नेपाल प्रेसकाे अन्तरवार्तालाई लिएर साहुलाई स्पष्टीकरण, अरू काे-काेलाई साेधियाे ? – Nepal Press

नेपाल प्रेसकाे अन्तरवार्तालाई लिएर साहुलाई स्पष्टीकरण, अरू काे-काेलाई साेधियाे ?

काठमाडौं । निर्वाचन आयोगले दुई जना उम्मेदवारसहित जनप्रतिनिधि र पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधि सभाका २ जना उम्मेदवार, ३ जना स्थानीय तहका जनप्रतिनिधि र एक जना पदाधिकारीलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साुहलाई  नेपाल प्रेसलाई अन्तरवार्ता दिएका कारण स्पष्टीकरण सोधेको छ । ‘बालेनलाई लौरो हामीले नै दिएको हौँ, उहाँको समर्थन हामीलाई छ’ भन्दै नेपाल प्रेस डटकमलाई अन्तरवार्ता दिएकाले स्पष्टीकरण साेधेकाे आयोगले जनाएकाे हाे ।

साहुलाइ लेखिएकाे स्पष्टीकरणमा भनिएको छ,

‘तपाईंको दल नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचन आयोग नेपालमा दर्ता भएको हो । हरेक दलका उम्मेदवारले इमान्दारिपूर्वक दलीय अनुशासनमा बस्नुपर्छ भनी सम्झाई रहनुपर्ने विषयवस्तु होइन । तपाईंको दल हाम्रो नेपाली पार्टीलाई उक्त दलका उम्मेदवारले दलीय पहिचान स्पष्ट नगरी मत मागेको भन्ने बारे यसपूर्व नै लेखी पठाई सकिएको हुँदा तपाईं उक्त दलको उम्मेदवार समेतलाई सो विषयको जानकारी हुने विषयमा कुनै दुविधा हुन सक्दैन । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड ‘न’ मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था छ ।

(क) निर्वाचन आयोगमा दर्ता भएबमोजिम तपाईंको दलको पूरा नाम के हो ?

(ख) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ‘१’ मा “यस ऐन बमोजिम हुने निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ”, सोही ऐन दफाको उपदफा ‘२’ मा “उपदफा ‘१’ बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह दल र उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ” र ऐ दफाको उपदफा ‘३’ मा “उपदफा ‘१’ बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह त्यस्तो दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन” भन्ने व्यवस्था रहेको सन्दर्भमा तपाईंले “बालेनलाई लौरो चिन्ह हामीले नै दिएका हौँ” भनी भन्नु कानून सम्मत हो, होईन ?

(ग) तपाईंले “बालेनको समर्थन हामीलाई छ” भनेको सन्दर्भमा आयोगबाट भएको पूर्व पत्राचारमा काठमाण्डौ महानगरपालिकाका नगरप्रुमख बालेन्द्र शाहले निर्वाचन आयोगमा दर्ता कायम रहेको लौरो चिन्ह रहेको दलसँग निजको कुनै सम्बद्धता नरहेको साथै निजको सहमति बिना निजको आवद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानून बमोजिम कारवाही हुन लेखी आएको हुँदा तपाईंले दिनुभएको संलग्न अन्तरवार्ता बमोजिमको अभिव्यक्ति साँचो हो भनी पुष्टी गर्ने आधार कारण के छ ?

(घ) तपाईं हाम्रो नेपाली पार्टीको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो ?

(ङ) तपाईंले आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह “लौरो” स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई “लौरो” निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचार समेत भै सकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुन: सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९४० बमोजिम एक लाख रुपैयासम्म जरिबाना र ऐ दफाको उपदफा ‘४’ बमोजिम उम्मेदवारी बदर सम्मको कारवाही किन गर्नु नपर्ने हो ? स्पष्टीकरण स्पष्ट पार्न भनिएको छ ।

यस्तै आयोगले प्रतिनिधिसभा सदस्यका कमवानपुर क्षेत्र नं १ का हाम्रो नेपाली पार्टीकै उम्मेदवार दिपेन्द्रचन्द ठकुरीलाई पनि दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

बालेनलाई लौरो हामीले नै दिएका हौं, उहाँको समर्थन हामीलाई छः डम्बर साहु (भिडियो)

दुई नगरपालिकाका प्रमुख र एक उपप्रमुखलाई स्पष्टीकरण
आयोगले दुई नगरपालिकाका प्रमुख र एक उपप्रमुखलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ । काठमाण्डौ जिल्ला क्षेत्र नं २ मा नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा स्वयम संलग्न भएको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो ।

आयोगले डडेलधुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत जोशीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ । यस्तै सोहि नगरपालिकाकै उपप्रमुख विमल थापालाई पनि आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सदस्यसचिव गुरूङलाई स्पष्टीकरण
आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । तपाईं राष्ट्रिय खेलकूद परिषद्‍को सदस्य सचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी अभियानमा हिँडेको तथा रामेछापको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषयमा स्पष्ट खलाई पेश गर्न स्पष्टीकरण पत्र भनिएको छ ।

बैँकको साधारणसभा स्थगन गर्न निर्देशन
आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्कलाई साधारणसभा स्थगित गर्न पनि निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको त्यस बैङ्कको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न गर्ने तयारी थियो ।

मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामासमेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएकाले सभा रोक्न आयोगमा उजुरी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *