने बताउँछन् ।

‘१५ गते शपथ ग्रहण छ त्यसपछि दलको नेता चयन हुन्छ’ प्रदेश अध्यक्ष चौधरीले भने ‘हामी सर्वसम्मत नेता बनाउनेमा लागिरहेका छौँ । नभए लोकतान्त्रिक प्रणालीबाट भए पनि छनोट हुन्छ ।’

काठमाडौँमा विना मगर र हरि चौधरीलाई मनाएर आफू सर्वसम्मत दलको नेता बन्ने खगराज भट्टको रणनीति रहेको छ भने प्रदेशमा सबै सांसदसँग संवादमा रहेका ओम विक्रम भाट निर्वाचन गरेरै भए पनि आफू दलको नेता बन्नेमा लागिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर