एउटा काँचो फुटबल फ्यानको साँचो बकपत्र – Nepal Press
ब्लग

एउटा काँचो फुटबल फ्यानको साँचो बकपत्र

प्रसंग एक

विद्यालय पढ्दाताका गाउँमा मोजाको भकुण्डो बनाएर खेलिन्थ्यो । बारीका कान्ला रंगशाला हुन्थे । हिउँदयाममा धुलो उडाउँदै वल्लो छेउबाट पल्लो छेउको पोस्टमा बल पुर्‍याइन्थ्यो । बाँसका टुप्पो गाडिएका पोस्टमा किपरको टाउकाभन्दा माथिबाट गएको भकुण्डो आउट हुन्थ्यो । बाँकी गोल हुन्थ्यो ।

धुलाम्मे भूइँमा गुच्चा खेल्दाखेल्दा पट्पटी फुट्थे हातहरू । ठिहिर्‍याउने जाडो र धुलोले कक्रक्क परेका हुन्थे खुट्टाहरू । सिँगानको टाटो टाँसिएर चरचर भएका हुन्थे गालाहरू । र, पातला, होचा हाम्रा ज्यान बारीको कान्लामा वल्लो छेउ र पल्लो छेउ दगुर्थे । त्यो चिसोमा दगुर्न मेरो ‘इनर्जी ड्रिंक’ थियो, पेले ।

पेले ‘इनर्जी ड्रिंक’ बन्नुको एकै कारण थियो, पेलेबारेको छोटो जीवनी । स्कुल लेभलको पुस्तकमा कति नै जानकारी हुन्थ्यो र ! तैपनि ऊ काफी थियो, हामी सबैलाई पेले बनाउन । खेल्दै गरेको गुच्चालाई थाती राख्दै हामीलाई पेले बनाउने पेलेको जीवनीमा एकैथोक थियो, ‘उनले स्कुलबाट सहरको गल्ली हुँदै भुइँमा नछुवाइकन भकुण्डोलाई घरसम्म पुर्‍याउँथे । घरबाट भिड छिचोल्दै स्कुलसम्म पुग्दा पनि भकुण्डोले भुइँ छुने मौका पाउँदैनथ्यो ।’

जम्मा यत्ति कथा काफी थियो, गाउँमा दर्जनौं पेलेहरू जन्मनका खातिर ।

पेलेलाई पुस्तकमा अलिकति पढेका हामीलाई अलि हुर्किएका ठूला दाइ, काकाहरूले थप मसला थप्थे, ‘पेलेले आफ्नै भाइलाई मारेको हो । भाइलाई विपक्षी टीममा नखेल्न अनुरोध गर्दा पनि नमानेपछि पेलेले बल हान्दा उसको भाइ भुँडी फुटेर मर्‍यो ।’

हाम्रा लागि महान् फुटबलर भइदिन यत्ति नै पर्याप्त थिए पेले । पछि अलिअलि बुझ्ने हुँदामात्रै थाहा भयो, पेले वास्तवमा महान् खेलाडी हुन् । उनले भाइ मारेको कथा चाहिँ वाइह्यात हुन् ।

प्रसंग दुई

६-७ कक्षा पढ्दाताका हो । पढेको कुरा अलिअलि बुझ्ने भइसकिएको थियो । सामान्य ज्ञानहरू छिचोल्न थालिएको थियो । प्रकाश कोविदहरूका उपन्यास पढ्न थालिएको थियो । उपन्यासमा वर्णित प्रेमकथाले कताकता काउकुती लाउन थालेको थियो । आफैंभित्र पनि अव्यक्त एकोहोरो प्रेमले चिल्न थालेको थियो । अचेल त यसलाई ‘वन साइडेड लभ’ भन्दा रहेछन् ।

सामान्य ज्ञान, इतिहास, भूगोल, साहित्यमा अलि बढी रुचि पलाउन थालेपछि साथीहरूको समूह पनि छुटिँदै गए । गफ मिल्ने, चासो मिल्ने साथीभाइको सर्कलमा रमाउन थालिएको थियो । रेडियोको उत्कट रहर थियो, तर किन्ने ल्याकत थिएन । परिवारसित किनिमाग्ने अवस्था पनि थिएन । रेडियो नै किनिदिने हैसियतमा आमा थिइनन् । दशैंमा फेर्ने आकाशे रङको सर्ट र नीलो पाइन्ट किनिदिनै धौधौ हुन्थ्यो ।

त्यही बेला एक पुस्तक हात पर्‍यो । प्रथम र दोस्रो विश्वयुद्धमाथि लेखिएको त्यही पुस्तकमार्फत् विश्वयुद्धलाई छिचोलियो । मुख्यतया हिटलरलाई चिनियो । जर्मनी थाहा भयो । सोभियत युनियन थाहा भयो । बर्लिन पर्खालबारे पनि सानो प्रसंग थियो त्यहाँ ।

अर्को एक सामान्य ज्ञान पनि हात पर्‍यो । सम्भवतः भीम राना जिज्ञासुको हुनुपर्छ । त्यहाँ विश्वकपबारे पनि जानकारी थियो । विश्वकपमा धेरै गोल्डेन बुट जित्ने खेलाडी, सर्वोत्कृष्ट खेलाडी, विश्वकप जित्ने देशहरूबारे धेरथोर जानकारी थियो ।

स्कुलमा हुने हाजिरीजवाफ प्रतियोगितामा हिरो पल्टिनका लागि सामान्य ज्ञान काइदाको चिज थियो । साथीहरू बीचमा आकर्षण छर्न पनि सामान्य ज्ञान गम्भीर भएर पढिन्थ्यो । सानो कदको, लिखुरे मजस्ताका लागि अरुलाई आकर्षित गर्न हाजिरी जवाफ र स्कुलको वार्षिक परीक्षाको नतिजाबाहेक अर्थोक थिएन । नाचगान गर्न नसकिने, गाउन नसकिने, सर्टको टाँक खोलेर छाती देखाएर, निधारमा रातो रुमाल बाँधेर हिँड्नलाई ज्यान नभएको । त्यसैले पनि आकर्षणको बीचमा रहन उत्तम उपाय सामान्य ज्ञान जो थियो ।

त्यही सामान्य ज्ञान पढेर ब्राजिलका रोनाल्डोको फ्यान भइयो । सामान्य ज्ञानमा रोनाल्डोले फाइनलमा जर्मनीको पर्खाल भत्काएको उल्लेख थियो । अनि सोचियो, अहो ! त्यस्तो पर्खाल भत्काउने गरी बल हान्ने रोनाल्डो कति अजंगको होला ! विश्वयुद्धको पुस्तकमा पढेको बर्लिन पर्खाल नै त होला रोनाल्डोले भत्काएको पर्खाल !

अलि पछि मात्रै थाहा पाइयो, सन् २००२ को विश्वकपको फाइनलमा जर्मनी र ब्राजिल नै भिडेका थिए । तर, फाइनल कोरियामा भएको थियो, जर्मनीमा होइन । र, सामान्य ज्ञानमा सम्भवतः लेखिएको थियो, ‘जर्मनीको बलियो डिफेन्सको पर्खाललाई भत्काउँदै रोनाल्डोले गोल गरेका थिए ।’ तर, बुझ्दाखेरि पर्खालमात्रै बुझियो । सामान्य ज्ञान पढ्दा मिति र गोलहरू मात्रै पढियो । फुटबलमा डिफेन्स, मिडफिल्ड, अट्याकिङ, अफसाइड हुन्छ भनेर त कति पछि थाहा पाइयो, पाइयो !

सहर पसेपछि २००२ विश्वकपको फाइनलको हाइलाइट हेर्दा थाहा भयो, रोनाल्डो उस्तो अजंगको खेलाडी होइनन् । आफ्नो समयको उत्कृष्ट खेलाडी हुन् । तर, रोनाल्डोले बर्लिनको पर्खाल भत्काएको प्रसंग मबाट छ्याङ्ग हट्न चाहिँ लामै समय लाग्यो । रोनाल्डोको अजंगको विम्ब ढिसमिस नभइन्जेल रोनाल्डो एक अकल्पनीय देवदूत जस्तो बनेर रहिरहे ।

प्रसंग ३

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रशंसक चाहीँ पेले र रोनाल्डोभन्दा अलि फरक तवरले भइयो । पहिलोपटक सन् २०१० को विश्वकप सोलु एफएममार्फत् नौ बजेको समाचारमा सुनियो । हजुरबुबाको रेडियोमा समाचार सुनेर मात्रै आठ कक्षाको पहिलो कक्षा लिन स्कुल गइन्थ्यो । त्यसवेला सुनेका अधिकांश खेलाडीहरूको खेल कौशल सहर पसेपछि दृश्यपान गर्न पनि पाइयो ।

त्यतिबेलै सुनेको रोनाल्डोबारे उस्तो चासो थिएन । पढ्नलाई सहर पसेपछि छिटपुट क्लब फुटबल हेर्न थालियो । लियोनेल मेस्सीबारे सुन्न थालियो । प्रिमियर लिग, लालिगा, सिरिए, बुन्डेसलिगा जस्तो युरोपका शीर्ष फुटबल लिगमा ठूल्ठूला क्लबहरूको खेल हेर्न थालियो ।

ती खेलहरूमा दुई खेलाडीका मात्रै खेल कहिल्यै छुटेनन्, रोनाल्डो र मेस्सी । यी दुईमा पनि रोनाल्डोको सुगठित शरीर, एट्टिट्युड, गोल सेलिब्रेसन गर्ने तरीका, गोल गर्न नसक्दाका नोकझोँक अनि उसको उम्दा व्यक्तित्वले अलि बढी तान्यो । खेल कौशलकै रूपमा मेस्सी प्रिय बने । तर, समग्रमा रोनाल्डो अति प्रिय बने ।

०००

कोही किन कसैको साँचो प्रशंसक बन्छ ? यसको ठ्याक्कै चित्तबुझ्दो जवाफ कसैसित हुँदैन । जो मान्छे कसैको खास प्रशंसक हुन्छ, ऊसित जवाफ त हुन्छ तर, उक्त जवाफ उसैका लागि हो । अरुका लागि उक्त जवाफले काम नगर्न सक्छ ।

कोही कसैको विशुद्ध प्रशंसक बन्नुमा केही मनोविज्ञानहरूले काम गर्दोरहेछ । प्रशंसकलाई आफ्नो सेलिब्रेटीको पृष्ठभूमि, उसको उदय र सफलताले सबैभन्दा बढी खिच्दो रहेछ । पेले गरीब थिए, मोचाको बल खेलाउने हैसियतका थिए । र, हामीले आफूमा पेले देख्न सक्ने अवस्था बन्यो । भनिन्छ नि, बच्चाले कल्पना मात्रै गर्नका लागि पनि धरातल चाहिन्छ । हुम्लामा हुर्किएको बच्चाले रोबोटको सपना देख्न सक्दैन । हाम्रो बाल्यकालमा हामीसित पेलेको जस्तै धरातल थियो । हैसियत उस्तै थियो । अवचेनमै सही, त्यही कारण हामीले आफूलाई पेले सोच्न सक्यौं । अथवा, पेलेको ठाउँमा आफूलाई राख्न सक्यौं ।

हुर्किँदै गरेको किशोरकालमा कागजमै सही, ब्राजिलका रोनाल्डोलाई पढियो । उसको खेल कौशल एकातिर थियो, उसको शक्तिले खिच्यो । बाल्यकालको उत्तरार्द्ध र युवाकालको सुरूवातिकालमा उभिँदै गर्दा रोनाल्डो एक अचुक शक्तिले भरिपूर्ण लाग्यो ।

म फुटबलको समीक्षक होइन । फुटबल पण्डित पनि होइन । तर, फुटबलको विशुद्ध प्रशंसक हुँदै गर्दा युवाकालमा रोनाल्डोले खिच्यो । पोर्चुगलको पहाडी क्षेत्र सान्टो आन्टानियोको एक गरीब बस्तीमा हुर्किएका, पिता मालीको जागिरे, आमा कुक । र त्यो बस्तीबाट उठेका रोनाल्डो ।

सपना पूरा गर्ने उत्कट इच्छा बोकेर सहरमा दौडदै गर्दा रोनाल्डो स्वभाविक प्रिय बन्ने नै भए । झनै रोनाल्डोले बेलायती पत्रिका द मिररमा सन् २०११ म ‘फुटबल खेलाडी नभएको भए के बन्थ्यौ ?’ प्रश्नमा दिएको उत्तर सम्झिँदा सपनाको भारीले थिचिएको मजस्ता युवा स्वाभाविक रोमाञ्चित हुने नै भए । उनले उत्तर दिएका थिए, ‘सम्भवतः वेटर ।’

रोनाल्डोको मुटुको शल्यक्रियाको प्रसंग, उसको धरातल र गोल गर्ने कौशलले सधैँ एक खालको तरंग दिइरह्यो । तर, एउटा सत्य यही हो, खेल करिअरको आफ्नो अन्तिम विश्वकप पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि सुखद् रहेन । हरेक खेलाडीले देख्ने करियरकै ठूलो सपना अधुरै रह्यो । सम्भवतः खेलाडीको रूपमा उसले प्राप्त गर्नुपर्ने बाँकी उपलब्धि पनि विश्वकप विजेता टोलीको नाममा आफ्नो नाम दस्तखत गराउनु नै रह्यो ।

रोनाल्डोबारे धेरैथोक सामग्री गुगलमा छ्यापछ्याप्ती पाइन्छन् नै । तर, यो लेखोट एक सामान्य प्रशंसकको आँखाबाट मात्रै लेखिएको हो । तर, यसो गम खाएर सोच्दा कोही कसैको प्रशंसक बन्नुमा चेतनाको तह र उमेरको परिधिले पनि काम गर्दोरहेछ । युवाकाल सकिएर जीवनको अर्को अध्याय सुरू गर्दै गर्दा अर्को कोही कसैको प्रशंसक बन्नुमा आफूले पूरा गर्न नसकेका सपनाहरू कारक हुन सक्लान् । अधुरा सौखहरूले काम गर्लान् । आफूले अधुरै छाडेका सपनाहरू कसैले पूरा गरिरहेको देख्दा आँखाहरू रसाउलान् । उमेर अनुसार जीवनलाई हेर्ने दृष्टिकोण बदलिँदै जाने नै छ । उक्त बदलावसँगै प्रशंसकको रूपमा पनि बदलिँदै गइने नै छ ।

तर, कतारबाट मोरोक्कोसित पराजित भएपछि आँसुले लतपतिएका रोनाल्डो ड्रेसिङ रुम छिर्दै गर्दाको दृश्य चाहिँ सम्झन मनै लाग्दैन । त्यो दृश्यसँगै एउटा उत्प्रेरणा ओझेल पर्‍यो । त्यो त झनै सम्झन मनै लाग्दैन । आफैँलाई थुमथुमाउँछु, आखिरी एउटा मान्छेको जीवनमा सम्झन मन नलाग्ने कुरा एउटामात्रै पक्कै हुँदैन !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *