‘अब जुम्ला बोल्छ !’ – Nepal Press
नेपाल टक

‘अब जुम्ला बोल्छ !’

ज्ञानेन्द्र शाहीसँग अन्तरंग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ जित्नसक्ने सूचीमा राखेका एक दर्जन नेतामध्येका एक हुन् प्रवक्ता ज्ञानेन्द्र शाही । करिब ९ महिना अगाडि मात्रै राप्रपामा प्रवेश गरेका यी युवा अहिले सो पार्टीभित्र उच्च ‘फेस भ्यालु’ भएका नेताहरुभित्र पर्छन् ।

विभिन्न गतिविधिहरुमार्फत युट्युबमा भाइरल भएपछि शाही मूलधारको राजनीतिमा मोडिएका हुन् । भ्रष्टाचारविरोधी अभियन्ताबाट अब उनी एक ‘राजावादी नेता’ बन्न पुगेका छन् । यद्यपि अहिले पनि आफ्नो राजनीतिको मूल ध्येय भ्रष्टाचार उन्मूलन नै रहेको उनी बताउँछन् ।

आमचुनाव २०७९ मा जुम्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् शाही । काठमाडौं २ मा समेत सिफारिस भएका उनले चुनाव लड्न आफ्नै जन्मथलो रोजे । उनको उपस्थितिले जुम्लाको चुनावी माहोल गर्माएको छ । शाही आफू जीतको नजिक पुगेकोमात्र होइन, माला लगाउनमात्रै बाँकी रहेको बताउँछन् ।

आक्रामक र जुझारु स्वभावका ३१ वर्षीय नेता शाहीमाथि देश र समाजले जति आशा राखेको छ, उनीप्रति प्रश्नहरु पनि त्यत्तिकै छन् । भ्रष्टाचारको विरोध गर्ने नाममा अराजक शैली अपनाएको, विरोधीहरुमाथि गालीगलौजको, आर्थिक रुपमा पारदर्शी नरहेको, अन्यत्र कतैबाट परिचालन भएको जस्ता नानाथरि आरोप उनीमाथि लाग्ने गर्छन् । त्यसो त उनको पारिवारिक पृष्ठभूमि र यहाँसम्मको यात्राबारे धेरैलाई जिज्ञासा पनि छ ।

भाइरलम्यानका रुपमा चिनिनुअघिसम्म ज्ञानेन्द्र शाहीको जीवन यात्रा कस्तो थियो ? पहिले उनकै मुखबाट सुनौंः

नेपाली भन्नेबित्तिकै भारतमा बहादुर वा नोकरको रुपमा हेरिँदो रहेछ । नेपालीले कुनै सम्मानजनक काम गरेको भारतीयहरुले देखिनसक्ने रहेछन् । त्यो मलाई फिल भयो । आफ्नो देश गरिब र कमजोर हुनुको पीडाबोध गरें ।

२०४८ साल माघ २४ गते जुम्लाको साबिक नराकोट गाविस- ७ (अहिलेको सिङ्जा गाउँपालिका ३) मा मेरो जन्म भएको हो । देशकै दुर्गम क्षेत्रमा जन्मिएको म त्यहाँका दुःखकष्टहरुसँग सानैदेखि परिचित हुँदै हुर्किएँ । बुवाले खेतीकिसानी तथा सानोतिनो व्यापार गर्नुहुन्थ्यो । सीमित आम्दानीबाट मसहित एक दाइ र एक बहिनीलाई शिक्षादीक्षा दिनुभयो । मेरो आमा भने अहिले हुनुहुन्न ।

मैले घरबाट आधा घन्टाको दूरीमा रहेको प्राथमिक स्कुलमा कक्षा पाँचसम्म पढेँ । ६ कक्षाबाट अर्को स्कुल भर्ना भएँ, जुन घरबाट डेढ घन्टाको दूरीमा पर्थ्यो । भालु लाग्ने जंगलको बाटो भएर हिँड्नुपर्थ्यो । एसएलसी त्यही स्कुलबाट दिएँ ।

मेरो पढाइ भने सुरुदेखि राम्रो थियो । कक्षा एकबाट एकैचोटि जम्प गरेर चार कक्षा पढेको हुँ । त्यसपछि पनि निरन्तर फस्र्ट, सेकेन्ड र थर्ड भइराख्थें । एसएलसीमा सेकेन्ड डिभिजन आयो । केही अंकले फस्र्ट डिभिजनबाट चुकें ।

एसएलसीपछि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा साइन्स पढें । आईएस्सी पास भएपछि भने बाटो बदलें । म सीए पढ्नलाई दिल्ली गएँ । दिल्लीमा म ६ वर्ष बसें । मेरो सीए कम्प्लिट हुन सकेन । फाइनल परीक्षामात्रै बाँकी रहेका वेला विभिन्न कारणले पढाइ विथोलियो । भारतको एउटा ठूलो भ्रष्टाचार काण्ड, जसमा एउटा कम्पनीले १० हजार कर छली गरेको थियो, त्यसमा मैले काम गर्ने अवसर पाएँ । हाम्रो फर्मले मुद्दा पनि जित्यो । त्यसपछि म नेपाल आएँ ।

म नेपाल फर्किनुमा चाहिँ अरु नै कारणहरु छन् । त्यसमा केही राष्ट्रियता र केही भावुकता मिसिएको छ । म भारतको एउटा टप चार्टर्ड एकाउन्टेन्स फर्ममा काम गर्थें । उक्त फर्मले भारतीय सेनाको अडिट हात पारेको थियो । त्यसकै लागि म सेनाको अफिसमा दिनहुँ जानुपर्थ्यो ।

मैले त्यहाँ काम सुरु गर्दा निकै सम्मान र मानमनितो गर्थे । भारतीय सेनाको कर्णेल नै मलाई रिसिभ गर्न बाहिर आउँथे । सँगै खाना खान्थे । हप्ता १० दिन यस्तो चल्यो । एक दिन मलाई ती कर्णेलले सोधे, ‘तपाईं हेर्दाखेरि हिमाञ्चल प्रदेश वा दार्जिलिङको जस्तो देखिनुहुन्छ । खासमा तपाईं कहाँको मान्छे हो ?’

मैले गर्वसाथ ‘म नेपालबाट आएको हुँ’ भनें । तर, उनले नाक खुम्च्याए ।

‘नेपाली लोग भि सीए होते हे ?’ भन्दै उनले हेपाहा पारामा सोधे । उनको त्यो सोधाइ मलाई नराम्ररी बिझ्यो । त्यस दिनदेखि ती कर्णेलको मप्रतिको व्यवहार पूरै फेरियो । नेपाली भएकै कारण उनले मलाई हेप्न थाले । त्यो कार्यालयभित्रैको वातावरण फेरियो । ममाथि खुला भेदभाव भयो, मानौं कि म कुनै भिखमंगा थिएँ ।

नेपाली भन्नेबित्तिकै भारतमा बहादुर वा नोकरको रुपमा हेरिँदो रहेछ । नेपालीले कुनै सम्मानजनक काम गरेको भारतीयहरुले देखिनसक्ने रहेछन् । त्यो मलाई फिल भयो । आफ्नो देश गरिब र कमजोर हुनुको पीडाबोध गरें ।

त्यही समयमा नेपालमा नयाँ संविधान जारी भएको थियो । उक्त संविधानको विरोधमा दिल्लीमा बस्ने हाम्रै मधेसी मूलका साथीहरुले नेपालको झण्डा जलाए । भारतीय प्रहरी रमिता हेरेर बस्यो । नेपालमा भारतीय झण्डा त्यसरी नै जलाउँदा प्रहरीले गोली चलाउँथ्यो होला । तर, भारतीय प्रहरीका लागि त्यो कुनै आपत्तिको विषय नै भएन ।

त्यस दृश्यले मेरो मुटुमा किला रोपिएझैं भयो । आफ्नै देशवासीको हर्कत अनि छिमेकी देशको रवैयाप्रति वितृष्णा उत्पन्न भयो । यी नै भावनात्मक उथलपुथलबीच मैले नेपाल फर्किने निधो गरें । आफ्नै देशमा व्यवसाय गरेर बस्छु र स्वदेशको विकासमा थोरै भए पनि टेवा दिन्छु भन्ने अठोट लिएँ । मन मिल्ने साथीहरुसँग सल्लाह गरेर म नेपाल फर्किएँ ।

वास्तवमा नेपाल फर्किंदासम्म पनि भारतमा नेपालीहरुलाई हेपिने वास्तविक कारण के हो भन्ने मैले राम्ररी बुझेको थिइनँ । मलाई त्यो कारण जसरी पनि खोज्नु थियो । र, खोज्दै जाँदा मैले जवाफ पाएँ कि यसको कारण हामी आर्थिक रुपमा कमजोर हुनु नै हो । हाम्रो देश विकासमा पछि पर्नु नै हो । विकास नहुनुको कारण के हो त भनेर खोज्दा, भ्रष्टाचार । राज्यका सबै अंगहरु भ्रष्टाचारले थिलथिलो भएपछि विकास कसरी होस् ? त्यसैले मैले अब भ्रष्टाचारविरोधी संघर्षमा होमिन कम्मर कसें ।

ठ्याक्कै त्यतिवेला एनसेलको विषय सतहमा आयो । अधिवक्ता सुरेन्द्र भण्डारीले कर्पोरेट ल पेको वा यस्तो मुद्दा हेरेको मान्छे खोजिरहनुभएको थियो । म उहाँको सम्पर्कमा पुगें । उहाँको पाँच जनाको टीममा बसेर काम गरें । त्यो मुद्दा जितियो । यसरी मेरो यात्रा प्रारम्भ भयो ।

भ्रष्टाचारका विषयहरु बाहिर ल्याउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । यही महसुस गरेर मैले केही समय एभिन्युज टीभीमा पनि काम गरें । उक्त टेलिभिजनमा मैले पर्दा पछाडि बसेर थुप्रै भ्रष्टाचारका विषयहरु उजागर गरेको छु । वाइड बडीमा भएको भ्रष्टाचार एभिन्युज टेलिभिजनबाटै बाहिर आएको छ, त्यसमा मैले पर्दा पछाडिबाट धेरै नै इनपुट दिएको थिएँ । मेलम्चीदेखि नेपाल ट्रस्टको जग्गासम्मका केसहरुमा मैले काम गरें ।

तर, एभिन्युजमा मेरो यात्रा लामो भएन । तीन-चार महिनापछि मलाई टेलिभिजन सञ्चालक भाष्करराज राजकर्णिकारले एउटा कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गर्नुभयो । उहाँले मेरो लागि सेट पनि तयार गरिसक्नुभएको थियो । तर, मलाई त्यसमा त्यति रुचि थिएन । मैले आफ्नो टेलिभिजनको पर्दामा मात्रै सीमित हुन नसक्ने बताएँ । उहाँले पनि मलाई ‘त्यसो भए तिमी जागीर खाएर नबस, जनता जगाउन सडकमै जानुपर्छ भन्नुभयो । तिमीले सडकबाटै हजारौं जनताको अगुवाइ गर्नुपर्छ भनेर प्रोत्साहन दिनुभयो । तिमीसँग त्यस्तो क्षमता छ भनेर आश्वस्त पार्नुभयो । त्यसपछि तत्काल टेलिभिजन छाडेर म सडकमा फर्किएँ ।

सडकमा आइसकेपछि ज्ञानेन्द्र शाहीले के-के गरे भन्ने त हामी सबै जानकार नै छौं । कति घटनामा उनी विवादित भए । कतिमा उनी प्रशंसित भए त कतिमा आलोचना व्यहोरे । सीडीओदेखि सांसद र मन्त्रीसँग पैंठेजोरी खेले । बारम्बार पुलिसको पिटाइ खाए । घाइते भए । हिरासत धाए । युट्यूबबाट नेताहरुलाई धारेहात लाए । र, रातारात भाइरलम्यानका रुपमा अवतरित भए । युट्यूबरको ठूलो झुण्ड उनको पछि लाग्यो । उनी नानाथरि फलाक्न थाले । प्रायः तथ्यमै टेकेर बोले पनि उनको अराजक प्रस्तुति गम्भीर खालका दर्शकले रुचाएनन् । तर, तल्लो तप्कामा उनी लोकप्रिय भए ।

आर्थिक स्रोतको कुरा गर्नुहुन्छ भने मैले दिल्लीबाट फर्केदेखि नै नेपालमा व्यवसायहरु सुरु गरें । साथीहरुसँग मिलेर अनलाइन कम्पनीहरु चलाएँ । अहिले पनि चलिरहेका छन् । मैले इन्भेस्टमेन्ट काउन्सिलिङ पनि गर्ने गर्छु । मलाई घर चलाउन समस्या छैन ।

यस पंक्तिकारले ज्ञानेन्द्र शाहीलाई पहिलोपटक २०७३ सालतिर अनलाइनखबरको कार्यालयमा भेटेको थियो । लुम्रो शरीर, उदास अनुहार र मलिन स्वरमा उनले आफू भर्खरै दिल्लीबाट नेपाल फर्किनुको कारण सुनाउँदै देशमै केही गर्ने हुटहुटी व्यक्त गरेका थिए । त्यसपछिका ५ वर्षमा बाग्मतीमा धेरै पानी बगिसकेको छ । मलिन स्वरमा बोल्ने त्यो लुम्रे ज्ञानेन्द्र शाही अब कहाँ भेटिनु ।

यतिवेला शाही अहिले जुम्लामा व्यस्त छन् । चुनावको मौन अवधि सुरु हुनुअघि आफ्नो जीत सुनिश्चित गर्न अन्तिम बल लगाइरहेका छन् उनी । आफ्नो व्यस्तताबाट मुस्किलले समय निकालेर उनले फोनमा ४० मिनेट कुराकानी गरे । त्यसको एक अंश माथि प्रस्तुत गरियो । थप प्रस्नोत्तर यस्तो छ :

– ज्ञानेन्द्र शाहीलाई अभियन्ताका रुपमा चिनाउने मुख्य घटना वा भनौं टर्निङ प्वाइन्ट कुन हो जस्तो लाग्छ ?

त्यो एनसेल काण्ड नै हो । त्यो मुद्दामा म जोडिएपछि मलाई सञ्चारमाध्यमले खोज्न थाले । कान्तिपुरले पनि मेरो फिचर लेख्यो । एभिन्युज टीभीले अन्तर्वार्ता लियो । युट्यूबरहरुले पछ्याउन थालेको त पछि हो ।

– तर, तपाईंलाई भाइरल बनाएको त युट्यूबले नै होइन र ? खासगरी सुर्खेतमा प्रहरीले पिटेपछि न तपाईंबारे मान्छेले चासो दिन थालेका हुन् ।

त्यसलाई पनि म अस्वीकार गर्दिनँ । नेपालमा अहिले सूचना सम्प्रेषणमा युट्यूबरहरु निकै अगाडि छन् । टेलिभिजनले समेत युट्यूबहरुलाई आधार बनाएर समाचार दिएको हामी पाउँछौं । अब कुन टेलिभिजनको ठूलो विल्डिङ भनेर हेर्ने जमाना छैन । युट्यूब र टिकटकमा सबै दर्शक/स्रोता झुम्मिएका छन् । टेलिभिजन कार्यक्रम पनि अहिले त युट्यूबमै हेरिन्छन् । त्यसैले मलाई युट्यूबले चिनाएको हो भन्न कुनै ग्लानी छैन ।

यद्यपि, नेपालमा युट्यूबरहरुले पत्रकार आचारसंहिता पालना गर्न सकिरहेका छैनन्, त्यो चाहिँ दुःखद कुरा हो । उनीहरु एउटा दायराभित्र बसेर काम गर्नुपर्छ ।

पक्कै पनि सुर्खेत घटनापछि मलाई धेरैले चिन्न थाल्नुभयो । तर, त्योभन्दा अगाडि नै मैले एउटा भ्रष्टाचारविरोधी अभियन्ताको छवि बनाइसकेको थिएँ ।

– तपाईंमाथि मानिसहरुले धेरै प्रश्नहरु उठाउने गर्छन् । सबैभन्दा मुख्य प्रश्न चाहिँ तपाईंको अध्ययन र आर्थिक स्रोतलाई लिएर छ । तपाईंको शैक्षिक योग्यता एसएलसीमात्रै हो भन्नेहरु पनि छन् । अनि, तपाईंले निजी गाडी चढेर हिँड्ने औकात कसरी बनाउनुभयो भन्ने पनि छ । यसलाई प्रस्ट पारिदिनुस् न ।

मैले शैक्षिक योग्यताको कुरा अघि नै भनिसकेँ । त्रिचन्द्र क्याम्पसमा आईएस्सी गरेर दिल्लीमा सीए पढेको हुँ । तर, सीएको फाइनल इयर विभिन्न कारणले कम्प्लिट भएको छैन ।

आर्थिक स्रोतको कुरा गर्नुहुन्छ भने मैले दिल्लीबाट फर्केदेखि नै नेपालमा व्यवसायहरु सुरु गरें । साथीहरुसँग मिलेर अनलाइन कम्पनीहरु चलाएँ । अहिले पनि चलिरहेका छन् । मैले इन्भेस्टमेन्ट काउन्सिलिङ पनि गर्ने गर्छु । मलाई घर चलाउन समस्या छैन ।

– चौबीसै घन्टा अभियान र राजनीतिमा हिँड्ने मान्छे, कम्पनीका लागि समय चैं कतिवेला दिनुहुन्छ ?

आफैंले समय दिनुपर्छ भन्ने छैन । मैले म्यानेज गर्ने हो । २४ घन्टा काम गर्ने त स्टाफहरुले हो नि !

– तपाईं त पारदर्शी मान्छे । आफ्नो वार्षिक वा मासिक आम्दानी यति छ भनेर खुलाउन चाहनुहुन्छ ?

अनलाइन कम्पनीहरुबाट हुने आम्दानी यति नै भन्ने फिक्स्ड हुँदैन । यो त व्यवसाय न हो । कहिले मासिक २-३ लाख पनि हुन्छ । कहिले ८०-९० हजारमात्रै पनि हुन्छ । मैले रेगुलर पाउने स्यालरी चाहिँ इन्भेस्टमेन्ट काउन्सिलिङ गरेवापत मासिक ५० देखि ५५ हजार हो । यो अहिले पनि पाउँछु ।

म त अहिले पनि आफूलाई ‘राजावादी’ भन्दिनँ । राजा त सबैको साझा हुन्छ । मार्क्सवादी, लेनिनवादी, माओवादी भनेजस्तो राजावादी हुँदैन ।

– ज्ञानेन्द्र शाहीको नियत त ठीकै छ । तर, शैली ठीक छैन भन्नेहरु पनि छन् । आफ्नो शैली अलि बढी आक्रामक र अराजक भएको जस्तो लाग्दैन ?

हो, मेरो शैली मन नपर्ने मान्छेहरु छन् । भ्रष्टाचारीहरुलाई मेरो शैली मन पर्दैन । दलाली गर्नेहरुलाई मेरो स्वभाव मन पर्दैन ।

१७ हजार मानिसको रगतको होली खेल्नेलाई नेता मानिरहेको देश हो । अरु देशमा भए प्रचण्ड यतिवेला जेलमा सडिरहेका हुन्थे वा उहिल्यै फाँसीमा चढाइएका हुन्थे । आखिर यत्रो नरसंहार त केवल आफ्नो परिवारको लागि गरिएको थियो भन्ने पुष्टि भयो नि ! उहाँकै छोरी मेयर हुनुपर्ने पटकपटक । हिजो टाउकोको मूल्य तोक्नेसँग आज कुम मिलाएर हिँडिरहेका छन् । यिनीहरु २०५२ सालमै मिलिदिएको भए १७ हजार मान्छे त मर्दैन थिए नि !

त्यसैले यिनीहरुलाई मन पराउनेहरुले मलाई देखिसक्दैनन् । तर, मैले कसैलाई मार्‍या छ र ? गोली हान्या छ र ? अपराधीलाई, भ्रष्टाचारीलाई मेरो स्वरै मन नपर्न सक्छ । त्यसमा केही भन्नु छैन ।

– तपाईं राप्रपामा लाग्नुभएको छ । पहिले त म राजावादी होइन भन्नुहुन्थ्यो । कहिलेबाट ‘मार्ग परिवर्तन’ गर्नुभएको हो ?

म त अहिले पनि आफूलाई ‘राजावादी’ भन्दिनँ । राजा त सबैको साझा हुन्छ । मार्क्सवादी, लेनिनवादी, माओवादी भनेजस्तो राजावादी हुँदैन ।

हो, म राजसंस्था पक्षधर हुँ । म सुधारिएको राजसंस्था पक्षधर हुँ । यो देश राजाले नै आर्जेको हो । राजालाई लखेटेर यो देशको कल्याण हुँदैन । म सुधारिएको राजसंस्थाको पक्षमा छु ।

– सुधारिएको भन्नाले कस्तो ?

अहिलेको आधुनिक युगअनुसार विज्ञानसम्मत राजसंस्था हुनुपर्छ । केही कुरामा करेक्सन आवश्यक छ । जस्तो कि राजामा कार्यकारी अधिकार हुनु भएन । देशको अभिभावकका रुपमा राजसंस्था रहनुपर्छ ।

३४ वर्षदेखि जुम्लाले एउटा बोल्ने मान्छे पाएको छैन । आज चितवनमा ४० अर्ब बजेट जाँदा जुम्लामा २ अर्ब पनि किन आएन भनेर सोध्ने मान्छे कोही छैन । त्यो अभाव पूर्ति गर्न आएको छु ।

– राजा नराखी नहुने चाहिँ किन त ? अहिलेको राष्ट्रपति प्रणालीमा के खराबी छ ?

एकचोटि आफैं तुलना गरेर हेर्नुस् कि राजा र राष्ट्रपतिमा कति फरक हुन्छ । राजालाई अन्य देशहरुले गर्ने व्यवहार र मानसम्मान अनि राष्ट्रपतिलाई गर्ने व्यवहार र मानसम्मान दाँजौं न ! राजा हुँदा नेपालको कुन हैसियत थियो र आज राष्ट्रपति हुँदा कुन हैसियत छ ? विदेशीले राजा र राष्ट्रपतिलाई गर्ने व्यवहारमा आकाश-पाताल फरक छ । यो भनेको देशकै इज्जत प्रतिष्ठाको कुरा हो । प्रचण्डजी प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा त्यहाँका उपसचिव लेभलका कर्मचारी रिसिभ गर्न आए । प्रचण्ड जापान जाँदा त त्यहाँ सरकारले सुरक्षासमेत दिएन । सर्वसाधारणको जस्तो भौतारिएर हिँड्नुभयो । राजा जाँदा त्यहाँको राजाले भेट्न बोलाउँछन् । कति फरक छ ?

– तपाईंले चुनाव लड्न आफ्नो गृहजिल्ला नै रोज्नुभयो । काठमाडौंबाट लडेको भए धेरै चर्चा हुन्थ्यो होला नि ?

म आफ्नो जन्मभूमिमा चुनाव लड्न आएको छु । हो, चर्चाका लागि भए त काठमाडौंमा नै लड्थें । मेरो नाम गएको पनि थियो । टिकट पाउन गाह्रो थिएन । त्यो छोडेर यहाँ आएँ । ३४ वर्षदेखि जुम्लाले एउटा बोल्ने मान्छे पाएको छैन । आज चितवनमा ४० अर्ब बजेट जाँदा जुम्लामा २ अर्ब पनि किन आएन भनेर सोध्ने मान्छे कोही छैन । त्यो अभाव पूर्ति गर्न आएको छु । बरु चुनाव हारे पनि हार्छु । तर, आफ्नै जन्मभूमिबाट लड्छु भनेर आएको हुँ ।

– चुनाव जित्ने सम्भावना कति देख्नुभएको छ ?

मैले यहाँ जनताको अपार माया पाइरहेको छु । अहिले गठबन्धन यहाँ पत्तासाफ नै छ । गठबन्धन के हो भन्छन् मतदाता । प्रतिपक्षी उम्मेदवारसँगै जुलुसमा हिँडेका मान्छेहरु ज्ञानेन्द्रलाई भोट हाल्ने हो भनिरहेका छन् ।

अस्ति शक्ति प्रदर्शन नै गरियो । जुम्ला जिल्लाको इतिहासमा सबैभन्दा ठूलो आमसभा भयो । त्यही मञ्चमा प्रचण्डजी आएर भाषण गर्नुभएको हो । प्रचण्ड आउँदा २ सय जना, म आउँदा दशौं हजारको भीड भयो । त्यति फरक थियो ।

मेरो जीत शतप्रतिशत निश्चित भइसकेको छ । कति हजार अन्तरले जित्ने भन्नेमात्रै कुरा रह्यो । मैले होइन, जुम्लाले जित्ने हो । ३४ वर्षदेखि जुम्लाले कुनै पनि पार्टीमा केन्द्रीय सदस्यभन्दा माथि पाएको थिएन । ३४ वर्षमा जुम्लाले एकजना मन्त्री पाएन । जुम्ला पीडामा छ । राष्ट्रको नेतृत्व गर्ने तहमा जुम्लाले आफ्नो प्रतिनिधि पठाउन चाहन्छ ।

– राजनीतिमा तपाईंको महत्वाकांक्षा कहाँसम्म हो ?

हामी राष्ट्रपति मान्दैनौं । राजा मान्ने मान्छे हौं । मेरो राजनीतिको अन्तिम लक्ष्य भनेको जनताको सेवा हो । जनताको सेवा गर्दा कहाँसम्म पुग्न सकिन्छ । मलाई यो नै बन्नुपर्छ भन्ने छैन ।

– अबको चुनावपछि मन्त्रीको कुर्सीमा तपाईंलाई देख्न सकिएला ?

हाम्रो पार्टी सरकारमा गयो भने त्यो त शतप्रतिशत हुन्छ । म पार्टीको सिनियर प्रवक्ता हो । वरियतामा पनि सिनियरमै पर्छु । निर्णय गर्ने तहमा छु । कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्ने तहमा भएको हुँदा पार्टी सरकारमा गयो भने त्यो अवस्था देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर