रुपन्देही २ का उम्मेदवार भुसाललाई सर्वोच्चले दिएन अन्तरिम आदेश – Nepal Press

रुपन्देही २ का उम्मेदवार भुसाललाई सर्वोच्चले दिएन अन्तरिम आदेश

रुपन्देही । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च गएका रुपन्देही २ मा प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएर उम्मेदवारी दर्ता गराएका डा. कमल भुसाल निकोलसको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएपनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले र विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

अन्तरिम आदेश नदिएसंगै भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उनले कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न नपाउने निर्वाचन कानुनले भनेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसालले संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेका थिए ।

उनले आफू स्वतन्त्र भनेपनि अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएका छन् । भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन् । उनले बिदामा बस्नका लागि निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको संस्थानले प्रष्ट पारेको छ ।

नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । तर उनका समर्थकहरुले भुसालमाथि अन्याय भएको भन्दै आयोगको विरोध गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर