प्रधानमन्त्री नछाड्ने मुडमा प्रचण्ड, सांसदहरूसँग भने : कांग्रेस लचिलो हुँदै गएको छ – Nepal Press

प्रधानमन्त्री नछाड्ने मुडमा प्रचण्ड, सांसदहरूसँग भने : कांग्रेस लचिलो हुँदै गएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सरकार गठनसम्बन्धी छलफल सकारात्मकरूपमा अघि बढेको बताएका छन् ।

शुक्रबार बिहान खुमलटार पुगेका पार्टी सांसदहरूलाई बिहीबारको छलफलबारे जानकारी गराउँदै वार्ता सकारात्मकरूपमा अगाडि बढेको जानकारी गराएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मकरूपमा अगाडि बढेको छ । आज बेलुकासम्म निर्णायक सहमति हुनसक्छ । राष्ट्रपतिले दिएको समयभित्र गठबन्धनको सरकार बन्छ ।’

प्रचण्डले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको थिए । प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सहमति जनाएका थिए ।

तर, देउवाले पार्टीभित्र छलफल गर्ने भन्दै ठोस जवाफ दिएका थिएनन् ।

गठबन्धनको सरकार बनाउन शीर्ष तहमा सहमति बनेपनि आलोपालोको आधारमा पहिला को प्रधानमन्त्री बन्ने भन्ने टुंगिन सकेको छैन । देउवा र प्रचण्डले आआफ्नो अडान नछाड्दा गठबन्धनभित्र तरङ्ग पैदा भएको छ ।

देउवाले प्रचण्डलाई मनाउन आजै बिहान नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएका थिए । उनले देउवालाई पहिलो कार्यकाल छाडेर दोस्रो कार्यकता प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर, नेता सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए ।

प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउन माओवादी नेता वर्षमान पुन सक्रिय भएका छन् । तर, प्रचण्डले सांसदहरूलाई गठबन्धनकै नेतृत्वको सरकार बन्नेमा विश्वस्त पारेका छन् ।

ती सांसदले भने, ‘हामीले अहिले गठबन्धनबाटै सरकार बनाउनेबारे छलफल अघि बढाएका छौँ । एमालेबाट प्रस्ताव आएपनि हामीले सोचका छैनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर