नेतृत्वले टिकट खोसेपछि हरिबोल गजुरेल असन्तुष्ट – Nepal Press

नेतृत्वले टिकट खोसेपछि हरिबोल गजुरेल असन्तुष्ट

भन्छन्- मैले टिकट नपाउनुको कारण प्रचण्डलाई सोध्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट खोसिएपछि नेतृत्वप्रति असन्तुष्ट बनेका हुन् ।

सिन्धुली २ बाट निरन्तर जित्दै आइरहेका नेता गजुरेलको क्षेत्रमा माओवादी केन्द्रका सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले टिकट पाएका छन् । जिल्ला र प्रदेश कमिटीले पनि सिफारिस गरेको अवस्थामा आफूले टिकट नपाएको विषय थाहा नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मैले किन टिकट पाइन भन्दै हिँड्ने कुरा भएन। जिल्लाबाट सिफारिस गरेको थियो । प्रदेशले पनि सिफारिस गरेको थियो । अब किन भएन । मलाई थाहा हुने कुरा पनि भएन ।’

उनले आफूले टिकट नपाउनुको कारण पार्टी अध्यक्ष प्रचण्डलाई मात्रै थाहा भएको टिप्पणी गरे । प्रतिनिधिसभाको टिकट नपाए पनि आफू अब पार्टीको काममा लाग्ने उनको भनाइ छ ।

नेता गजुरेल ०७४ सालको निर्वाचनमा अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए । उनले ३० हजार १ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १ सय ७२ मत मात्रै ल्याएका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई नियाल्दा सो क्षेत्रमा गठबन्धनको उम्मेदवारको जीत सुनिश्चित देखिन्छ ।

सो क्षेत्रमा गठबन्धनका ३८ हजार ६ सय ५१ मत रहेको छ भने एमाले जसपा र राप्रपाको २२ हजार १ सय ७८ मात्रै मत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर