जकको पासोमा सन्दीप: जाहेरीको अभिष्ट र अन्तर्य – Nepal Press

जकको पासोमा सन्दीप: जाहेरीको अभिष्ट र अन्तर्य

माइती नेपालको कब्जाबाट निस्किन चाहन्छिन् ‘पीडित’

काठमाडौं । नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नितान्त आफ्नो प्रतिभा र मेहनतको बलमा कलिलै उमेरमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए सन्दीपले । नामसँगै दाम पनि यथेष्ट कमाइरहेका थिए । तर, मान्छेका दुर्दिन कतिबेला सुरु हुन्छन्, कसले पूर्वानुमान लगाउन सक्छ र ? एकैपटक धरहराको उचाइबाट खसेर भूईंमा पछारिएका छन् सन्दीप । जक (जबरजस्ती करणी)को आरोपमा जाहेरी परेसँगै उनको रुमानी यात्रामा ब्रेकमात्र लागेको छैन, अहिलेसम्म कमाएको नाम र प्रतिष्ठामा डढेलो लागेको छ । धूलो टक्टकाउँदै उठेर फेरि पुरानो लय समात्न त्यति सजिलो देखिँदैन ।

गत साता दोहाबाट नेपाल फर्किने क्रममा सन्दीप पक्राउ परे । क्रिकेटको बल समाउने हातमा फलामे हत्कडी लाग्यो । र, एउटा ‘स्टार’बाट उनी अभियुक्त बन्न पुगे, त्यो पनि बलात्कारजस्तो संगीन आरोपमा । हिजोसम्म चमकदमकपूर्ण जीवन बाँचिरहेका उनी आज प्रहरी हिरासतको चिसो छिँडीमा जाकिएका छन् ।

आरोप लागेदेखि नै आफू निर्दोष रहेको जिकिर गरिरहेका छन् सन्दीप । तर, अदालतको अन्तिम फैसला नआउँदासम्म उनी निर्दोष मानिने छैनन् । त्यसमाथि अहिले त कसैमाथि आरोप लाग्नासाथ अपराधी करार गरिहाल्ने र दुत्कार्न थालिहाल्ने सामाजिक सञ्जाल हामीसँग छ । महिला संवेदनशीलताको नाममा जाहेरीकर्ताको बयानलाई अन्तिम सत्य मान्ने र आरोपीको कुरा सुन्नु त परै जाओस्, नाम लिँदासमेत मुख कुल्ला गर्ने ढोंगी सञ्चारमाध्यम हामीसँग छन् । अनि, जाहेरी पर्नासाथ मिडियाबाजी गर्न हतारिने र आत्मसमर्पण गर्न आएको व्यक्तिलाई हातमा हत्कडी लगाएर बहादुरी प्रदर्शन गर्ने प्रहरीको त झन् के कुरा गर्नु ?

दोषी सावित भए सन्दीपले कानूनबमोजिम सजायको हकदार हुनुपर्छ नै । तर, अदालतले सफाइ दियो भने अहिले भएको बदनामी र चरित्रहत्याको क्षतिपूर्ति कसरी हुन्छ ? भड्खालोमा परेको उनको खेल करिअरलाई कसले बाहिर निकाल्छ ? उनले र परिवारले खेपेको प्रताडनको मूल्य कसले चुक्ता गर्छ ? प्रश्नहरु अनुत्तरित छन् ।

सन्दीपमाथि लागेको मुद्दामा प्रहरी अनुसन्धान जारी छ । अन्तिम न्याय निरुपण गर्ने भनेको अदालतले हो । तर, सञ्चारमाध्यमले जाहेरीकर्ताको एंगलबाट निरन्तर एकपक्षीय समाचार सम्प्रेषण गर्दा न्याय दिने निकायहरुलाई अनावश्यक दबाब पर्छ नै । आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषीका रुपमा नहेर्नु र दुवै पक्षको भनाइलाई स्थान दिनु सञ्चारमाध्यमको धर्म हो । त्यही धर्म निर्वाह गर्दै हामीले यस घटनासँग जोडिएका सबै पक्षसँग खोजीनीति गरी केही नयाँ तथ्यहरु फेला पारेका छौं । यो प्रकरण कसरी सुरु भयो, सन्दीपकी फ्यान गर्ल कसरी उनीविरुद्ध जाहेरी दिने अवस्थामा पुगिन् र यसमा प्रहरी-अदालतले ध्यान पुर्‍याउनुपर्ने विषयवस्तुहरु के-के छन् भन्नेबारे यहाँ विस्तृत चर्चा गरिनेछ ।

०००

गत चैतमा काठमाडौंमा सम्पन्न ट्राइ नेसन्स सिरिजमा नेपाली युवा ब्याट्सम्यामा देव खनालले पपुवा न्यूगिनीविरुद्ध ७२ रनको आकर्षक पारी खेले । आफूले खेलेको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमै अर्धशतक बनाएपछि उनी क्रिकेट पारखीहरुको आँखामा परिहाले । उनलाई आएका धेरै फ्रेन्ड रिक्वेस्टमध्येको एक थियो जुनेली (नाम परिवर्तन) को ।

देवले फ्रेन्ड रिक्वेस्ट स्वीकारेसँगै उनीहरुबीच सामान्य कुराकानी हुन थाल्यो । एक दिन देवले होटलकै कोठाभित्र आफ्ना कप्तान सन्दीप लामिछानेसँग खिचेको सेल्फी जुनेलीलाई पठाए । एक-डेढ वर्षदेखि नेपाली क्रिकेटलाई मज्जाले पछ्याउन थालेकी जुनेली ‘एक्साइटेड’ भइन् र सन्दीपलाई पनि साथी बनाउन चाहिन् ।

देवको ‘रिकमेन्डेसन’ मा सन्दीपले जुनेलीलाई ‘स्न्याप च्याट’मा जोडे । उनीहरुबीच सामान्य कुराकानी र तस्वीर आदानप्रदान हुन थाल्यो । सन्दीपले पठाएको आफ्नो एउटा तस्वीरमा ‘मायाको सौगातस्वरुप’ लेखेर लभ इमोजीसमेत राखेका थिए । जुनेली सन्दीपसँगको कुराकानीमा लठ्ठ पर्दै गइन् । केही दिनको कुराकानीपछि सन्दीपले टेक्स्ट गरे- ‘स्न्यापच्याटमा स्न्यापमात्रै पठाइरहने कि हाम्रो भेटघाट पनि हुन्छ ?’

जुनेलीलाई पनि कम्ति थिएन । भन्न पो सकिरहेकी थिइनन् । उनी कफी डेटका लागि तुरुन्तै राजी भइन् ।

भोलिपल्ट सन्दीपले अर्का क्रिकेटर साथीको मोबाइलबाट जुनेलीलाई कल गरे । उनी कलेजमा थिइन् । मिड बानेश्वरमा भेट्ने सल्लाह भयो । तोकिएको समयमा सन्दीप मिड बानेश्वरमा एपेक्स कलेज नजिक रहेको एउटा रेस्टुरेन्टमा पुगे । त्यहाँ कफी खाएपछि उनीहरु नगरकोटतिर लागे ।

‘पीडित’ को जाहेरीका आधारमा अहिलेसम्म मिडियामा आइसकेका कुराहरु हुन् यी । पीडितले आफूलाई सन्दीपले झुक्याएर नगरकोट पुर्‍याएको दाबी गरेकी छन् भने सन्दीपले चाहिँ जाहेरीकर्ताले कर गरेपछि आफूहरु घुम्न नगरकोट गएको जिकिर गरेका छन् । तर, प्रहरी स्रोतका अनुसार उनीहरु आपसी सल्लाह र सहमतिमै घुम्न गएका हुन् । प्रस्ताव चाहिँ सन्दीपको थियो ।

सन्दीपले नगरकोट नजिकै सुडालमा रहेको बोजिनी रिसोर्टमा गाडी रोके । रिसोर्ट स्रोतका अनुसार सन्दीप पहिले पनि यहाँ आएर खाने–बस्ने गर्थे । रिसोर्र्टमा सन्दीप र जुनेली ‘रोमान्टिक कपल’ का रुपमा प्रस्तुत भएको पनि स्रोत बताउँछ । उनीहरुले खाजा सेट मगाएर एउटै प्लेटमा खाएका थिए पालैपालो एकअर्कालाई ख्वाइदिएका पनि थिए ।

उनीहरुले खाँदै गर्दा वेटरले दुई-तीनपटक ‘सर भीआईपी रुम बुक गरिदिउँ ?’ भनेर सोधे । तर, सकारात्मक जवाफ पाएनन् । दुईजनाको कुरा नमिलेर हो वा आपसी सहमति हो, उनीहरु खानपिनपछि रिसोर्टबाट निस्किए र काठमाडौंतिर फर्किए ।

काठमाडौं आइपुग्दा राति भइसकेको थियो । जुनेलीले आफ्नो होस्टल यतिबेला बन्द भइसकेको बताइन् । त्यसपछि सन्दीपले होटलमा सँगै बस्ने प्रस्ताव गरे । जुनेली सहमत भइसकेपछि सन्दीपले होटल काठमाडौं इनमा पुर्‍याए । होटलमा आफूले दुईवटा कोठामा बस्न आग्रह गरे पनि सन्दीपले एउटा कोठामात्रै बुक गरेको जुनेलीले आफ्नो जाहेरीमा दाबी गरेकी छन् । यद्यपि, उनीहरुको हाउभाउ हेर्दा ‘असहमति’ को लक्षण नदेखिएको होटल स्रोतको भनाइ छ । जे होस्, उनीहरु होटलको एउटै रुममा सुतेको प्रमाणिक तथ्य हो ।

‘उनीहरु एउटै कोठामा सुतेका हुन् । तर, कसैले कसैलाई जबरजस्ती गरेको देखिँदैन’, होटल स्रोतले भन्यो ।

कोठा बन्द भइसकेपछि रुमभित्र के भयो वा के भएन त्यो उनीहरु दुईजनालाई मात्र थाहा हुने कुरा भयो । तर, कोठाभित्र कुनै खाले द्वन्द्व वा जबरजस्ती भएको संकेत मिल्ने आवाज वा चिच्याहट नसुनिएको कर्मचारी बताउँछन् । भोलिपल्ट बिहान उनीहरु हाँसीखुशी होटलबाट निस्किनु र सन्दीपले नै गाडीमा राखेर जुनेलीलाई होस्टेलमा ड्रप गरिदिनुले पनि सौहार्दपूर्ण रात बितेको आँकलन गर्न सकिन्छ ।

वास्तविक उमेरको प्रश्न

सन्दीपकी एक कानून व्यवसायी सुधा रिजालले जाहेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाइन् । जाहेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी पनि उनले गरिन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षले एउटा टेलिभिजन अन्तर्वार्तामै जाहेरीकर्ता नाबालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।

जाहेरीकर्तासँग निकट स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशोरी नाबालिग नै छिन् । दुवैमा उनको जन्म मिति २०६२/०२/१८ उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।

जाहेरीकर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकटस्थहरुको भनाइ छ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको जुनेलीका पिताले बनाएको बसाइसराइ कागज हो । त्यसमा जुनेलीको जन्म मिति २०६१/०२/१८ उल्लेख छ, जसअनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।

बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ ।

जुनेलीका बाबुलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बाबुले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।

जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुले निकै पापड बेल्नुपर्नेछ । उनीहरुले यसमाथि गहन अनुसन्धानको माग गर्न सक्छन् ।

उमेर पत्ता लगाउन वैज्ञानिक परीक्षणको माध्यम भनेको बोन टेस्ट हो । तर, यस्तो टेस्टले पनि ‘एक्युरेट’ उमेरको हिसाब नदिने विज्ञहरु बताउँछन् । बोन टेस्टबाट वर्षसम्म पत्ता लाग्नसक्ने तर वास्तविक जन्म मितिकै निर्क्योल भने हुन नसक्ने उनीहरुको भनाइ छ । यहाँ महिना र दिनको फरकले समेत मुद्दामा उलटफेर ल्याउन सक्ने हुँदा बोन टेस्टको प्रतिवेदनमा सन्दीप ढुक्क हुन सक्दैनन् ।

पारिवारिक पृष्ठभूमि लथालिंग

जुनेलीको पारिवारिक पृष्ठभूमि अलिक विश्रृंखलित र लथालिंग छ । उनको परिवार पहिले काठमाडौंको साँखु छेउछाउको एउटा टोलमा बस्थ्यो । निकटस्थका अनुसार उनका बुवा र आमाको विवाह कानूनी र नैतिक रुपमा विवादास्पद थियो । त्यसैले सन्तान जन्मने क्रममा गाउँ–समाजको डरले उनीहरु त्यहाँबाट नुवाकोटतिर बसाइ सरेका थिए ।

जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीमती भित्र्याए ।

यसरी जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्लारे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ ।

जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आउजाउ भने छ ।

जुनेलीले लडिरहेको कानूनी लडाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरेका हुन् ।

प्रमाणहरु कति बलिया ?

प्रहरीले जाहेरी दर्ता गर्नुअघि काठमाडौं इन होटलको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सन्दीप र जुनेली सँगै होटलमा गएको स्पष्ट देखिएपछि जाहेरी दर्ता गर्न प्रहरी तयार भएको हो ।

जाहेरी दर्तापछि सोही मध्यरातमा जुनेलीको मेडिकल जाँच थापाथलीको प्रसूति गृहमा लगेर गरियो । मेडिकल जाँचकाे रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसमा खासगरी हेर्ने भनेकाे कन्याजाली र भंगाकुरको अवस्था हो । कन्याजाली च्यातिएको तथा भंगाकुरमा घाउ देखिएको अवस्थामा बलात्कारकाे अनुमान गरिन्छ । विज्ञका अनुसार कन्याजाली च्यातिनुले मात्रै चाहिँ धेरै ठूलो अर्थ राख्दैन । साइकल चलाउँदा वा कुनै बाहिरी वस्तुले हस्तमैथुन गर्दा पनि कन्याजाली च्यातिएको हुनसक्छ । यदि शारीरिक सम्बन्धका कारण हो भने पनि त्यो सन्दीपसँगैको सम्बन्धले हो भन्ने पुष्टि हुँदैन ।

उनको भंगाकुरमा घाउ छ भने त्याे चाहिँ महत्वपूर्ण हाे । केटी मान्छे राम्ररी ‘अराउज’ नभइकन शारीरिक सम्बन्ध राख्दा यस्तो घाउ बस्ने सम्भावना हुन्छ र यो घाउ निको हुन पनि लामो समय लाग्छ । तर, फेरि पनि सन्दीपमाथिको आरोप पुष्टि गर्न याे पर्याप्त भने हुँदैन । किनभने काेसँगको सम्बन्धबाट यो घाउ भएको भन्ने ठोकुवा गर्न सकिन्न ।

यदि घटना भएकै रात वा भोलिपल्टै ‘पीडित’ ले प्रहरीमा जाहेरी दिएको भए यसको निर्क्योल गर्न सजिलो हुन्थ्यो । शरीरमा वीर्य खसेको भए त्यसको डीएनए परीक्षण हुन सक्थ्यो । तर, धेरै दिनपछि मात्रै जाहेरी दिन गएकाले त्यो सम्भावना अन्त्य भइसकेको छ । जुनेलीसँग सन्दीपले शारीरिक सम्बन्ध राखेको थप प्रमाण केही पनि नरहेको स्रोतको भनाइ छ । र, शारीरिक सम्बन्ध राखेको पुष्टि नहुँदासम्म बलात्कार ठहरिँदैन । सन्दीप यो मुद्दामा जोगिन सक्ने सबैभन्दा बलियो बाटो भनेको एउटै कोठामा सुते पनि शारीरिक सम्बन्ध नरहेको जिकिर गर्नु नै हो ।

माइती नेपालको कब्जामा ‘पीडित’

धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् ।

जाहेरी दर्ता भएको दुई-तीनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो । कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छन् । उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

सामाजिक सञ्जालमै आश्रय लिनुपर्ने खालको अवस्था जुनेलीको छैन । उनले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, बाहिर निस्केपछि उनले बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।

के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।

‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना पनि छ’, स्रोतले भन्यो ।

कहाँ चुके सन्दीप ?

त्रुटिपूर्ण कानूनको शिकार भएको देखिँदादेखिँदै पनि सन्दीपमाथि प्रश्न उठाउन सकिने केही ठाउँहरु छन् । शारीरिक चाहना परिपूर्तिका लागि मात्रै जुनेलीसँग क्षणिक रुपमा नजिकिएको आशंका गर्न सकिन्छ ।

पहिलो, उनी जुनेलीसँग प्रायः स्न्याप च्याटमा मात्रै कुरा गर्थे । स्न्याप च्याटमा पठाएको म्यासेज २० सेकेन्डमा अटो डिलिट हुन्छ भने स्क्रिनसट लिएको अवस्थामा त्यसको सूचना अर्कोलाई जान्छ । त्यसैले आफूले गरेका कुराकानीको ‘प्रमाण’ नरहेको भन्ने सन्दीपको चाहना देखिन्छ । निकटस्थहरुका अनुसार उनी अन्य युवतीहरुसँग पनि स्न्याप च्याटमा नै कुरा गर्थे ।

दोस्रो, उनले होटलमा सँगै रात बिताएपछि जुनेलीलाई तत्काल सामाजिक सञ्जालबाट ब्लक गरेको भनिएको छ । यदि त्यो सत्य हो भने त्यहाँ पनि उनको नियतमा प्रश्न उठ्छ ।

तेस्रो, उनी आफूविरुद्ध जाहेरी परिसकेपछि नेपाल फर्किन गरेको ढिलासुस्ती पनि सही थिएन, चाहे जेसुकै बहानामा किन नहोस् ।

समग्र घटनाक्रम हेर्दा सन्दीपले कहीं न कहीं आफ्नो स्टारडमको दुरुपयोग गर्न खोजेकै देखिन्छ । अवश्य पनि उनी जत्तिको स्टारसँग नजिकिन खोज्नेहरु धेरै हुन्छन् । प्रेम र रोमान्सका लागि पनि युवतीहरु सहजै तयार हुन सक्छन् । तर, उनी आफ्नो मर्यादा र अनुशासनमा बस्नुपर्ने हो । फ्यानका रुपमा नजिकिनेहरुसँग शारीरिक तिर्खा मेट्ने ध्येय राखेका हुन् भने त्यसलाई अनैतिक मान्नैपर्छ ।

जाहेरीको अभिष्ट

अब सबैभन्दा महत्वपूर्ण प्रश्नमा जाऔं । घटना भएको २० दिनपछि सन्दीपविरुद्ध किन जाहेरी दिइन् त जुनेलीले ? के उनलाई अरु कसैले उक्साएका हुन् ? सन्दीपले भने जस्तो उनी कुनै षड्यन्त्रको शिकार बनेका हुन् ?

त्यस्तो देखिँदैन । सन्दीपविरुद्ध जाहेरी दिन जुनेलीको स्वनिर्णय भएको निकटस्थ स्रोत बताउँछ । यसका मुख्य दुई कारण छन् । पहिलो- सन्दीपले आफूलाई सोसल मिडियामा ब्लक गरेको आक्रोश । नाइट स्टे गरेको भोलिपल्टै (?) सन्दीपले उनलाई स्न्याप च्याटबाट ब्लक गरेको बताइन्छ । के कारणले हो भन्ने स्पष्ट भएको छैन । तर, यसबाट जुनेलीले आफूलाई सन्दीपले ‘युज एन्ड थ्रो’ गरेको महसुस गरिन् ।

तर, योभन्दा महत्वपूर्ण सम्भावित कारण अर्को हुनसक्छ ।

जुनेलीले आफ्ना एक क्रिकेटप्रेमी ‘साथी’ लाई सन्दीपसँग भएका सबै कुराकानीहरु उत्साहसाथ सुनाउने गर्थिन् । ती साथीले पनि यसलाई अन्यथा लिएका थिएनन् । जुनेलीले सन्दीपसँग कफी डेट गर्न लागेको पनि साथीलाई बताएकी थिइन् । तर, त्यस रात होटलको रुममा पसेपछि उनले मोबाइल अफ गरिन् । यसले गर्दा उनका साथीको मनमा चिसो पस्यो ।

भोलिपल्ट साथीले निकै केरकार गरेपछि सन्दीपले आफूलाई झुक्याएर होटलमा लगेको बताइन् । सन्दीपसँग एउटै रुममा सुत्नुपरेको र उनले नै मोबाइल अफ गरिदिएको भन्दै जुनेलीले आफ्नो बचाउ गरिन् । आफ्नो यही भनाइलाई प्रतिरक्षा गर्न उनी प्रहरीमा जाहेरी दिने निष्कर्षमा पुगेको निकटस्थ स्रोतको दाबी छ ।

‘उनले साथीका सामु आफ्नो चरित्रमा प्रश्न नउठोस् र घनिष्ठ मित्रता नतोडियोस् भनेर नै यो कदम चालेकी हुन्’, स्रोतले दाबी गर्दै भन्यो ।

यद्यपि, यो कुनै ठोकुवा गर्न सकिने विषय चाहिँ होइन । आशा गरौं, अदालतले नै दूधको दूध पानीको पानी छुट्याउनेछ । कुनै बाह्य दबाब र बहकाउमा नपरी तथ्यमाथि टेकेर न्यायपूर्ण फैसला अदालतले गरोस् ।


प्रतिक्रिया

4 thoughts on “जकको पासोमा सन्दीप: जाहेरीको अभिष्ट र अन्तर्य

  1. यति घटिया सोचका लागि थुक्क बाहेक अरु भन्न सकिन।
    आफ्नै छोरीमाथि नपरी तिमीहरुजस्ता दानवहरु चेत्दैनौ। त्यसप्चि पनि चेत्छौ कि चेत्दैनौ, भन्न सकिन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *