प्रधानमन्त्रीको कुर्सी नजिक प्रचण्ड- गठबन्धनबाटै बन्ने पहिलो प्राथमिकता – Nepal Press

प्रधानमन्त्रीको कुर्सी नजिक प्रचण्ड- गठबन्धनबाटै बन्ने पहिलो प्राथमिकता

बालुवाटार स्रोत भन्छ- प्रचण्ड गठबन्धन छाडेर हिँडे भने उनीभन्दा पहिले हामी बालकोट पुग्छौं

काठमाडौं । ठूलै भूराजनीतिक आँधी चलेन भने तेस्रोपटक मुलुकको प्रधानमन्त्री बन्ने प्रचण्डको एकमात्र सपना गठबन्धनबाटै पूरा हुनेछ । प्रचण्डलाई गलाउने, थकाउने, फकाउने र धम्क्याउने सबै प्रयासहरु असफल भएपछि कांग्रेस शीर्ष नेतृत्व उनलाई पहिलो चरणको प्रधानमन्त्री दिएर भने पनि राष्ट्रपति, सभामुखसहितका शक्ति हत्याउन अनौपचारिक रुपमा तयार भएको छ ।

जति प्रयास गर्दा पनि नमानेपछि र एमालेसँग समानान्तर वार्तामा रहेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्ने नेपाली कांग्रेस सकारात्मक देखिएको हो । प्रधानमन्त्री नपाए प्रचण्डले सरकार गठनको लागि प्रयोग गर्ने ‘ट्याक टु’ले आफूहरु संघदेखि प्रदेशसम्म सरकार बाहिर हुने देखिएपछि कांग्रेस हच्किएको छ ।

कांग्रेसले नदिए प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउन ‘ग्रीन सिग्नल’ दिइसकेको छ । यद्यपि यसबारेमा कुनै पक्षले पनि आधिकारिक रुपमा बोलेको छैन । एमाले नेताहरुले प्रधानमन्त्री बन्ने हो भने प्रचण्डले सबैभन्दा पहिले गठबन्धन तोडिएको घोषणा गर्नुपर्ने बताएका छन् । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि दलहरु छलफलमा छन् ।

नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदैछ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरुले बहुमत जुटाएर पेश गर्नुपर्नेछ ।

तर, गठबन्धनबाट सरकार बनाउने सहमति भए पनि नेतृत्वको विषयमा टुंगिन सकेको छैन । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । तर, चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब बन्ने सरकारको नेतृत्व आफूले पाउनुपर्ने प्रचण्डको अडान छ ।

सरकार गठनका लागि प्रचण्डले बिहीबार माधव नेपाललाई साथ लिएर गएर देउवासामु आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले स्पष्ट जवाफ नदिएपछि प्रचण्डले विकल्पबारे पनि छलफल गरिरहेका छन् ।

बिहीबार आफूलाई प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने धम्की दिएर फर्किएका प्रचण्डलाई मनाउन देउवाले नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएका थिए । नेता सिंहले प्रचण्डलाई पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरे दोस्रो कार्यकाल प्रधानमन्त्री छाड्ने बताएका थिए ।

तर, प्रचण्ड २०७४ सालमा झैं (वाम गठबन्धन) आलोपालो तोडिनसक्ने भएकाले पहिलो कार्यकाल प्रधानमन्त्री नछाड्ने अडानमा छन् । प्रचण्डले पनि बालुुवाटारमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई संवादमा लगाइरहेका छन ्। प्रचण्डलाई फकाउन कांग्रेसका अरु नेता पनि सक्रिय छन् ।

स्रोत भन्छ, ‘आज (शुक्रवार अपरान्ह)को मितिसम्म कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन । प्रधानमन्त्री नपाएका प्रचण्डले गठबन्धन छाडेर हिँडे भने उनी बालकोट पुग्नुभन्दा पहिले नै कांग्रेस पुग्छ । एमाले र कांग्रेस मिल्छन्, नेपाल इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को सदस्य बन्छ र प्रचण्डले संक्रमणकालीन न्याय निरुपण नटुंगिएको कुरा बुझ्नुपर्छ । यो कुरा हामीले विभिन्न च्यानलबाट भनेका छौं ।’

शुक्रबार बिहान सांसदहरुसँग भएको अनौपचारिक छलफलमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सरकारको नेतृत्व आफूलाई छाड्न लचिलो भएको बिफ्रिङ गरेका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । आज बेलुकासम्म निर्णायक सहमति हुनसक्छ । राष्ट्रपतिले दिएको समयभित्र गठबन्धनको सरकार बन्छ ।’

प्रचण्डले एमालेबाट पनि प्रधानमन्त्रीको अफर आए पनि आफूले त्यतातर्फ नसोचेको बताएका थिए ।

‘हामीले अहिले गठबन्धनबाटै सरकार बनाउनेबारे छलफल अघि बढाएका छौं । एमालेबाट प्रस्ताव आए पनि हामीले सोचेका छैनौं’, प्रचण्डको भनाइ छ ।

माओवादी सांसद तथा पोलिटव्युरो सदस्य माधव सापकोटा सुवोधले पनि प्रचण्ड गठबन्धनबाटै पहिलो चरणको प्रधानमन्त्री बन्ने दाबी गरे ।उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ । अध्यक्ष कमरेड गठबन्धनबाटै प्रधानमन्त्री बन्नुहुन्छ ।’

त्यसो त अर्थमन्त्रीसमेत रहेका शर्माले पनि बिहीबार प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘गठबन्धनकै सरकार बन्छ । मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ । तर, निर्णय भएको छैन ।’

प्रधानमन्त्री छाड्न कांग्रेस बाध्य

कांग्रेसभित्र ‘पावर शेयरिङ’मा सबै सहमत भए पनि पहिलो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नहुने भन्दै केही नेताहरुले देउवालाई दबाब दिइरहेका छन् ।

तर, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पदमा प्याकेजमै सहमति जुटाउने प्रयास भइरहेकाले एक छाड्नुपर्ने हुन्छ । राष्ट्रियसभा अध्यक्ष भने तत्काल रिक्त हुने अवस्था छैन ।

गठबन्धनबाट प्रधानमन्त्री नपाए माओवादीले अर्को विकल्पबारे गहिरो अध्ययन गरिरहेको छ । तेस्रो र लगभग निर्णायक शक्ति भएकाले कांग्रेस वा एमाले दुवैसँग मिल्दा प्रचण्डले प्रधानमन्त्री पाउनुपर्ने माओवादीको अडान छ । माओवादी नेता वर्षमान पुन कांग्रेसले प्रधानमन्त्री नदिए एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेका छन् ।

माओवादीविनाको सरकार बनाउने कांग्रेसको प्रयास असफल भएपछि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न बाध्य हुने परिस्थिति बन्दै गएको कतिपयको टिप्पणी छ । सरकार माओवादीबाहेकको बन्ने अवस्था बने पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश सरकार गठन सम्भव छैन ।

प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्दा राष्ट्रपति, प्रदेश सरकारसहित महत्वपूर्ण संवैधानिक पद गुमाउने भएकाले कांग्रेस बाध्य भएको बुझिएको छ । तर पनि अझै प्रचण्डलाई दोसो चरणमा प्रधानमन्त्री बन्न मनाउने देउवाको प्रयास पनि रोकिएको छैन ।

तर, प्रचण्ड स्वीकार्ने पक्षमा छैनन् । प्रचण्डले प्रधानमन्त्री नपाएर गठबन्धन छाडे १२ घण्टाभित्र एमालेसँग मिल्ने कतिपय नेताहरुले प्रचण्डलाई चेतावनी दिएका छन् । तर, प्रचण्डलाई देखाएको ‘थ्रेट’बाट पनि पछि नहट्ने मनस्थितिमा छन् ।

बालुवाटार निकट स्रोतले यदि प्रचण्डले प्रधानमन्त्री नपाएको झोकमा गठबन्धन छाडेर एमालेतिर लागेमा उनी बालकोट पुग्नुभन्दा अगाडि नै कांग्रेसले एमालेसँग सहमति गर्ने धम्कीपूर्ण सन्देश पठाइरहेको छ ।

स्रोत भन्छ, ‘आज (शुक्रबार अपरान्ह)को मितिसम्म कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन । प्रधानमन्त्री नपाएका प्रचण्डले गठबन्धन छाडेर हिँडे भने उनी बालकोट पुग्नुभन्दा पहिले नै कांग्रेस पुग्छ । एमाले र कांग्रेस मिल्छन्, नेपाल इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को सदस्य बन्छ र प्रचण्डले संक्रमणकालीन न्याय निरुपण नटुंगिएको कुरा बुझ्नुपर्छ । यो कुरा हामीले विभिन्न च्यानलबाट भनेका छौं ।’

एमाले पनि प्रचण्डलाई प्रधानमन्त्री दिन राजी

गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न एमाले पनि तयार देखिएको छ । केन्द्रदेखि प्रदेशसम्म सबै सरकार गुम्ने देखिएपछि एमालेले प्रचण्डलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति र सभामुख लिन तयार रहेको स्रोतको दाबी छ । तर, नेताहरुले यस विषयमा खुलेर बोलेका छैनन् ।

त्यसको संकेत एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सुर्खेत पुगेर गरेका छन् । सरकार गठनबारे दलहरुबीच रस्साकस्सी चलिरहेको वेलामा उनले वामपन्थीहरु एकै ठाउँमा उभिनुपर्ने वेला आएको बताए । तर, त्यसका लागि प्रचण्ड-माधवले विभीषणको भूमिका छाड्नुपर्ने उनको सर्त छ ।

उनले भने, ‘गठबन्धनको कुनै उद्देश्य छैन । अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ । मुलुकलाई बलियो राष्ट्रिय शक्ति आवश्यक परेको छ । गठबन्धनको कुनै लक्ष्य छैन । त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ ।’

एमालेसँग मिल्ने पक्षमा लबिङ गरिरहेका एक माओवादी नेताले नेपाल प्रेससँग भने, ‘हामी भूराजनीतिक भूमरीमा फसिसक्यौं । जानीनजानी आज प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परिसकेका छन् । अब कसरी सुरक्षित निकाल्ने भन्ने प्रयास हो । कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री दिए पनि २ वर्षलाई हो, त्यसपछि के गर्ने ? माओवादी पार्टी जोगिँदैन ।’

एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङदेखि पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसम्मका नेताहरुले माओवादीलाई गठबन्धनबाट बाहिर आएर सहकार्य गराउन पहल गरिरहेका छन् ।

प्रचण्डले गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्राथमिकता राखे पनि माओवादीका दोस्रो तहका नेताहरु देव गुरुङ, वर्षमान पुनलगायत ‘इन्डो अमेरिकन एम्मुस’बाट सुरक्षित बाहिर निकाल्न चाहन्छन् ।

उनीहरु कांग्रेसले प्रधानमन्त्री दिए पनि वाम सरकार बनाउन चाहन्छन् । गठबन्धनबाट चीनसँगको सम्बन्ध बिग्रिएकाले कांग्रेसले प्रधानमन्त्री दिए पनि एमालेसँग मिलेर जानुपर्ने उनीहरुको मत छ ।

एमालेसँग मिल्ने पक्षमा लबिङ गरिरहेका एक माओवादी नेताले नेपाल प्रेससँग भने, ‘हामी भूराजनीतिक भूमरीमा फसिसक्यौं । जानीनजानी आज प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परिसकेका छन् । अब कसरी सुरक्षित निकाल्ने भन्ने प्रयास हो । कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री दिए पनि २ वर्षलाई हो, त्यसपछि के गर्ने ? माओवादी पार्टी जोगिँदैन ।’

अब आउने चुनाव र त्यसपछिको समेत पार्टीको भविष्य हेरेर भए पनि एमालेसँग मिल्नुपर्ने ती नेताको धारणा छ । ‘बाँकी रहेका माओवादीहरुको राजनीति जोगाउने प्रयास पनि हो वाम सरकारको बहस’, उनले भने ।

गठबन्धन सरकार दक्षिणपन्थी भएको आरोप लाग्दै आइरहेको छ । अहिलेको गठबन्धन इण्डो अमेरिकन लबीमा रहेकाले माओवादीलाई त्यसबाट निकाल्न भूराजनीतिक शक्तिहरु लागेका छन् । तर, प्रचण्डले गठबन्धन छाड्न अझै मानेका छैनन् । यद्यपि उनी जता लागे पनि प्रधानमन्त्रीको कुर्सी नजिक भने पुगेका छन् ।

अहिलेमात्रै नभएर चीनले नेपालमा एमाले र माओवादी मिलाउन निरन्तर प्रयास गर्दै आएको छ । अहिले पनि हालैमात्र चीन गएर आएका वर्षमान पुनले एमालेसँग मिलाउने प्रयास गरिरहेका छन् । यसै साता चिनियाँहरुको एउटा टोली काठमाडौंमा आएर राजनीतिक भेटवार्तासमेत गरेको थियो ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको कुर्सी नजिक प्रचण्ड- गठबन्धनबाटै बन्ने पहिलो प्राथमिकता

  1. प्रधानमन्त्री त प्रचण्डले आसै गरेको पद होईन । यिनले सके राष्ट्रपति पद झार्ने नभए सभामुख लिएर गृह र अर्थ मन्त्रालय दुबै लिन यो सबै मोलमलाई गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर