गठबन्धनबाट भावी प्रधानमन्त्री- ‘किङमेकर’ प्रचण्ड यसकारण पुग्दैछन् कुर्सीनजिक – Nepal Press

गठबन्धनबाट भावी प्रधानमन्त्री- ‘किङमेकर’ प्रचण्ड यसकारण पुग्दैछन् कुर्सीनजिक

गठबन्धनमा ‘भोट ट्रान्सफर’ नहुने चिन्ताले भावी प्रधानमन्त्रीबारे नेताहरू मौन

काठमाडौं । सत्ता गठबन्धनको सीट बाँडफाँट चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए–चुनावपछि प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले देश हाँक्छ । हामीसँग एक पटक देश हाँक्ने योजना र सपना छ ।

तर त्यसयता माओवादीले प्रधानमन्त्रीको रूपमा औपचारिक दाबी गरेको छैन । यद्यपि माओवादीका चुनावी प्रचार सामग्रीमा भने प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरिएको छ । जसको नीति उसको नेतृत्वदेखि मङ्सिर ४,प्रचण्ड सरकारसम्मका नारा माओवादीले चुनावमा अघि सारेको छ ।

अझ रोचक पक्ष राजनीतिका शीर्ष खेलाडीहरूबिच चल्ने गरेको के छ भने,चुनावपछिको प्रधानमन्त्री प्रचण्ड बन्ने निश्चित छ तर केपी ओली कि शेरबहादुर देउवाको ? यो भने अनिश्चित छ । यो चर्चामा दम र तथ्य पनि लुकेको छ ।

आफूलाई भेट्न गएका कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, डा. मिनेन्द्र रिजाललगायतलाई केही समय अघि ओलीले ‘कांग्रेसले चुनावमा गठबन्धन कायमै राख्छ भने चुनावपछि पाँचै वर्षको प्रधानमन्त्री प्रचण्डलाई मैले बनाउँछु’ भनेका थिए । यो कुरा ओलीले बालुवाटार पुगेर देउवालाई पनि भनेको कांग्रेस नेताहरुबीच ओपन सेक्रेट छ ।

त्यसैले चुनावी परिणामपछि नेपालको राजनीति फेरि एक पटक उथलपुथल हुन पनि सक्छ । यो कुरा नेताहरूले पनि बुझेका छन् र गठबन्धनको सीट बाँडफाँटदेखि नै चुनावपछिको समीकरणलाई ध्यान दिइएको छ । एमाले पनि ठिक्क साइजमा रहोस् र कांग्रेस पनि धेरै सीट जित्न नसकोस् भन्नेमा सबैभन्दा बढी सचेत माओवादी नेतृत्व नै छ ।

चुनावपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख मात्र होइन एक डेढ वर्षभित्र राष्ट्रियसभा अध्यक्ष पनि जसको सत्ता हुन्छ त्यही गठबन्धनको भागमा पर्ने भएकाले पनि प्रचण्ड किङमेकरको भूमिकामा स्थापित हुनेछन् ।

प्रत्यक्षमा ४३ सीटमा प्रतिस्पर्धा गरिरहेको माओवादीले समानुपातिकसमेत गरी निर्णायक भूमिकामा रहने लगभग निश्चित छ । त्यसैले देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिएनन् भने कांग्रेस पाँच वर्ष सत्ता बाहिर रहनुपर्ने र मुख्य पदहरू फेरि गुमाउनुपर्ने भएकाले देउवाकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्छ? भन्ने आम चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावी मैदानमा होमिँदा गठबन्धनले अझै तोक्न सकेको छैन। त्यसैले एमाले महासचिव पोखरेलले ओलीको काउन्टरमा गठबन्धनको उम्मेदवार को हो भनेर प्रश्न गरिरहेका छन् ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। यद्यपि, यसअघि गठबन्धनमा रहेको जसपा सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एमालेसँग तालमेल गर्न पुगेको छ। जसपा बाहिरिएसँगै गठबन्धनमा लोसपाको इन्ट्री भएको थियो।

तर, निर्वाचनपछि सरकारको नेतृत्व गर्ने बारेका गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्र वरिपरि नै छ। जुन कुराको संकेत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरे।

उनले गठबन्धनभित्र भावी प्रधानमन्त्रीका दाबेदारबारे प्रसंग कोट्याएर देउवा र प्रचण्डतर्फ फर्किएर उनले भनेका थिए, ‘वर्तमानका त प्रधानमन्त्री हुँदै हुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू यहीँ हुनुहुन्छ।’

गठबन्धन जोगाउनै चिन्ता

अध्यक्ष नेपालले देउवा वा प्रचण्डलाई भावी प्रधानमन्त्रीको रूपमा इंगित गरे पनि गठबन्धनभित्र यसले औपचारिकता नपाएको नेताहरू बताउँछन्। भावी प्रधानमन्त्रीको विषयमा छलफल गर्दा गठबन्धनमा समस्या आउन सक्ने भएकाले चुनावअघि छलफल नगर्ने रणनीति बनाएका छन्।

‘अहिले हाम्रो ध्यान निर्वाचन केन्द्रित छ। अहिले भावी प्रधानमन्त्रीको विषय निकाल्दा फेरि समस्या हुनसक्छ। त्यसैले शीर्ष नेताहरूले त्यसबारेमा बोल्नुभएको छैन’ माओवादीका एक नेताले भने।

त्यसो त कांग्रेसभित्र प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा शेखर कोइराला, प्रकाशमान सिंह र डा शशांक कोइरालाले आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न चाहेका छन्। उनीहरू बाहेक प्रधानमन्त्री देउवा पत्नी आरजू राणा देउवालाई पनि प्रधानमन्त्री बन्ने चर्चा कांग्रेसवृत्तमा नचलेको होइन।

महामन्त्री थापाले असोज २३ गते उम्मेदवारी दर्ता गरे लगत्तै आफूसँग प्रधानमन्त्री बन्ने जोस र आँट भएको बताएका थिए।

उनले भनेका थिए, ‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो। आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला ।

कांग्रेसले आफ्नो निर्णयमै चुनावपछि आफ्नै नेतृत्वको बहुमतको सरकारको सुनिश्चितताका लागि गठबन्धन गर्ने भनेको छ ।

प्रचण्डको इच्छा

कांग्रेस बाहेक गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि ल्याउन चाहेका छन्।

तेस्रो शक्तिको रूपमा सधैँ स्थापित भएर मौकालाई सदुपयोग गर्दै आएका प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेसँग बार्गेनिङ गरेर दुई पटक प्रधानमन्त्री भइसके। अझै पनि उनमा प्रधानमन्त्री बन्ने महत्त्वाकाङ्क्षा हटेको छैन। उनले एक पटक फेरि प्रधानमन्त्री चाहना लुकाएका छैनन् ।

त्यसैले प्रधानमन्त्री पदको ‘पावर सेअरिङ’लाई प्राथमिकता दिएका छन्।

‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। अर्का पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रूपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ’ गत असारमै प्रचण्डले भनेका थिए।

तर, आफूले प्रधानमन्त्रीको दाबी गर्दा गठबन्धनमा समस्या आउने देखिएपछि उनको बोली फेरिएको छ। उनले प्रधानमन्त्रीको अफर आएपछि अहिले आफू रेसमा नरहेको प्रस्ट्याउँदै आइरहेका छन्।

‘अहिले चुनावी सरकार देउवाजीको नेतृत्वमा गएपछि आलोपालो गर्दा आगामी सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड जी नै हुनुहुन्छ नि! ती नेताले भने।

गठबन्धनबाट प्रधानमन्त्रीको मुख्य प्रतिस्पर्धी देउवा र प्रचण्ड नै हुन्। देउवा छैटौँ र प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा छन्।

‘विषय प्रवेश भएको छैन’

तर, चुनावपछि कसले सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धन दलहरूबिच कुनै विवाद नआउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बताउँछन्।

उनले सोमबार सुर्खेत पुगेर भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनु हो। सरकारको नेतृत्व चुनावमा आएको नतिजाको आधारमा हुने हो त्यसैले त्यसमा कुनै विवाद छैन। हुँदा पनि हुँदैन।’

यस्तै, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि गठबन्धनमा भावी प्रधानमन्त्रीको विषयमा छलफल नभएको प्रष्ट पारे।

उनले भने, ‘अहिले हामी सबै चुनाव केन्द्रित भएका छौँ। त्यसैले हामीले अहिले भावी प्रधानमन्त्री विषयमा विषय प्रवेश नै गराएका छैनौँ।’

एमालेको आलोचना

यता, चुनाव घोषणा लगत्तै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर चुनावमा होमिएको एमालेले गठबन्धनको चर्काे आलोचना गर्दै आइरहेको छ। भावी प्रधानमन्त्री समेत अगाडि सार्न नसकेको भन्दै गठबन्धन दलको चर्को आलोचना गरिरहेका छन् ।

गठबन्धनले भावी प्रधानमन्त्री समेत नतोकी चुनावमा जानु भनेको असक्षमता भएको एमाले नेता महेश बस्नेत दाबी गर्छन् ।

उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा कुन पार्टीलाई सरकारमा ल्याउने र कस्तो सरकार बनाउने भन्ने तहदेखिको छलफल भइरहेको पाइन्छ। हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन। अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन् ।’

उनले भावी प्रधानमन्त्रीको रूपमा ओलीसँग देउवाको तुलना नै हुन नसक्ने टिप्पणी गरे। उनले मात्रै नभएर एमालेका ओलीसहित शीर्ष नेताहरूले भावी प्रधानमन्त्री तोक्न नसकेको भन्दै गठबन्धनको चर्को आलोचना गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “गठबन्धनबाट भावी प्रधानमन्त्री- ‘किङमेकर’ प्रचण्ड यसकारण पुग्दैछन् कुर्सीनजिक

  1. देश बर्वाद बनाउने हो भने यस्तालाई जिताउँ । यिनले अब खरानी बनाउन मात्र बाँकी छ । जनता हामी अहिले सचेत भएनौं भने देशले दुःख पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर