गठबन्धनका प्रधानमन्त्री कति ? प्रचण्डले ५ जना तोक्दा, कांग्रेसबाटै आधा दर्जन जति – Nepal Press

गठबन्धनका प्रधानमन्त्री कति ? प्रचण्डले ५ जना तोक्दा, कांग्रेसबाटै आधा दर्जन जति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुका लागि अपिल गरिएको भिडिओ सन्देशमा प्रश्न गरे- अबको ५ वर्ष देशको बागडोर शेरबहादुर देउवाको हातमा दिने कि मेरो हातमा ?

एमालेले ओलीलाई सर्वसम्मत रुपमा भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । तर, सत्ता गठबन्धनले अहिलेसम्म भावी प्रधानमन्त्री तोेक्न सकेको छैन । यद्यपि उनले देउवालाई नै आफ्नो सम्भावित प्रतिस्पर्धी मानेर सो प्रश्न गरेका हुन् ।

राजनीतिक स्थायित्वका लागि गठबन्धन बनाएको जिकिर गर्ने शीर्ष नेताहरुले अझै औपचारिक रुपमा आगामी प्रधानमन्त्रीबारे बोल्न सकेका छैनन् । निर्वाचनपछि गठबन्धनकै सरकार बनाउनेमा सबै एकमत देखिए पनि कसको नेतृत्वमा जाने भन्नेबारेमा कोही बोल्दैनन् । बरु सबैले ठाउँअनुसार प्रधानमन्त्रीमा दाबी ग्रिरहेका छन् ।

पछिल्लोपटक सोलुखुम्बुबाट बलबहादुर केसीले समेत अब प्रधानमन्त्री हुनमात्र बाँकी रहेको भनेर भाषण गरेपछि सत्ता गठबन्धनका प्रधानमन्त्री उम्मेदवारबारे सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ ।

गगन थापाले आफू प्रधानमन्त्री बन्नकै लागि उम्मेदवार भएको र शेरबहादुर देउवासँग संसदीय दलको नेतामा लड्ने घोषणा गरेपछि प्रवक्ता डा. प्रकाशशरण महतले देउवा नै प्रधानमन्त्री हुने भन्दै जसले पनि प्रधानमन्त्रीको बाजा नबजाउन चेतावनी नै दिए ।

एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरुले बारम्बार गठबन्धनको भावी प्रधानमन्त्री अगाडि ल्याउन चुनौती दिए पनि गठबन्धनका शीर्ष नेताहरुले भने पायक पर्ने गरी बोलिरहेका छन् । कांग्रेस प्रवक्ता महतले भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै भएकोे दाबी गर्दै आइरहेका छन् ।

उनले मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रत्यक्षतर्फको १६५ मध्ये ९१ सीटमा एक्लै कांग्रेसले प्रतिस्पर्धा गरिरहेको छ । स्वाभाविक रूपमा गठबन्धनका कारण नेपाली कांग्रेसका उम्मेदवारहरू अधिकांश स्थानमा विजयी हुन्छन् र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ ।’

आगामी सरकारको नेतृत्व कांग्रेसबाट सभापति शेरबहादुर देउवा नै गर्ने उनको भनाइ थियो । उनले प्रचण्डले अहिलेसम्म प्रधानमन्त्रीको दाबी नगरेकाले गठबन्धनमा छलफल नभएको बताए ।

‘सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धनमा कुनै छलफल, सहमति भएको छैन । तर, कहींकतै भाषण गर्ने क्रममा प्रचण्डजी स्वयं र माआवादीका नेताहरूले भनेको भए थाहा भएन’, उनको भनाइ थियो ।

प्रवक्ता महतले भावी प्रधानमन्त्री देउवा नै भएको जिकिर गर्दा उनले अहिलेसम्म मुख खोलेका छैनन् । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउँदै आइरहेका छन् ।

उनले आफूमात्रै नभएर गठबन्धनबाट शेरबहादुर देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल र ओनसरी घर्तीलाई समेत आगामी प्रधानमन्त्रीको रुपमा देखाइसकेका छन् ।

प्रचण्डले तोकेकाबाहेक कांग्रेसमा आधा दर्जन बढी नेताहरु प्रधानमन्त्रीको आकांक्षी छन् । कांग्रेस महामन्त्री गगन थापा, प्रकाशमान सिंह, शशांक कोइरालासहित नेताहरुले आफूलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।

त्यसो त नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि केपी ओलीलाई सत्ताच्युत गरेर गठबन्धनको सरकार बनाउन आफ्नो निर्णायक भूमिका रहेकाले त्यसको कदर हुनुपर्ने भन्दै आलोपालोमा आफ्नो पनि दावी रहने बताएका छन् ।

पाँच वर्षलाई स्थिर सरकार दिन्छौं भनेर मत मागिरहेका गठबन्धन दलले आफ्नोतर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरेर ओलीको विकल्प दिनुको साटो गौंडापिच्छे प्रधानमन्त्री घोषणा गर्दै हिँड्नु लज्जास्पद विषय भएको भूराजनीतिका प्राध्यापक डा. दिनेश पौडेल बताउँछन् ।

गठबन्धनले कसको घोषणापत्र लागु गर्ने र कुन प्रधानमन्त्री हुने भन्ने दिशा नदिएको र पाँच वर्षमा पाँच जनाभन्दा बढी प्रधानमन्त्री हुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

पाँच जनालाई तोके प्रधानमन्त्री

प्रचण्डले एक पटकमात्रै नभएर पछिल्ला अधिकांश चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई देशको नेतृत्व गर्ने तीव्र चाहना भएको प्रकट गर्ने गरेका छन् ।

हालैमात्र आफ्नो चुनावी क्षेत्र गोरखा पुगेर आफूले देशको नेतृत्व गर्ने सम्भावना भएकाले आफूलाई भारी मतले जिताएर पठाउन आग्रह गरे । २०७४ सालको निर्वाचनमा चितवन ३ बाट जितेका प्रचण्ड अहिले गोरखा २ बाट उम्मेदवार बनेका छन् । चितवनमा जीत मुस्किल भएपछि गोरखा गएका प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पनि साथ छ । गोरखा २ मा यसअघि अध्यक्ष भट्टराईले जित्दै आएका थिए । उनले पनि प्रचण्ड आगामी प्रधानमन्त्री नै भएको दाबी गर्दै आइरहेका छन् ।

डा. भट्टराईसहित माओवादी नेताहरुले आलोपालो सहमतिअनुसार अबको प्रधानमन्त्री प्रचण्डलाई नै देखाउँछन् ।

प्रचण्डले हालैमात्र गोरखा पुगेर भनेका थिए, ‘मैले देशकै नेतृत्व सम्हाल्ने सम्भावना पनि छ । त्यसो भयो भने म आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्नेछु, आर्थिक विकास र समृद्धिको सुरुवात गोरखाबाट गर्ने भनेर आएको छु । एकपटक प्रधानमन्त्री बनेर आफ्नो नीति लागू गर्ने चाहना छ ।’

त्यसो त प्रचण्डले आफूमात्रै नभएर अरुलाई प्रधानमन्त्री र चुनावी सभापिच्छे उम्मेदवारलाई मुख्यमन्त्रीदेखि मन्त्रीको आश्वासनसमेत दिने गरेका छन् । प्रचण्डले भाषण गर्न पुगेका जति सबै ठाउँका उम्मेदवारलाई संघ र प्रदेशको मन्त्री बनाइदिने आश्वासन दिए भने आफूसहित पाँच जनालाई त प्रधानमन्त्रीको सम्भावित उम्मेदवार नै भने ।

उनले डडेलधुरामा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री बन्ने पूरै सम्भावना बताए । यता उनले विराटनगरमा आयोजित चुनावीसभालाई कांग्रेस नेता शेखर कोइरालाले पनि देशकै नेतृत्व गर्ने सम्भावना भएको बताउन भ्याए ।

प्रचण्डले गत सोमबार तनहुँमा पुगेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भावी प्रधानमन्त्रीको आश देखाए । उनले नेता पौडेलको देशको कार्यकारी पदमा पुग्ने इच्छा पूरा हुने सम्भावना बढेको बताए ।

उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुनसक्छ । त्यसकारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।’

यस्तै चुनावीसभाको अन्तिम दिन प्रचण्डले पूर्वसभामुखसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तीमगरलाई प्रधानमन्त्री हुने दृढ शक्ति भएको चित्रण गरे । उनी काठमाडौं २ बाट सत्ता गठबन्धनकी उम्मेदवार छिन् ।

‘कमरेड ओनसरीलाई भर्खरै युवा उमेरदेखि चिन्छु । उहाँलाई मैले अगाडि बढाउन पहल गरेको थिएँ । उहाँ सभामुख कसरी हुनुभयो भन्ने कुरा मैले भनिराख्नु परेन’, प्रचण्डले भने, ‘काठमाडौं २ ले उहाँ जस्तो सक्षम नेता अवसरको रुपमा नै छ । उहाँले यहाँको विकास र समृद्धिमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मेरो विचारमा परिस्थिति मिल्दै गएमा महिला प्रधानमन्त्री हुनसक्ने दृढता र त्याग भएकै नेता हो ।’

‘भोट ट्रान्सफर’को डर

प्रचण्डले गठबन्धनबाट ‘भोट ट्रान्सफर’का लागि शीर्ष नेताहरुलाई प्रधानमन्त्रीको आश्वासन बाँडेका छन् । आफूलाई देशको नेतृत्व लिन माहोल सिर्जना गर्न प्रचण्डले कांग्रेसका शीर्ष नेताहरुलाई नै सम्भावित प्रधानमन्त्रीको रुपमा जुधाउनका खोजेको कतिपयको बुझाइ छ ।

प्रचण्ड र माधव नेपालकै पहलमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पनि चुनावपछि ‘पावर सेरिङ’मा सकारात्मक भएको बुझिन्छ । तर, महामन्त्री थापासहित संस्थापनइतर पक्ष नेतृत्व छाड्ने पक्षमा छैनन् ।

त्यसैले चुनावपछि नै आफूले प्रधानमन्त्रीको दाबी गर्दा कांग्रेसबाट भोट ट्रान्सफर नहुने चिन्ताले कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आश्वासन बाँडेको टिप्पणी हुने गरेको छ । चुनावपछि नेतृत्वको विषय विवाद भएकै कारणले यो गठबन्धन नरहन सक्ने एमाले अध्यक्ष ओलीले पनि दाबी गर्दै आइरहेका छन् ।

ओलीले शनिबार नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए, ‘प्रचण्ड यो चुनावपछि गठबन्धनमा नरहन सक्छन् । यो कुरा सुनेपछि प्रचण्डजीले कहाँ हुन्छ ? यसलाई कायमै राख्छौं भन्नुहुन्छ । कांग्रेसको भोट नपाइएला कि भनेर यसको खण्डन गर्छन् । धरोधर्म यो गठबन्धनबाट जाँदैनौं भन्छन् । तर, प्रचण्डजीले आफूलाई एकदम डाइनामिक भन्छन् । तपाईंले यसो हेर्नुभयो भने प्रचण्ड यसरी पाँच मिनेट ध्यानमग्न भएर बसेको देख्नुहुन्छ ? स्थिर भएर बस्न पनि सक्नुहुन्न ।’

तर, ओलीको कुरालाई गठबन्धनका नेताहरु स्वीकार्न तयार छैनन् । उनीहरु चुनावमा गठबन्धनले बहुमत ल्याएर सहमतिमा सरकार बनाउने दाबी गर्छन् ।


प्रतिक्रिया

One thought on “गठबन्धनका प्रधानमन्त्री कति ? प्रचण्डले ५ जना तोक्दा, कांग्रेसबाटै आधा दर्जन जति

  1. गठबन्धनले जितेमा पहिलो लडाई नै प्रधानमन्त्रीको लागि हुनेछ । देशको महत्वपूर्ण समय को प्रधानमन्त्री बन्ने भनेर हुने विवादमा बित्छ । प्रधानमन्त्री छोडनै परेमा अरू पदबाट फाईदा लिन बार्गेनिङ् चल्छ । प्रधानमन्त्रीको सम्बन्धमा सहमति हुनछ जुन सहमतिले देशको राजनीतिलाई अस्थिर बनाउँछ । ५ वर्ष देश अस्थिरता, अन्यौलतामा बित् । देश झन पछि पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर