बालेनलाई लौरो हामीले नै दिएका हौं, उहाँको समर्थन हामीलाई छः डम्बर साहु (भिडिओ) – Nepal Press
नेपाल टक

बालेनलाई लौरो हामीले नै दिएका हौं, उहाँको समर्थन हामीलाई छः डम्बर साहु (भिडिओ)

काठमाडौं । मंसिर ४ गते हुने चुनावमा अत्यधिक चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक हो- काठमाडौं १ । यस क्षेत्रमा कांग्रेसका हेभीवेट प्रकाशमान सिंहलाई एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले चुनौती दिइरहेका छन् ।

यस क्षेत्रबाट अरु पनि चर्चित उम्मेदवार छन् । जस्तैः रमेश खरेल, पुकार बम र डम्बर साहु । उनीहरुमध्ये डम्बर साहुले लौरो चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् । लौरोको क्रेज कस्तो छ । लौरोबाट मेयर बनेका बालेनको सहयोग तपाईंहरुलाई हो कि होइन, एजेन्डा, योजना र कार्यदिशा के के हुन् भन्नेबारे उनै उम्मेदवार डम्बर साहुसँग गरिएको कुराकानी नेपाल टकमा :

– जनताले लौरोलाई कस्तो प्रतिक्रिया दिएका छन् ?

म अहिले पनि फिल्डबाट नै यहाँ आएको हुँ । काठमाडौं क्षेत्र नम्बर १ का मतदाताहरु उत्साहित हुनुहुन्छ । लौरो देख्नेबितिकै मतदाताहरुले यो त काम गर्ने लौरो हो भनिरहनु भएको छ । अरुले गफ गर्छन् यो लौरो भनेको काम गर्ने चिज हो भनेर मतदाताले बुझेका छन् ।

– लौरो भनेर काठमाडौंका मेयर बालेनको सेन्टिमेन्ट क्यास गर्न खोजेको हो ?

हामीले लौरो चुनाव चिन्ह बालेनलाई दिएका हौं । लौरो बालेनको हैन । स्थानीय चुनाव हुनुभन्दा पहिले हामीले स्वतन्त्र अभियान चलायौं । स्थानीय निर्वाचनको मिति तोकिनुभन्दा ८ महिना पहिलेदेखि नै अभियान थियो । लौरोले देशभर नै नयाँ तरंग ल्यायो । देशभरका स्वतन्त्रहरुलाई लौरो चुनाव चिह्न दिने कामको हामीले संयोजन गरेका थियौं ।

लौरो देख्नेबितिकै मतदाताहरुले यो त काम गर्ने लौरो हो भनिरहनु भएको छ ।

हर्क, बालेन र पोखराका गणेशलगायतले लौरो चुनाव चिह्न पाएका थिए । हामी नै देशभरका स्वतन्त्र उम्मेदवारलाई लौरो चुनाव चिह्न दिने अभियानमा थियौं । सबै स्वतन्त्र उम्मेदवारहरुको म्यासेन्जर र ह्वाटसप ग्रुपमा नै लौरो चुनाव चिह्न लिने भनेर स्थानीय तहमा नै निर्णय गरेका थियौं । यो देशभर नै सर्कुलर भएको थियो ।

बालेनको त्यो लौरोपछि हो, पहिला लौरो हाम्रो हो । लौरो हाम्रो ब्रान्ड हो र लौरोमा हामी स्वतन्त्रहरुको क्लेम छ । यो लौरो न बालेनको न त हर्कको, हामी सबैको हो ।

तर, बालेन आएपछि लौरोको मार्केटिङ र ब्रान्डिङमा केही फरक परेको हो । लौरो चुनाव चिन्ह सबैको साझा हो र स्वतन्त्रहरुको हो ।

– आजभोलि त स्वतन्त्र भनेको के हो भनेर नै नबुझ्ने अवस्था आयो नि ! स्वतन्त्र पार्टी पनि छ । अनि तपाईंहरु पनि स्वतन्त्र भन्नुहुन्छ, कसरी छुट्याउने ?

हो, यसमा ३ वटा पाटो रहेका छन् । केही पार्टीबाट पनि मत भिन्नता वा भम्र सिर्जना गर्ने काम भए । जस्तैः स्वतन्त्र उम्मेदवारको लहर चल्दै गर्दा र स्थानीय तहको परिणाम आउँदा रवि लामिछानेहरुले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । नाम नै स्वतन्त्र भयो, त्यसपछि हामी निर्वाचन आयोग र अदालत गएर उजुरी हाल्न बाध्य भयौं ।

स्वतन्त्र रुपमा राम्राराम्रा उम्मेदवार आउँदा पार्टीहरुले पनि यसमा खेल्ने मौका पाए । पार्टीले पनि आफ्ना केही कार्यकर्ताहरु स्वतन्त्र भनेर पठाए, स्वतन्त्रको छवि बिगार्ने काम गरे । स्वतन्त्र भनेको पनि यस्तै हो भनेर भ्रम छर्ने काम गरे ।

सबै स्वतन्त्रले एउटै चुनाव चिन्ह पाउन गाह्रो हुने भयो भनेर छलफल चलायौं । हामीले कुनै अमुक पार्टीको सहमति लिएर जाऔं भनेर लौरो चुनाव चिह्न दर्ता गरेर नै गएका हौं । हाम्रो नेपाली पार्टीअन्तर्गतको लौरो चुनाव चिह्न हो । चुनावमा जान र प्रचारप्रसारमा जान सजिलो हुन्छ भनेर हामीले लौरो लिएर आएका हौं । यसमा पार्टीको ह्वीप लाग्दैन ।

– हाम्रो नेपाली पार्टीमा स्वतन्त्रहरु गएर मिले । स्वतन्त्र भनेपछि फेरि पार्टी किन चाहियो ?

काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छ । त्यहाँ संघ र प्रदेशका गरेर ३० जना उम्मेदवार हुने व्यवस्था छ । मन मिल्ने र विचार मिल्ने ३० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा फरक-फरक चुनाव चिह्न पाउने भएकाले नै कुनै एक पार्टीमा जानुपरेको हो । टेक्निकली गाह्रो भएकाले नै हाम्रो नेपाली पार्टीसँग सहमति गरेका हौं । पार्टीको सदस्य नभए पनि चुनाव उठ्न मिल्ने र पार्टीको निर्णय उम्मेदवारहरुमा लागू नहुने सहमति गरेका छौं ।

कानुनी रुपमा हेर्दा हामी पार्टी नै हौं । तर, पार्टी र स्वतन्त्रबीच सहमति भएको छ ।

लौरो हाम्रो ब्रान्ड हो र लौरोमा हामी स्वतन्त्रहरुको क्लेम छ ।

– तपाईंहरुको एजेन्डा के के हुन् । कसरी पूरा गर्नुहुन्छ ?

पार्टीगत एजेन्डा भन्दा पनि व्यक्तिगत एजेन्डा अगाडि सारेका छौं । हारे भने झन् स्वतन्त्र हुन्छन् । जितेपछि पार्टीको फ्रेमवर्कमा नै बस्नुपर्ने हुन्छ । तर, त्यहाँ पनि पार्टीको भन्दा व्यक्तिको नै एजेन्डा छन् ।

हाम्रो अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रगत र पेसागत एजेन्डा रहेको छ । नेपालका अन्तर्राष्ट्रियमा नेपालको ट्रेण्ड र अन्तर्राष्ट्रिय विषयवस्तुहरुका कुरा छन् । राष्ट्रियमा नेपालको समग्र नीति निर्माणका कुरा जोडिएका छन् । क्षेत्रीयमा म जहाँबाट निर्वाचनमा उठिरहेको छु, त्यहीको कुराहरु छन् । पेसागतमा मिडियाका कुराहरु छन् । मिडिया अप्रेसन एन्ड म्यानेजमेन्ट मेरो पेसा हो ।

हामी कुनै पार्टीको जस्तो समाजवाद र अन्य कुराको विचार मान्दैनौं । हामी कुरा भन्दा पनि काम गर्नेछौं । शिक्षा, स्वास्थ्य र रोजगारीलगातका बारेमा हाम्रा कुरा छन् ।

– स्वतन्त्रमा बालेनले जितेपछि केही सडकपेटी र ठेलामा व्यापार गरेकाहरु लखेटिए नि ! अहिले स्वतन्त्र भनेर भोट माग्न जाँदा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मिश्रित प्रतिक्रिया छ । जसको घर भत्काइयो वा सडकपेटीमा व्यापार गर्नेहरुले विकल्प खोज्न बाध्य भए उनीहरुको विरोध छ । उहाँहरुको फरक प्रतिक्रिया छ ।

काठमाडौं महानगरले सडकपेटीमा व्यापार गरेर जीविका चलाइरहेकाहरुलाई हटाउनुभन्दा पनि व्यवस्थापन गर्नु पर्दथ्यो । बागमती वा धोबी खोलाको माथि फलामका सेटहरु राखेर व्यवस्थापन गर्न सकिन्छ भन्ने मेरो कन्सन छ ।

घर अगाडि पसल हटाएका घरधनीले राम्रो भयो भनिरहेका छन् । पसल गरिरहेकाहरुले भने हामीलाई व्यवस्थापन गरिनुपर्ने थियो भनिरहेका छन् । अब मैले विकल्प देखाएर नै भोट मागिरहेको छु ।

हाम्रो लौरोबाट उम्मेदवार भएकाहरु योग्य नै छन् ।

– बालेनलाई काठमाडौंको मेयर उठ्दा हामीले लौरो चुनाव चिह्न दियौं भन्नुभयो । बालेनको समर्थन तपाईंहरुलाई हो ?

बालेनजीको विषयमा कुरा प्रस्ट छ, उहाँ इन्डिपेन्डेन्ट हो भनेर । उहाँले सुरुमा स्वतन्त्र हो भनेर भोट माग्नुभएको थियो । बालेन खुलेर घन्टी, लौरो, तराजु वा कुनै पार्टीलाई खुलेर सहयोग वा समर्थन गर्ने अवस्थामा हुनुहुन्न ।

बालेनको सेन्टिमेन्ट र इमोसन लौरोसँग जोडिएको छ । बालेन भनेको लौरो र लौरो भनेको बालेन भन्ने नै थियो । बालेन मेरो नै पक्षमा हो, त्यसमा कुनै शंका छैन । हामीले हिजो बालेनलाई सहयोग गरेका हौं । बालेन हाम्रो पक्षमा नै हुनुहुन्छ । तर, विभिन्न कारणले खुलेर बालेनले भन्न मिलेको छैन ।

बालेनले चुनाव चित्नुको एउटा फ्याक्टरमध्ये हामी पनि एक हौं ।

– लौरोमा बालेनलाई जिताउन सहयोग गर्नुभयो । उहाँले पनि जित्नुभयो । अहिले कसरी अगाडी बढ्ने भनेर छलफल हुन्छ ?

हामी पटक-पटक अहिले पनि निरन्तर छलफलमा छौं । हाम्रो हरेक कुरामा बहस र अन्तरक्रिया हुन्छ । राजनीतिक विषयमा पनि छलफल भइरहेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ ।

– पूर्वसचिवकी श्रीमती पनि लौरोबाट समानुपातिकमा पर्नु भएको छ । अरु पार्टीभन्दा के फरक भयो र लौरो लिएर उठ्नेहरु ! जो पहुँचमा छ, उसैले समानुपातिकमा स्थान पाउने ?

हामीले विषय विज्ञलाई रोजेका छौं । पूर्वसचिव भीम उपाध्ययाको आफ्नै खालको एउटा ब्रान्ड छ र उहाँ अभियन्ता पनि हो । उहाँको श्रीमती पनि विज्ञ नै हो । उहाँ पुरानो लेक्चरर हुनुहुन्छ । उहाँसँग क्षमता भएर नै समानुपातिकमा राखिएको हो । हाम्रो लौरोबाट उम्मेदवार भएकाहरु योग्य नै छन् ।

भिडिओ/तस्बिर : नविनमुनि स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर