गठबन्धनमा इमानदारिता देखाऔं : मेटमणि चौधरी – Nepal Press

गठबन्धनमा इमानदारिता देखाऔं : मेटमणि चौधरी

‘यो आमनिर्वाचन होइन, संविधान रक्षाको सबाल हो’

रुपन्देही । सहरी विकासमन्त्री मेटमणि चौधरीले गठबन्धनमा अब इमानदारिताको खाँचो रहेको बताएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट दाङ १ मा साझा उम्मेदवार बनेका नेकपा एसका नेता चौधरीले सत्ता पक्षीय दाङ क्षेत्र नं १ को चुनावी भेलामा अब गठबन्धनमा इमानदारिता कार्यान्वयन गर्ने समय आएको बताए ।

उनले भने, ‘सिटबाँटमा पूर्ण सहमति गरेर हामी मनोनयन दर्ता गराउँदासम्म जसरी सत्साह र इमान्दारिता देखिएका छौ, यो इमानदारिता मतदानको दिनसम्म पनि कायम रहन आवश्यक छ ।’ संविधान रक्षाको लागि निर्वाचनमा गठबन्धन गरिएको स्मरण गराउँदै मन्त्री चौधरीले मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिन पनि आग्रह गरेका थिए ।

मन्त्री चौधरीले भने, ‘यो आम निर्वाचन हुँदै होइन, संविधानको कार्यान्वयनको सवाल पनि हो । यसमा जनतालाई चनाखो वनाउन आवश्यक छ ।’

बाढी डुबानको सवालमा सरकारले राहत पुनर्स्थापनामा लागि परेको जानकारी दिँदै मन्त्री चौधरीले निर्वाचनपछिको सरकारले दीर्घकालीन रुपमा समस्या समाधान गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गरे । भेलामा पाँच दलीय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतका नेताहरुले कार्यकर्ताहरुलाई इमानदारितापूर्वक गठबन्धनकै पक्षमा मतदान गर्न र मत माग्न निर्देशनात्मक मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउने दाबी गर्दै, संविधान रक्षाको लागि इमान्दारितापूर्वक गठबन्धकै पक्षमा मदतान गर्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.१ (क) प्रदेश सभाका उम्मेदवारसमेत रहेका थारुले प्रदेशसभाले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको दाबी गरे । क्षेत्र नं.१ (ख) प्रदेश सभाका उम्मेदवार नेपाली कांग्रेसका अनुराग खड्काले पछिल्लो समय दाङमा नेपाली कांग्रेस पार्टी एकढिक्का रहेको जानकारी दिदै उनले निर्वाचन केन्द्रित गतिविधिमा लागेर स्वर्गीय नेता खड्काको उद्देश्य पूरा गर्नतर्फ केन्द्रित हुन आग्रह गरेका थिए ।


प्रतिक्रिया

One thought on “गठबन्धनमा इमानदारिता देखाऔं : मेटमणि चौधरी

  1. मन्त्री खान पार्टी फुटाउनेलाई ईमान्दार अरू बनिदिनुपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर