कहाँ हरायो बामदेवको चुनावी अभियान ? पत्याएन गठबन्धनले – Nepal Press

कहाँ हरायो बामदेवको चुनावी अभियान ? पत्याएन गठबन्धनले

रुपन्देही । गत निर्वाचनमा नेकपा एमालेको बलियो आधार क्षेत्रबाट चुनाव हारेपछि चर्चामा आएका तत्कालीन एमाले नेता त्यसपछि निरन्तर चर्चामा आइरहे । ०७४ मा चुनाव हारेपछि सुरुमा पार्टी अन्तर्घातबाट चुनाव हराइएको भन्दै उनका अभिव्यक्ति चर्चामा आए । केही समय शान्त रहेका गौतमलाई पुनः संसद् जाने हुटहुटीले पुनः विवादमा ल्यायो ।

कहिले डोल्पा, कहिले कहाँका सांसदलाई राजीनामा गराएर उनलाई सदनमा लैजाने तयारी सधैँ विवादमा आए पनि कार्यान्वयनमा आएनन् । पछि राष्ट्रियसभामा जाने विषयमा पनि उस्तै विवादको घेरामा परे ।

एमाले माओवादी एकतापछि बनेको नेकपा कालमा नेता केपी ओली र प्रचण्ड नेपाल पक्षको विवाद चर्काउने विषयमा उनको भूमिका उसै गरी चर्चामा रहेको थियो । त्यो बीचमा कहिले ओलीको पक्षमा बोल्ने र कहिले प्रचण्ड नेपाल समूहको पक्षमा बोलेर उनले आफ्नो भूमिका थप कमजोर बनाएका थिए ।

पछिल्लो समय नेकपा एकता राष्ट्रिय अभियान गठन गरेर आफै संयोजक बनेका नेता गौतम माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जाने विषयमा सहमति जनाएपछि पुनः चर्चामा आए । पहिले उनको पुरानो निर्वाचन क्षेत्र रहेको प्युठानमा जाने चर्चा चलाइयो, अनि बर्दियामा जाने चर्चा चलाइयो तर कतै पनि उनको नाम मैदानमा देखिएको छैन ।

यसरी जबरजस्त चर्चामा आएका गौतम पुनः चुनावमा साहाराबिहीनजस्तै देखिएका छन् । यद्यपि नेता बाबुराम भट्टराई र उनले सँगै माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जाने सहमति गरेको र भट्टराई प्रत्यक्षमा नजाने घोषणा गरिसकेकाले उनलाई प्रचण्डले कतै व्यवस्थापन गर्न सक्छन् भन्ने उनका समर्थकहरू झिनो आशा राखेका छन् ।

एमालेको उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका गौतम सत्ता गठबन्धनबाट टिकट पाउनेमा आशावादी भएर आफू निकटलाई धारणा बाहिर ल्याउन लगाएका थिए ।

गौतमले पाँच दलीय गठबन्धनबाट टिकट दिलाउने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताउँदै आएका थिए ।

एमाले विभाजनपछि सत्ता गठबन्धनलाई साथ दिँदै आएका बामदेवले आफैले पार्टी गठन गरेपछि पनि सुरक्षित टिकटको आशामा सत्ता गठबन्धनको मुख्य दल नेकपा माओवादी केन्द्रका नेताहरूको नजिक पुगेका उनलाई कसैले सिट दिएनन् ।

सत्ता गठबन्धनका दलहरूमा सिट बाँडफाँट हुँदा बामदेवले टिकटका अपेक्षा गरेको प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलले उम्मेदवारी दिने भएकी छन् भने बर्दियाको क्षेत्र नं १ मा कांग्रेसले उम्मेदवारी दिने भएको छ ।

गौतमले सत्ता गठबन्धनबाट आशा गरेका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनकै उम्मेदवार बन्ने भएपछि बामदेवका कार्यकर्ताहरू समेत बामदेवका पछाडि लागेर बिचल्लीमा परेको गुनासो गर्न थालेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताउन थालेका छन् ।

गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन गरिसकेको छ । तर, गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेपछि गठबन्धनमा सहमति हुन नसकेपछि उनी चुनावी मैदानबाट बाहिरिने भएका हुन् ।

आगामी चुनावमा निर्वाचित भई प्रधानमन्त्री हुने सपना गौतमले राखेका थिए । त्यसकै लागि गौतमले माओवादीको चुनाव चिन्ह प्रयोग गरेर संसद्मा पुग्ने योजना बुनेका थिए । तर सत्ता गठबन्धनकै सिट बाँडफाँटमा गौतमले क्षेत्र पाउन सकेनन् ।

सांसद लागि भएका ६ निर्वाचनमध्ये गौतम तीन चुनावमा पराजित भए भने तीन चुनावमा विजयी भएका थिए । वि.सं ०४८ र ०५१ सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित उनी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै ठाउँबाट निर्वाचित भएका थिए तर, ०५६, ०६४ र ०७४ का निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए । उनी तीन पटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *