निर्वाचन आयोग भन्छ- प्रदेश सभा क र ख कानूनले चिन्दैन,क्षेत्र नम्बर १ र २ भनेर भोट माग्नू – Nepal Press

निर्वाचन आयोग भन्छ- प्रदेश सभा क र ख कानूनले चिन्दैन,क्षेत्र नम्बर १ र २ भनेर भोट माग्नू

काठमाडौं । प्रतिनिधिसभाका उम्मेदवार चिनाउन सजिलो छ । फलानो जिल्लाको यति नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार । अथवा एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा त उदाहरणका लागि सोलुखुम्बु जिल्लाका उम्मेदवार ।

तर प्रदेश सभा निर्वाचन क्षेत्रका उम्मेदवार चिनाउन क निर्वाचन क्षेत्र र ख निर्वाचन क्षेत्र भनेर दल तथा उम्मेदवारले चिनाए पनि कानूनी रुपमा क र निर्वाचन क्षेत्रको अस्तित्व नै छैन ।

बिभिन्न राजनीतिक दल र मतदाताले प्रदेशसभाका निर्वाचन क्षेत्रलाई ‘क’ र ‘ख’ भनेर सम्बोधन गरिरहेका बेला निर्वाचन आयोगले भने ‘क’ र ‘ख’ नभएर १ र २ निर्वाचन क्षेत्र रहेको स्पष्ट पारेको छ ।

अधिकांश राजनीतिक दल र मतदाताले प्रदेशसभा निर्वाचन क्षेत्रलाई ‘क’ र ‘ख’ तथा निर्वाचन आयोगले आफ्ना अधिकांश प्रमाणमा १ र २ उल्लेख गरिरहेका बेला नेपाल प्रेसले सोधेको प्रश्नमा आयोगले १ र २ भएको स्पष्ट पारेको हो । प्रदेश सभा क र ख आफूखसी प्रयोग गरिए पनि त्यसको कानूनी वैधता नभएको आयोगले जनाएको छ ।

नेपाल प्रेसले सोधेको प्रश्नमा निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले भने, ‘तपाइले निर्वाचन आयोगका सबै डकुमेन्ट हेर्नुभएको होला । नहेरेको भए पनि हेर्नुहोला । निर्वाचन आयोगले सुरुदेखि नै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ र २ उल्लेख गरिरहेको छ । त्यसैले निर्वाचन क्षेत्र नम्बर १ र २ हो, ‘क’ र ‘ख’ होइन । यदि कोहि कसैले भनिरहेका छन् भने पनि त्यो गलत हो ।’

आयोगका प्रवक्ता पौडेलले निर्वाचन आयोगका सबै दस्तावेजदेखि मतपत्रमासमेत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ र २ उल्लेख भएको स्पष्ट पारे । उदाहरणका लागि काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ र २ भन्नुपर्छ क र ख होइन । लेख्दा पनि उदाहरणका लागि काठमाडौं क्षेत्र नम्बर २ ९१०,काठमाडौं क्षेत्र नम्बर २ ९२० वा काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ र २ भन्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधि सभाा सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि गठित निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ ले नै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ र २ भनेर प्रतिवेदनमा उल्लेख गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्दै निर्वाचन आयोगले पनि प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ र २ उल्लेख गर्दै आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर