राख्नु परेन निधार खाली – Nepal Press

राख्नु परेन निधार खाली

बाजुरा । दिदीबहिनीको हातबाट भाइटीका लगाउन नपाएका दाजुभाइले निधार रित्तो राख्नु परेन । बुढीगङ्गा गाउँपालिका–३ को बाँसबारीमा रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले खाली निधारका कारण हुन सक्ने नैराश्यतालाई न्यून गर्न भाइटीकाको अवसरमा बिहीबार त्यहाँ पुग्ने जोकोहीलाई भाइटीका लगाइदिने व्यवस्था मिलाएको थियो । दिदीबहिनी र दाजुभाइ नहुनेले पनि निधारमा भाइटीका थाप्न पाएका थिए ।

पुरूष मात्र नभई उल्लेख्य सङ्ख्यामा महिला पनि टीका थाप्न उप–सेवा केन्द्र पुगेका थिए । उप–सेवा केन्द्रकी सञ्चालक ब्रह्मकुमारी सत्यभामा, जुनु र रेणु दिदीले टीका थाप्न आउनेलाई सप्तरङ्गी टीका र सयपत्रीको माला लगाइ दिएकी थिइन्।

सत्यभामा दिदीको हातबाट टीका र माला ग्रहण गर्दा कतिपय भावुक बनेका थिए । बुढीगङ्गा–१ बस्ने पर्शुराम कार्कीले आफ्नो दिदी बहिनी नहुँदा उपसेवा केन्द्रमा ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका थाप्न वर्षमा एकपटक आउने गरेको बताए । उनले विगत १० वर्षदेखि टीका थाप्न आउने गरेको र दिदी बहिनी नभएकै कारणले भने निधार रित्तो राख्नु नपरेको बताए।

कार्कीले आफ्नो दिदीबहिनी नहुँदा पनि आफन्त झैँ गरेर उप–सेवा केन्द्रका दिदीको हातबाट भाइटीका लगाउन पाउँदा हर्षले विभोर हुने गरेको र नारीप्रतिको सम्मान अझै प्रगाढ बन्ने गरेको बताए।

ग्रामथान–२ झोराहाटका प्रशान्त राजवंशीले आफू विगत तीन वर्षदेखि ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका ग्रहण गर्दै आएको बताए। उनले भाइटीकामा टीका लगाइदिने दिदी बहिनी नहुँदा आफू निराश बन्ने गरेको बताए । राजवंशीले ब्रह्मकुमार दिदीले भाइटीकाको दिन टीका लगाइदिने गरेको सुनेपछि टीका लगाउन यहाँ आउने गरेको बताए ।

बुढीगङ्गा–३ बाँसबारी बस्ने अन्जना ओझाले आपूm महिला भए पनि ब्रम्हाकुमारी दिदीप्रतिको श्रद्धाका कारण भाइटीकामा पनि सप्तरङ्गी टीका लगाइ माग्न आउने गरेको बताइन् । उनले भाइटीका खुशी, उमङ्ग र सौहर्दताको उत्सव भएकोले बीनाकुनै भेदभाव उप–सेवा केन्द्रका दिदीले टीका लगाइदिने गरेको बताइन्।

ब्रह्मकुमारी दिदी सत्यभामाले भाइटीकालाई कुनै एक जाति र धर्म विशेषसम्ममा सीमित राख्न नहुने बताइन् । उनले दिदीबहिनी वा दाजुभाइ भएका वा नभएका जोकोहिलाई पनि आफूले भाइटीका लगाइदिने गरेको बताइन् ।

दिदी सत्यभामाले आध्यात्मिक नाताले दाजुभाइ र जोकोही आउनेलाई टीका र माला लगाएर उनीहरूको मनोकांक्षा पूरा होस् र जीवनमा सफलता प्राप्त गर्नुहोस् भनेर कामना गर्ने बताउनुभयो । वर्षदिनको अन्तरालमा सङ्घर्ष गरेर जीवनलाई अगाडि बढाउँदै गएका दाजुभाइ र दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाएर र माला पहिराएर विजयीको कामना गर्ने गरेको ब्रह्मकुमारी दिदी सत्याभामाले बताइन् ।

उनले उप–सेवा केन्द्र परमात्माको दरबार भएकोले कसैलाई पनि यहाँ आउनबाट बन्देज नलगाइएको बताइन् । दिदी सत्यभामाले भाइटीकाको दिन टीका र माला थाप्न हिन्दूमात्र नभइ अन्य धर्मावलम्बी, समूदायका महिला र पुरूष आउने गरेको बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *