काठमाडौं ४: गगनले सहज जित्लान् कि राजनले खेल उल्टाउलान् ? – Nepal Press
काठमाडौंको चुनावी विश्लेषण सिरिज-२

काठमाडौं ४: गगनले सहज जित्लान् कि राजनले खेल उल्टाउलान् ?

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक हुन् महामन्त्री गगन थापा । उनले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक रुपमा प्रस्तुत गरिसकेका छन् ।

अबको एक दशकमात्रै राजनीति गर्ने बताउँदै आएका थापाले २३ गते उम्मेदवारी दर्ता गरेर फर्कंदै गर्दा ड्राइभिङ सीटमा बसेर मुलुक हाँक्ने इच्छा प्रकट गरे । त्यसो त कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित आधा दर्जन नेताहरु भावी प्रधानमन्त्रीका दावेदार छन् । अनि सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आफूलाई ‘वेटिङ प्राइममिनिस्टर’ कै रुपमा प्रस्तुत गर्छन् ।

खैर, प्रधानमन्त्रीका लागि हुने प्रतिस्पर्धाको लायक हुन पहिले त आफ्नो क्षेत्रबाट चुनाव जित्नुपर्छ । थापाको हकमा कुरा गर्दा उनी काठमाडौं ४ मा एमालेबाट पुरानै प्रतिद्वन्द्वी राजन भट्टराईविरुद्ध मैदानमा छन् । २०७४ को निर्वाचनमा थापाले २१ हजार ५५८ मत ल्याएर विजयी हुँदा वाम गठबन्धनका भट्टराई १८ हजार १४० मत ल्याएर पराजित भएका थिए । विवेकशील साझाकी सुबुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन् ।

अहिले राजनीतिक परिवेशले कोल्टे फेरेको छ । २०७४ सालमा वाम गठबन्धन (एमाले-माओवादी) हुँदासमेत भट्टराईलाई उल्लेख्य मतले जितेका थापा यसपालि झन् सहज जीतको आशा छन् । कांग्रेसले यसपालि अन्य तीन दलसँग गठबन्धन गरेकाले उनी जीतप्रति आश्वस्त हुनु स्वाभाविक पनि हो । थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनका साझा उम्मेदवार हुन् ।

उम्मेदवारी दिएलगत्तै उनले भनेका थिए, ‘यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैं मूल ड्राइभिङ सीटमा बस्ने प्रयत्न गर्ने हो । आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ, त्यो समयले बताउला ।’

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जीत सुनिश्चित गराउन पार्टी कमिटी सक्रिय भएर लागिरहेको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ बताउँछन् । उनी भन्छन्, ‘हामीले सबै क्षेत्रमा समान ढंगले निर्वाचनको तयारी गरिरहेका छौं ।’

पार्टी र गठबन्धनको निर्देशनानुसार आफूहरु चुनावी तयारीमा लागेको उनको भनाइ छ । काठमाडौं ४ का सन्दर्भमा उनी भन्छन्, ‘हामीले व्यक्ति विशेषलाई हेरेर निर्वाचनको तयारी गर्ने होइन । उहाँको चर्चा भइरहन्छ । हामी पार्टी र गठबन्धनका सबै उम्मेदवार जिताउने अभियानमा भएपछि उहाँ (गगन) को पनि जीत निश्चित देखेका छौं ।’

यता, नेता भट्टराई २०७४ को बदला लिने रणनीतिमा जुटेका छन् । उनी पनि पछिल्लो समय आफू जनतामाझ लोकप्रिय बनिरहेको दाबी गर्छन् ।

नेता भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीका कोर टीमका एक सदस्य हुन् । उनी ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार भएका थिए । कांग्रेस महामन्त्री र नेता भट्टराईबीच रोचक प्रतिस्पर्धा हुने वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतबाट आँकलन गर्न सकिन्छ ।

स्थानीय तहकाे चुनावी अंकगणित

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एक्लाएक्लैमा यस क्षेत्रमा कांग्रेसभन्दा एमाले बलियो देखिन्छ । काठमाडौं ४ मा काठमाडौं महानगरका १, ७, ८ र ३० वडा तथा बुढानीलकन्ठ नगरपालिकाका १ र २ का साथै ८ देखि १३ नम्बर वडा पर्छन् । यो क्षेत्रमा कांग्रेसले तीनवटा वडाध्यक्षमात्रै जितेको छ ।

स्थानीय निर्वाचनको वडाध्यक्षको मतलाई हेर्दा एमालेको १६ हजार ५०७, कांग्रेस १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत रहेको छ । कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा थापा अगाडि देखिन्छन् । सत्ता गठबन्धनको १९ हजार २१ मत रहेको छ भने एमाले-जसपाको १६ हजार ८२४ मत रहेको छ ।

यहाँ राप्रपाले ठाकुरमोहन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । अर्जुन प्रसाईंसहित दर्जन बढीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा स्थानीय तहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्र बालेन शाहले बाजी मारेपछि स्वतन्त्र उम्मेदवारहरुले मत काट्नसक्ने आँकलन हुन थालेको छ । गठबन्धनका उम्मेदवार व्यक्तिगत मत तान्ने प्रयासमा छन् भने भट्टराई गठबन्धनमा असन्तुष्ट पक्षको मत तान्ने रणनीतिमा छन् ।

मेरो जीत सुनिश्चित छ : भट्टराई

एमालेका उम्मेदवार भट्टराई यसपटक आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । उनले भने, ‘हामी मतदाताकहाँ विभिन्न ढंगबाट गइरहेका छौं । व्यक्तिगत र सामूहिक हिसाबले पनि काम भइरहेका छन् । जनप्रतिनिधि भएर जनताको सेवा गर्ने काम प्रमुख हुन्छ ।’

उनले आफूहरु पार्टीको नीति कार्यक्रमका आधारमा अघि बढ्ने प्रस्ट पारे । एमालेले जनतालाई नै प्राथमिकता दिएर काम गरिरहेको भट्टराईको भनाइ छ ।

उनले थपे, ‘संगठनात्मक र मत परिणामका हिसाबमा पनि हामी सुदृढ छौं । स्थानीय तहको निर्वाचन, हामीले गरेका काम र हिजो हामीलाई मत नदिएका साथीहरु भेट्दा पनि सकारात्मक सन्देश पाएका छौं । एमालेले १५ वर्षसम्म नजित्दा यो क्षेत्रको हविगत जनताले देखेका छन् ।’

यो पनि पढ्नुस् :  काठमाडौं-१ को पेचिलो प्रतिस्पर्धाः मिश्रले उल्टाउलान् ०७४ को नतिजा ?


प्रतिक्रिया

One thought on “काठमाडौं ४: गगनले सहज जित्लान् कि राजनले खेल उल्टाउलान् ?

  1. सवाल अमेरिकी हस्तक्षेप निम्त्याउने कि स्वाभिमानी भएर बाँच्ने भन्ने हो ।निर्णय त्यस क्षेत्रका जनताको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर