प्रतिनिधिसभा चुनावका बलिया बागी- जसले नतिजा उलटफेर पार्न सक्छन् – Nepal Press
आमचुनाव-७९

प्रतिनिधिसभा चुनावका बलिया बागी- जसले नतिजा उलटफेर पार्न सक्छन्

काठमाडौं । हरेक निर्वाचनमा कोही न कोही यस्ता पात्र देखिन्छन् जसले आफू संलग्न दलको निर्णयविरुद्ध जनतामाझ गएर चुनावी नतिजालाई नै प्रभावित पारिदिन्छन् । यस्ता उम्मेदवारहरूलाई ‘बागी’ भनेर चिनिन्छ ।

विगतमा गठबन्धनको खास्सै अभ्यास नरहेका बेला आफ्नै दलभित्रको अर्को उम्मेदवारलाई पार्टीले टिकट दिँदा चित्त नबुझेर बागी उम्मेदवारहरू उठ्थे । आफ्नै दलभित्र कम असन्तुष्टि हुने र भएपनि पार्टीभित्रै व्यवस्थापन हुने भएकाले यस्ता बागी उम्मेदवार कम हुन्थे ।

यसपटक भने जताततै बागी नै बागी उम्मेदवार देखिएका छन् । दलहरूले गठबन्धन गरेर चुनावमा जाने अभ्यास स्थापित गर्नथालेसँगै बागी उम्मेदवारको मात्रा ह्वात्तै बढेको छ । स्थानीय चुनावमा केही बागीले चुनाव नै जितेपछि यो अभ्यास अझ बढेको छ ।

त्यसमा पनि दुई दलमा मात्र गठबन्धन सीमित नभई पाँच/छ दलसम्मको गठबन्धन गर्नथालेपछि कार्यकर्ता व्यवस्थापन दलहरूका लागि नै चुनौती बनेको छ । जसको नतिजा निर्वाचनमा बागी उम्मेदवारहरूको संख्यामा बढोत्तरी देखिएको छ ।

यस्ता बागीहरू विगतभन्दा बलिया पनि देखिएका छन् । विगतमा आफ्नै दलभित्रको अर्को नेताकाविरुद्ध बागी उठ्दा कार्यकर्ता पंक्तिको सहयोग पाउने सम्भावना पनि कम हुन्थ्यो । यसकारण बागीको उम्मेदवारी पनि कमजोर हुन्थ्यो ।

तर, यसपटकका बागीहरू आफ्नै दलको उम्मेदवारभन्दा गठबन्धनका अन्य दलका उम्मेदवारविरुद्ध बढी छन् । यसैले उनीहरूको अवस्था बलियो देखिन थालेको छ । पार्टीकै ठूलो पंक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उनीहरूलाई साथ दिइरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा यसपटक देखिएका यस्ता केही बागी उम्मेदवारहरूको बारेमा हामीले यहाँ चर्चा गरेका छौं । जसले चुनावी नतिजालाई उलटफेर त गर्ने देखिन्छन् नै साथै आफैँ पनि जितेर संसद भवन छिर्नसक्ने ताकत प्रदर्शन गरिरहेका छन् ।

मनोज मेन्याङ्बोः एमालेले आफ्नै पूर्वनेतालाई छाड्दा विद्रोह

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई कुनै समय नेकपा एमालेका शक्तिशाली जनजाति नेता थिए । पार्टीको आठौं महाधिवेशनमा सर्वाधिक मतसहित उपाध्यक्ष जितेका उनले त्यसको केही समयपछि जातीय पहिचानको मुद्दा उठाउँदै संघीय समाजवादी पार्टी नामको नयाँ पार्टी खोलेर एमालेबाट बाहिरिए ।

त्यसको केही समयमा उनले उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरमसँग एकीकरण गरेर संघीय समाजवादी फोरम बनाउन भूमिका खेलेका थिए । त्यसयता उनी यादवकै पार्टीमा आबद्ध छन् ।

एमालेले यसपटक सुनसरी क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका पूर्वनेता राईलाई सघाउने निर्णय गरेको छ । जसपासँग गठबन्धनको सहमतिपछि एमालेले यो क्षेत्र राईका लागि छाडेको हो ।

यो क्षेत्रमा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनको सहयोगमा उम्मेदवार बनेका एमाले नेता जयकुमार राईले ४४ हजार ५२८ मतसहित जित निकालेका थिए । उतिबेला कांग्रेसको सहयोगमा लडेका राईले २२ हजार १२३ मतमात्रै पाएका थिए । जुन एमाले उम्मेदवार राईको आधाभन्दा कम मत हो ।

यसरी आफैँ जित्दै आएको क्षेत्र राईका लागि एमालेले छाडेपछि पार्टीभित्र ठूलै विद्रोह देखिएको छ । जसको नेतृत्व मनोज मेन्याङ्बोले गरेका छन् । उनी अहिले यो क्षेत्रमा शक्तिशाली बागीका रूपमा देखा परेका छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट पनि यसक्षेत्रमा बलियो रहेको नेपाली कांग्रेसले उम्मेदवार पाएको छैन । यहाँ माओवादी केन्द्रका तर्फबाट मुक्सामहाङ सुब्बा उम्मेदवार छन् । यो क्षेत्रमा एमाले एक्लै लड्दा पनि गठबन्धनलाई पराजित गर्ने मत बोकेको पार्टीमा हो ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको नतिजाअनुसार वडाध्यक्ष मतमा यहाँ एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादी केन्द्रको ७ हजार १८ र राप्रपाको ४ हजार ७४ मत छ । जसपाको मत निकै नगण्य छ ।

यस्तोमा एमालेका बागी उम्मेदवार मेन्याङ्बो बलियो देखिएका छन् । उनी २०५४ मा तत्कालीन धरान नगरपालिकाका मेयर भइसकेका व्यक्ति पनि भएकाले एमालेको झण्डै ९० प्रतिशत मत तान्नसक्ने देखिएको छ । त्यसमा सत्ता गठबन्धनबाट कमजोर माओवादी केन्द्रलाई सीट छाडेको रोषमा कांग्रेसबाट पनि मत आउने सम्भावना रहेकाले उनी जित्नसक्ने बागीका रूपमा देखिएको चर्चा हुने गरेको छ ।

हेमराज भण्डारीः कांग्रेसलाई सीट छाड्दा माओवादी केन्द्रबाट विद्रोह

सत्तारूढ गठबन्धनको सीट बाँडफाँटमा पूर्वमन्त्री एवं कांग्रेस नेता सुनिल थापाका लागि माओवादी केन्द्रले धनकुटा छाडेको थियो । त्यसविरुद्ध माओवादी केन्द्रभित्र धनकुटामा ठूलै विद्रोह भएको छ । जसको नेतृत्व पोलिटब्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) ले गरेका छन् । उनी पार्टी निर्णयविरुद्ध बागी उठेका छन् ।

धनकुटा थापाका लागि छाडेपछि माओवादी केन्द्रका अधिकांश जिल्लास्तरीय नेताले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको जिल्ला समन्वय समितिको बैठकबाटै यस्तो निर्णय गरिएको छ । बागी उम्मेदवार भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

भण्डारीको विद्रोहले उनको जित त सम्भव देखिन्न । तर, सत्ता गठबन्धनका साझा उम्मेदवार थापाका लागि भने खतराको संकेत बनेको छ । जसलाई स्थानीय तह निर्वाचनको समीकरणले पनि देखाएको छ ।

स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतमा एमाले ३६ हजार ३३६, कांग्रेस २८ हजार १८२, माओवादी केन्द्र ५ हजार ४५८, जसपा २ हजार २९३, एस १ हजार ७२८, राप्रपा ३०४ मत छ । यस्तोमा माओवादी केन्द्रको आधामात्रै मत भण्डारीले काटिदिए पनि थापाका लागि निकै असहज चुनाव बन्ने देखिन्छ ।

यहाँ एमालेबाट निवर्तमान सांसद राजेन्द्रकुमार राई नै उम्मेदवार बनेका छन् र उनी सबैभन्दा बलिया उम्मेदवार हुन् ।

योगी मण्डलः मोरङ-५ का पपुलर एमाले कार्यकर्ता

एमालेले गठबन्धनका नाममा यो क्षेत्र लगातार दुईपटक छाडेपछि यहाँका कार्यकर्ता भड्किएका छन् । गएको निर्वाचनमा वामगठबन्धन हुँदा एमालेले यो क्षेत्र माओवादी केन्द्रका शिवकुमार मण्डल (केवट) का लागि छाडेको थियो । यसपटक जसपाका राजकुमार यादवका लागि छाडेको छ । यही कारण यहाँ अहिले एमालेबाटै योगेन्द्र मण्डलले विद्रोह गरेका छन् । उनी यो क्षेत्रमा लोकप्रिय सामाजिक कार्यकर्ता पनि हुन् । उनको सहयोगमा एमालेका तमाम नेताकार्यकर्ता जुटेका छन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका निवर्तमान सांसद मण्डललाई फेरि उम्मेदवार बनाएको छ । जसमा कांग्रेसवृत्तमा पनि असन्तुष्टि देखिन्छ ।

स्थानीय तहको मत परिणाम अनुसार वडाध्यक्ष मतमा यसक्षेत्रमा कांग्रेस १९ हजार ४९८, एमाले १५ हजार ६८०, जसपा १३ हजार २४९, माओवादी केन्द्र ११ हजार ६२८, राप्रपा १ हजार ८८७, लोसपा ७५२ र एस ६०८ मत छ ।

एमालेका बागी मण्डलको उम्मेदवारीले यो क्षेत्रको निर्वाचन नतिजा उलटफेर हुने सम्भावना देखिन्छ ।

अजयकुमार द्विवेदीः दलबदल सोच्दासोच्दै बागी उम्मेदवारी

पर्सा कांग्रेसका प्रभावशाली नेता द्विवेदी २०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी थिए । त्यतिबेला उनी तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगीसँग पराजित भएका थिए ।

यसपटक उनी पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए । जसपा सत्ता गठबन्धनमै रहँदा यहाँ वन तथा वातावरणमन्त्री प्रदीप यादव लड्ने पक्कापक्की थियो । यही कारण दबाब बढाउन उनले कांग्रेसबाट टिकट नपाए एमालेमा गएर पनि चुनाव लड्ने बताइरहेका थिए । केही नभए स्वतन्त्रमा भएपनि चुनाव लड्ने बताइरहेका थिए ।

तर, यहाँ भयो उनको चाहनाभन्दा ठ्याक्कै उल्टो । जसपा अन्ततः एमालेसँगको गठबन्धनमा गयो । त्यसपछि एमाले-जसपा गठबन्धनबाट मन्त्री यादव नै उम्मेदवार भए । उता सत्ता गठबन्धनले लोसपाका नेता लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनायो । कर्ण अघिल्लो पटक पर्सा-४ बाट जितेका थिए, यसपटक १ मा सरे ।

यसरी पार्टीटिकटबाट वञ्चित भएका द्विवेदीले अन्ततः स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको बागी उम्मेदवारीले यहाँ सत्ता गठबन्धन कमजोर पर्नसक्ने देखिएको छ ।

यद्यपि गएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतमा पनि एमाले-जसपा गठबन्धन बलियो नै देखिन्छ । यहाँ जसपाको १५ हजार ७०६, एमालेको १३ मा हजार ३३५, कांग्रेस १२ हजार ९०२, माओवादी केन्द्रको ३ हजार ७४६, लोसपाको २ हजाुर ८६, नेकपा एसको १ हजार ६०३ र राप्रपा ५७७ मत छ ।

प्रभु साहः एमालेमा संगठित विद्रोह

एमालेमा माओवादी केन्द्रबाट आएका नेता हुन् -प्रभु साह । उनी स्थायी कमिटी सदस्य हुन् । मधेसमा जसपासँग तालमेल गर्ननहुने पक्षमा रहेका उनी तालमेल भएसँगै असन्तुष्ट बनेका छन् । जसपासँग तालमेल गर्दा आफूपक्षीय नेताहरूको व्यवस्थापनमा समस्या भएको भन्दै उनले विद्रोह गरेका छन् ।

यद्यपि एमालेले उनलाई उनकै क्षेत्र रौतहट-३ को टिकट दिएको थियो । तर, उनले पार्टीटिकट लत्याउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसबाहेक मधेस प्रदेशका २५ प्रतिनिधिसभा तथा प्रदेशसभा सीटमा उनीपक्षीय नेताले एमाले-जसपा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर संगठित विद्रोह गरेका छन् । जसमा ८ प्रतिनिधिसभा र १७ प्रतिनिधिसभा सीट छन् । ती सीटहरूमा साहपक्षीय नेताको प्रभावले नतिजामा उलटफेर हुनसक्ने देखिएको छ ।

रामवीर मानन्धरः स्थानीय चुनावदेखि नै बागी

काठमाडौं-७ का निवर्तमान सांसद रामवीर मानन्धरले एमालेले पुनः टिकट नदिँदा विद्रोह गरेका छन् । अहिले एमालेले श्यामकुमार घिमिरेलाई यसक्षेत्रमा उम्मेदवार उठाएको छ । एमाले समर्थक नेवारी मत आफूले तान्ने दाबीसहित उनी मैदानमा छन् ।

त्यसो त रामवीर अहिले औपचारिक बागी भए पनि उनले एमाले हराउन स्थानीय चुनावदेखि नै भूमिका खेलका थिए । महानगरपालिकाको मेयरमा केशव स्थापित हराउन उनले खुलेआम सिर्जना सिंहलाई मत मागेका थिए भने सोही क्षेत्रमा पर्ने नागार्जुन नगरपालिकामा एमाले उम्मेदवार हराउन कांग्रेसलाई मत मागेको आरोप थियो । त्यसैले उनी एमालेबाट टिकट सिफारिसमै परेनन् ।

यसक्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराई उम्मेदवार बनेकी छन् । माओवादी केन्द्रको चुनाव चिन्हमा उनी लडेकी छन् । यसैक्षेत्रमा जसपाबाट पूर्वमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि उम्मेदवार छन् ।

गएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतमा यहाँ कांग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, नेकपा एसको ३ हजार ८३९, राप्रपाको २ हजार २७, माओवादी केन्द्रको ५७६ र जसपा १६२ मत छ ।

दिनेश कोइरालाः एमालेको समर्थन पाएका भाग्यमानी बागी

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनुका लागि छापामार शैलीमा उम्मेदवारी खोसिएका पात्र हुन- दिनेश कोइराला । त्यसपछि भएको प्रदेशसभा निर्वाचनमा भने चितवन-३ (क) बाट प्रदेशसभाको टिकट भने पाएका थिए । तर, त्यसमा एमालेका कृष्णप्रसाद भुर्तेलसँग झिनो मतान्तरले पराजय भोगे । पार्टीको १४ औं महाधिवेशनमा उनी पार्टीको केन्द्रीय सदस्य नै निर्वाचन भए ।

गएको स्थानीय तह निर्वाचनमा उनी मेयरको टिकट चाहन्थे । फेरि गठबन्धनबाट रेनुले हत्याइन् । पछिल्लो समय चितवन-३ मा प्रचण्ड नलड्ने भए कांग्रेसले पाउनुपर्ने अडानमा थिए । प्रचण्ड गोरखा जाँदा पनि माओवादी केन्द्रलाई नै गठबन्धनको टिकट दिएपछि उनी बागी उठेका छन् । माओवादी केन्द्रले यहाँ फिजिसियन डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

उसैपनि लगातार गठबन्धनको विपक्षमा हुँदाहुँदै माथिबाटै टिकट लाद्ने र त्यो मान्नुपर्ने समस्या भोगेका यहाँका कांग्रेसजनमा ठूलो विद्रोहको मनस्थिति छ । यसकारण यसक्षेत्रमा कोइरालाको उम्मेदवारी निकै बलियो बन्दै गएको छ ।

स्थानीय निर्वाचनको नतिजा अनुसार यहाँ एमालेको २९ हजार ७७१, कांग्रेसको २९ हजार ३४३, माओवादी केन्द्रको १० हजार ९४०, राप्रपाको ६ हजार १९८, नेकपा एसको ५ हजार ३७ मत छ ।

कोइरालाको विद्रोहमा सबैभन्दा बढी मत रहेको एमालेले समर्थन गरिदिएको छ । यसले कोइराला झन् बलियो बनेका छन् । उता राप्रपाबाट पूर्वमन्त्री विक्रम पाण्डे पनि उम्मेदवार छन् ।

महादेव गुरुङः कास्की कांग्रेसका बलिया नेता

सत्ता गठबन्धन दलको भागबण्डामा कास्कीका तीन क्षेत्र तीन दलले बाँडेका छन् । जसमध्ये कास्की-२ नेकपा एसले पाएको छ । जसबाट श्रीनाथ बराल उम्मेदवार बनेका छन् ।

आफ्नो क्षेत्र एसलाई दिएपछि पूर्वमन्त्री एवं गुरुङले बागी उम्मेदवारी दिएका छन् । उनी जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पनि हुन् । पूर्वमन्त्री, जिविस सभापति भइसकेका नेताले नै बागी उम्मेदवार दिएपछि कास्की-२ को चुनावी माहोल तरंगित छ ।

स्थानीय तहको नतिजाअनुसार यसक्षेत्रमा एमालेको २१ हजार १६४, कांग्रेसको १९ हजार ८, राप्रपाको २ हजार ७९, एसको २ हजार ५३, माओवादी केन्द्रको १ हजार १९८ मत छ । यस्तो समीकरणमा २ हजार मत भएको एसलाई टिकट दिँदा रुष्ट हुने कांग्रेस कार्यकर्ताले भोट नदिए सत्ता गठबन्धनको विपक्षमा निर्वाचन जानसक्ने खतरा पैदा भएको छ ।

यहाँ एमालेबाट निवर्तमान सांसद विद्या भट्टराई उम्मेदवार बनेकी छन् ।

घनश्याम भुसालः एमालेका बागी, गठबन्धनको साथ

एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा विभाजनको विपक्षमा रहेर पुनः एकीकरण गर्नुपर्ने अभियानमा लागेका भुसालले यसटक एमालेको टिकट पाएनन् । अघिल्लो निर्वाचन रूपन्देही-३ बाट लड्दै आएका थिए । यसपटक उक्त निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका नेता दीपक बोहरालाई सघाएको छ । यसरी आफूलाई टिकटबाट वञ्चित गरेपछि भुसालले एमाले परित्याग गरेर रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जहाँ उनको घर पनि छ ।

यसरी उम्मेदवारी दिएपछि सत्ता गठबन्धनले उनलाई सघाउने निर्णय गरेको छ । उनले पार्टी छाडेपछि उनका समर्थकहरू पनि धमाधम पार्टी परित्याग गरेर भुसालका पक्षमा लागिरहेका छन् ।

स्थानीय निर्वाचनको नतिजा अनुसार यो क्षेत्रमा कांग्रेस ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादी केन्द्रको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत देखिन्छ ।

यसक्षेत्रमा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । भुसालले विद्रोह गरेकाले यहाँको नतिजा उलटफेर हुनसक्ने देखिन्छ । तर भुसालले एमालेबाट जति भोट काट्छन् त्यो भन्दा बढी राप्रपा र जसपाबाट थपिँदा नतिजा यसै भन्न सकिन्न ।

पुष्करनाथ ओझाः ‘स्वतन्त्र सहर’ मा कांग्रेसका हेबिवेट बागी

२०७० को संविधानसभा निर्वाचनमा तत्कालीन कैलाली-६ र डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जितेका थिए । त्यसपछि कैलाली-६ छाडे । उपनिर्वाचनमा पूर्वराज्यमन्त्री ओझा चुनाव जिते ।

कैलाली-६ को सम्पूर्ण भूभाग २०७४ यता कैलाली-५ मा गाभिएको छ । २०७४ मा पधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवा कैलाली-५ मा कांग्रेसका तर्फबाट टिकट ल्याएर आइन् । ओझा असन्तुष्ट बने र प्रचारमा निस्किएनन् ।

आरजु चुनाव हारिन्, एमाले उम्मेदवार नारदमुनी रानाले जिते । ओझालाई अन्तर्घातको आरोप लाग्यो । पार्टी अनुशासनको कारबाही परे । त्यसयता उनी कारबाही भोगिरहेका छन् ।

फेरि यसपटक चुनाव आयो । ओझाले प्रधानमन्त्री देउवाबाहेक अरुलाई नछाड्ने भन्दै कारबाही भोगिरहेकै अवस्थामा कांग्रेसको टिकट मागे । आरजु पनि ओझाकै कारण हार्ने डरले समानुपातिकमा बसिन् । कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनायो । ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसपटक कैलाली-५ को परिवेश झन् भिन्न छ । गएको स्थानीय तह निर्वाचनमा यही निर्वाचन क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनको साहारा हुँदाहुँदै कांग्रेसका निवर्तमान मेयर नृप वड नराम्ररी हारेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले जितेका छन् ।

वडाध्यक्षमा कांग्रेसले ठूलै मत बटुल्दा-बटुल्दै मेयरमा स्वतन्त्र उम्मेदवारले बाजी मारे । हमालले २६ हजार ८६५ मत ल्याउँदा वडले १४ हजार ८१७ मत मात्रै पाएका थिए ।

वडाध्यक्ष मतमा कांग्रेस २२ हजार ७७९, एमाले १७ हजार ४२०, माओवादी केन्द्र ८ हजार १७५, नेकपा एस २ हजार ९, राप्रपा १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टी ६५९, लोसपा ३०२ र जसपा १५० मत छ ।

स्थानीय तहमा यस्तो नतिजा आउनुमा ओझाकै हात रहेको कांग्रेसवृत्तमा चर्चा हुन्छ । उनै ओझा आफै बागी भएर उत्रिएपछि यहाँ चुनावी सरगर्मी झन् रोचक मोडमा पुगेको छ । स्वतन्त्र मेयर हमालले भित्रभित्रै ओझालाई नै समर्थन गरेका छन् भने राप्रपाले खुल्लमखुल्ला साथ दिइसकेको छ । तमाम कांग्रेस नेताकार्यकर्ता ओझाका पक्षमा खुलेका छन् ।

यस्तोमा आफैँ जित्नसक्ने पनि दाबी गरिएको छ । नभए सत्ता गठबन्धनका हातमा निर्वाचन फुत्काउन पनि उनको उम्मेदवारी भुमिका खेल्नसक्छ । यहाँ एमालेले निवर्तमान सांसद रानालाई नै अगाडि सारेको छ ।

डोटीका बागी नरेन्द्र खड्काः आलेलाई हराउने अठोट

एमाले विभाजनका बेला निर्णायक भूमिका खेलेका पूर्वमन्त्री प्रेम आले त्यसयता नेकपा एसमा निकै शक्तिशाली देखिएका छन् । विभाजनताका ८ सांसद ल्याएर उनले धेरैलाई चकित पारेका थिए ।

सत्ता गठबन्धनको सीट बाँडफाँटमा पनि उनले आफ्नो शक्ति देखाइदिए । कांग्रेसका प्रदेश सभापति पूर्वमन्त्री वीरबहादुर बलायरलाई विस्थापित गरेर डोटीको सीट हत्याउन सफल भए ।

उनले सत्ता गठबन्धनमा जसरी सहजै सीट लिए त्यसैगरी चुनावी मैदान भने सहज देखिँदैन । उनलाई कांग्रेसका बागी नरेन्द्र खड्काले आच्छु-आच्छु पारिरहेका छन् । यहाँ एमालेले गौरी ओलीलाई उम्मेदवार बनाएको छ ।

अहिलेसम्मका स्थिति हेर्दा आलेको टिकटपछि कांग्रेसभित्र ठूलै विद्रोहको संकेत देखिएको छ । उता बागी उम्मेदवार खड्काले उठाएको मुद्दा आलेका लागि झन् पेचिलो बनेको छ । खड्का डोटी उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा सुदूरपश्चिमको राजधानी दिपायलमा माग गर्दै भएको आन्दोलनको संयोजक थिए ।

त्यसअघि भएको निर्वाचनमा आलेले भोट माग्दा ‘राजधानी दिपायल बनाउन नसके राजीनामा दिने’ भन्दै भोट मागेका थिए । तर, राजधानी गोदावरी घोषणा हुँदा उनी केही बोलेनन् । यही कुरालाई खड्काले जोडतोडका साथ उठाइरहेका छन् । उनको यो मुद्दामा कांग्रेसका मात्र नभई एमालेका स्थानीय नेता कार्यकर्ताले पनि साथ दिइरहेका छन् ।

गएको स्थानीय निर्वाचनको नतिजा पनि आलेका लागि प्रतिकूल छ । यहाँ कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादी केन्द्रको ७ हजार ७८९ र आलेको पार्टी नेकपा एसको ३ हजार २०५ मत मात्रै छ । यसकारण उनले निर्वाचन जित्न पुरापुर कांग्रेसको भर पर्नुपर्ने छ । तर, खड्काको उम्मेदवारी र नाराले कांग्रेसको मत आलेको पक्षमा खस्ने सम्भावना क्षीण बन्दै गएको छ ।

यस्तोमा कांग्रेसको बहुसंख्यक मत तान्नसके खड्का आफै जित्नसक्ने र कमैमात्र तान्नसके आलेलाई हराउने भूमिका खेल्नसक्ने चुनावी अवस्थाले देखाइरहेको छ ।

रामकुमार राई : जगन्नाथका जब्बर कांग्रेसी बागी

लामो समयको ग्यापपछि संसदीय राजनीतिमा उदयपुरमा पुनः फर्किन लागेका नेकपा एसका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा यसपटक जितेपछि मन्त्री निश्चित भनेर जिल्लामा चर्चित छन् । तर, उनको जितमा बाधक बनेका छन्,नेपाली कांग्रेसका युवा नेता रामकुमार राई ।

उदयपुर क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा एसका जगन्नाथ खतिवडाले टिकट पाएपछि माओवादीका सोही क्षेत्रबाट निर्वाचित सांसद सुरेशकुमार राई असन्तुष्ट छन् । उनीहरूसहितको समर्थनमा कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई माछा चिन्ह लिएर उम्मेदवार बनेपछि खतिवडालाई संकट परेको छ ।

लोकप्रिय युवा नेता राई अहिलेसम्म कांग्रेसमा कुनै अवसर नपाएको भनेर सहानुभूति पाइरहेका नेता हुन् । त्यसमाथि माओवादीका निर्वाचित सांसदसहित उनको पक्षमा लागेपछि जातीय फ्याक्टरले समेत काम गरेको छ । राई खतिवडाको मत काट्ने भन्दा पनि जित्ने उम्मेदवारका रूपमा प्रचारित छन् ।

एमालेले यस क्षेत्रमा अम्बरबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । राईको उम्मेदवारी कायमै रहँदा र माओवादीको राई फ्याक्टरले साथ दिँदा यस क्षेत्रको चुनाव त्रिपक्षीय प्रतिस्पर्धामा परिणत हुने सम्भावना छ ।

स्थानीय चुनावको वडाको मतका आधारमा यस क्षेत्रमा एमाले १८ हजार ५७३ मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेसको ११ हजार ३४४ मत छ भने माओवादीको ८ हजार २०२ र नेकपा एसको ३४२७ मत छ । यहाँ जसपाको समेत १४ सय मत छ ।

अमरेशकुमार सिंह : कांग्रेसका हेबिवेट बागी

२०६२/६३ को जनआन्दोलनपछि एकाएक नेपाली राजनीतिमा उदाएका डा. अमरेशकुमार सिंहको राजनीतिक जीवनमा बागी उम्मेदवार बन्नुपर्ने सायद कसैले सोचेका थिएनन् । नेपालका सात राजनीतिक दल र माओवादीलाई मिलाउने पात्रका रूपमा समेत कुनै बेला चर्चामा रहेका सिंह भारतको विश्वासपात्र मानिन्थे र प्रचण्ड-बाबुराम कतिपय सन्दर्भमा उनकै भर पर्थे ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेस आन्दोलनको रापतापका बीच महन्थ ठाकुरलाई पराजित गरेर आएका सिंहले यसबीचमा लगातार तीन चुनाव सर्लाही ४ बाटै जिते । तर, यसपटक उनी जिल्लादेखि केन्द्रसम्म गुट राजनीतिको शिकार भए ।

सिंहको नाम क्षेत्रबाट सिफारिस नै भएन र गगन थापाको नाम सिफारिस भयो । टिकट लिएरगगन जाने तयारीसमेत भएका बेला काठमाडौं-४ मा शेरबहादुर देउवाले नैनसिंह महरलाई टिकट दिएपछि गगन सर्लाही जानबाट रोकिए । अमरेशको टिकट खोसियो र सो क्षेत्रमा उनी माछा चिन्ह लिएर बागी उम्मेदवार छन् ।

कांग्रेसबाट त्यहाँ नागेन्द्रकुमार राय उम्मेदवार छन् भने गठबन्धनकै अर्को घटक माओवादीका नेता शिवपुजन रायले छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । सिंहले प्रदेशमा समेत आफ्नै उम्मेदवार खडा गरेर प्रचार प्रसार गरिरहेका छन् र उनी नतिजा तलमाथि पार्न सक्ने बलिया बागी हुन् ।


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभा चुनावका बलिया बागी- जसले नतिजा उलटफेर पार्न सक्छन्

  1. अमरेश सिह सर्लाहीको लागी मात्र नभएर देशको लागि जनतामा प्रकाश दिने एउटा नेपालीकांग्रेस थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर