अरुण किनार संखुवासभामा पूर्वमन्त्रीको अँध्यारो गाउँ – Nepal Press

अरुण किनार संखुवासभामा पूर्वमन्त्रीको अँध्यारो गाउँ

इटहरी । संखुवासभाको अरुण किनार तरेर सेदुवा गाउँमा रातको समयमा उभिँदा वरिपरिका गाउँ र बजारहरु झिलिमिली देखिन्छन् । अरुण वारिको गढी बजार बिजुलीले झलमल देखिन्छ । अरुण पारिको नुम बजार झन झिलिमिली देखिन्छ । अरुण तेस्रो परियोजना बनिरहेको क्षेत्रमै रहेको मकालु आधार शिविर पुग्ने बाटोको अन्तिम गाउँ टासीगाउँ पनि रातमा पेल्ट्रिकसेटको विद्युतले उज्यालै हुन्छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जको प्रवेशद्वार र मकालु आधार शिविर तथा शिवधारा धामको प्रमुख गेटवे बजार सेदुवा अँध्यारो हुन्छ । यो कुनै आम गाउँ नभएर पूर्वसंघीय मन्त्री तारामान गुरुङको गाउँ हो । गुरुङ अहिले पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । मंसिर ४ हुने निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिक सूचीमा उनको नाम पनि छ । शक्तिशाली नेता गुरुङको राजनीतिक उज्यालो हुँदा गाउँ भने अन्धकारमै छ ।

स्थानीयको बलबुतामा जोडिएका केही सोलार प्यानलबाहेक गाउँमा ऊर्जाको बलियो स्रोत छैन । सेदुवाको मकालु सामुदायिक होमस्टे नम्बर ६ का सञ्चालक रामबहादुर पराजुली बिजुली नआएर हैरान भएको गुनासो गर्छन् । ‘सामान्य पानी पर्‍यो अथवा आकाश धुम्मियो भने सोलारले काम गर्न छोड्छ पर्यटकहरुलाई मोबाइल चार्ज गर्नसमेत दुःख छ’, पराजुली भन्छन्, ‘इन्टरनेट छिटोछरितोको कुरा झनै सम्भावना छैन ।’

अर्का स्थानीय गणेश गुरुङले सेदुवामा सडक र सञ्चार दुवै नआएर आफूहरु आजित भएको दुःखेसो पोखे । ‘तारामान ठूला नेता त हुनु भयो, हेलीमै पनि हिँड्नुभयो’, गुरुङ भन्छन्, ‘अरुण पुल हालेर नुमबाट गाउँमा न सडक ल्याउन सक्नुभयो न त अन्धकार गाउँमा उज्यालो दिनुभयो ?’

मकालु गाउँपालिका वडा नम्बर २ का पूर्वमन्त्री तारामान गुरुङको गाउँमा मात्रै हैन सोही वडाको सिक्तेमकी हीरामाया राई गाउँमा बत्ती बाल्न नपाएर समस्या भएको सुनाउँछिन् । ‘बैशाखमै बत्ती बल्छ भन्यो, हामीलाई मूल पोल र घरमा ल्याउने शाखा पोल धेरै बोक्न लायो’, नेपाल प्रेससँग सिक्तेमस्थित घरमै हीरामायाले भनिन्, ‘अहिले त बत्ती पनि आएन । नेता पनि आएनन् ।’

पैसावालाहरुले महँगो सोलार जोड्ने गरेपनि आफूले त्यो नसक्ने उनले बताइन् । ‘राम्रो सोलार एक लाख माथि पर्छ’, उनी भन्छिन्, ‘एक लाख कहाँबाट ल्याउनू ? बत्ती आएको भए बिल तिर्न सकिन्थ्यो ।’

वडा नम्बर २ को स्कुल डाँडाका एण्डी शेर्पाले गाउँमा बिजुलीसमेत ल्याउन नसकेर पूर्वमन्त्री गुरुङ र वडाका ठूला नेताहरुले लाचारी देखाएको गुनासो गरे । वडा नम्बर २ मा तारामान गुरुङसहित २०६४ कै सांसद पासाङ डुक्पा शेर्पा, देउमान राई, पूर्णबहादुर राईलगायत छन् । देउमान कांग्रेसका क्षेत्रीय सभापति हुन् भने पूर्णबहादुर राई २०७४ को चुनावमा एमाले–माओवादीको वाम गठबन्धनबाट जितेका माओवादीका प्रदेश सांसद भएका वडाकै नेता हुन् ।

एन्डी शेर्पा स्कुल डाँडाका हुन् । उनले आफैं पोल बोक्न नसक्दा सात हजार रुपैयाँ दिनुपरेको थियो । ‘हामीले सित्तैमा बिजुली बाल्ने त हैन, पैसा तिरेरै बाल्ने हो’, एण्डी भन्छन्, ‘तैपनि सबैले भनेपछि खर्च गरियो । अहिले ठाउँ-ठाउँमा पोल र तार छन् । कतै पोल लडेका छन् । बिजुली चै छैन ।’

वडा नम्बर २ का युवा दावा छिरिङ शेर्पा वडाका ठूला नेताहरु र स्थानीय जनप्रतिनिधिले बलियो काम गर्न नसक्दा गाउँ अँध्यारो भएको सुनाउँछन् । ‘सेदुवामा अहिले मकालु वरुण राष्ट्रिय निकुञ्जको मुख्यालय सरेर गढी गएको छ, सेदुवामा इन्ट्री प्वाइन्टमात्रै बाँकी छ’, दावा भन्छन्, ‘यस अगाडिका स्थानीय सरकारमा हुनेहरुले काम नगरेर गाउँ अँध्यारो भइरहेको छ । प्रदेश र संघमा धर्ना दिएर भए पनि बत्ती बाल्न सक्नुपर्थ्यो । उनीहरुले सकेनन् ।’

सेदुवाकै युवा गणेश गुरुङ सोलार प्राविधिक हुन् । उनलाई गाउँमा राष्ट्रिय प्रशारण लाइन नआउँदै व्यापारिक फाइदा हुन्छ । तर, उनी आफ्नो हैन गाउँको फाइदाको पक्षमा छन् । ‘सेदुवामा बिजुली आउँदा यहाँका तारामान गुरुङलाई फाइदा छ । तर, उहाँ बिजुली ल्याउनुहुन्न’, गणेश ठट्टा गर्दै भन्छन्, ‘मलाई बिजुली आउँदा घाटा छ । तर, म बिजुली ल्याउने पक्षमा छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर