ऋणको ब्याजदर १८ प्रतिशत नाघ्यो – Nepal Press

ऋणको ब्याजदर १८ प्रतिशत नाघ्यो

काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । कातिकदेखि लागु हुने गरी बैंकबाट लिइएको ऋणको ब्याजदर १८ प्रतिशत नाघेको हो ।

माछापुछ्रे बैंकको ऋणको ब्याजदर १८ प्रतिशत नजिक पुगेको छ । बैंकले कात्तिकबाट लागु हुने गरी ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै सिद्धार्थ बैंकले कात्तिकबाट लागु हुने गरी कर्जाको ब्याजदर १५.८५ प्रतिशतसम्म पुर्‍याएको छ ।

लामो समय स्थिर राखेको निक्षेपको ब्याजदर असोजमा बढेको थियो । त्यही ब्याजदर कात्तिकमा पनि यथावत राखिएको छ । निक्षेपमा बैंकहरुले अधिकत्तम १२.३३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । असोजमा निक्षेपको ब्याजदर बढे पनि ऋणको ब्याजदर बैंकहरुले बढाएका थिएनन् ।

निक्षेपको ब्याजदर महिनैपिच्छे घटबढ गर्न पाइने राष्ट्र बैंकको नियम भए पनि कर्जाको ब्याजदर भने प्रत्येक ३ महिनामा रिभ्यु गर्न सकिने प्रावधान छ । सोहीबमोजिम चालु आर्थिक वर्षको पहिलो ३ महिना आजबाट सकिँदैछ । त्यसैले भोलिबाटै लागु हुने गरी बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् ।

बैंकहरुले आधार दरमा प्रिमियम थपेर ब्याज निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरुको आधार दर नै १० प्रतिशतभन्दा बढी छ । निक्षेपको ब्याज बढेसँगै आधार दर पनि बढ्ने गरेको छ । आधार दर बढेपछि ऋणको ब्याज स्वतः बढ्छ ।

निक्षेपको ब्याजदर बढेसँगै आत्तिएका व्यापारी व्यवसायी अब ऋणको ब्याजदर वृद्धिले सकसमा परेका छन् ।

होटेल संघ नेपाल (हान) ले विज्ञप्ति जारी गरेर अहिलेको परिस्थितिमा होटलहरुले लिएको साँवाको किस्ता र त्यसको व्याज तिर्न नसक्ने जनाएको छ । व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी बढेकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्न हानले माग गरेको छ ।

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताए । बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *