बाँकेका ३ क्षेत्रको भागबण्डामा गठबन्धनका आ-आफ्नै सकस, धवलशमशेरलाई एमालेको आश – Nepal Press

बाँकेका ३ क्षेत्रको भागबण्डामा गठबन्धनका आ-आफ्नै सकस, धवलशमशेरलाई एमालेको आश

रूपन्देही । तीन संघीय निर्वाचन क्षेत्र रहेको बाँकेमा उम्मेदवार छनौटका लागि दलहरूले आन्तरिक तयारी गरिरहँदा आकांक्षीको पनि दौडधुप बढेको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बाँकेमा सीट संख्याभन्दा बढी दाबीका कारण भागबण्डामा सकस देखिन्छ । स्थानीय निर्वाचनमा वर्चश्व गुमाएको एमालेमा गठबन्धन र पार्टी विभाजनले चुनौती छ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र, नेकपा एस तथा जनमोर्चा गठबन्धनको बलमा एमालेलाई रोक्ने गरी निर्वाचनको तयारीमा छन् । तर, एकले अर्कोलाई सहज स्वीकार गरेर सीटको टुंगो लाग्ने स्थिति नदेखिएको स्वयं नेताहरू स्वीकार्छन् ।

कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. शुशील कोइरालको गृहनगर भएकाले पनि कांग्रेस आफ्नो विरासत सहजै अरुलाई छोड्न चाहेको छैन । कांग्रेस बाँकेका महासमिति सदस्य मेघराज वली जिल्लामा निर्वाचन जित्न कांग्रेसलाई कसैको बैशाखी टेक्न आवश्यक नभएको जिकिर गर्छन् ।

२०७४ को चुनामा १ नम्बर क्षेत्रबाट माओवादीका महेश्वरजंग गहतराज ‘अथक’, २ नम्बरबाट जसपाका (तत्कालीन फोरम) मोहम्मद इस्तियाक राई र ३ नम्बर क्षेत्रबाट एमालेका नन्दलाल रोकाया निर्वाचित भएका थिए ।

मंसिर ४ मा माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री गहतराजले १ नम्बरबाट उम्मेदवारीको तयारी गरेका छन् । यो क्षेत्रमा एमालेबाट सूर्य ढकाल र नेपाली कांग्रेसबाट जिल्ला सभापति नारायणप्रसाद गौडेल, माधवराज खत्री र पोषण केसीको चर्चा छ । १ नम्बर क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छन् ।

गौडेल यसअघि प्रदेशसभा उम्मेदवार थिए । सभापति गौडेल अब पार्टीले १ नम्बर क्षेत्रबाट आफूलाई प्रतिनिधि सभातर्फ अगाडि बढाउनेमा विश्वस्त छन् । स्थानीय निर्वाचनमा कोहलपुर, राप्ती सोनारी कांग्रेसले जितेको छ भने नरैनापुरमा जसपा विजयी भएको छ । गत निर्वाचनमा १ नम्बर क्षेत्रको प्रदेशसभातर्फ माओवादीबाट कृष्णा केसी र एमालेबाट आरती पौडेल निर्वाचित भएका थिए । पौडेल लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री हुन् ।

स्थानीय तहमा यो क्षेत्रमा वडागतरूपमा दलहरूको मत अनुसार कांग्रेस २८६१९, एमाले २५३१०, माओवादी १७११०, राप्रपा ४७८९, जसपा ३९५१, एस ६२३, लोसपाको ३६१ छ ।

२ मा धवलशमशेर र इस्तियाकको ‘लडाइँ’

बाँके २ मा राप्रपाका नेता धवलशमशेर राणा र जसपाका नेता इस्तियाक राईबीचको भीडन्त सम्भावना छ । गठबन्धनको सहायतामा इस्तियाक राई नै अगाडि सर्ने तयारीमा छन् । राई अहिले संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री छन् । विगतमा यो क्षेत्र स्व. सुशील कोइरालाको क्षेत्र हो । कोइरालाको क्षेत्रमा गत निर्वाचनमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ओमप्रकाश आजादलाई समर्थन गरेको थियो ।

राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर धवलशमशेर राणा र एमालेबाट व्यवसायी कृष्णप्रसाद श्रेष्ठको चर्चा छ । राणा २ नम्बर क्षेत्रका लागि बलिया दाबेदार हुन् । नेपालगञ्जमा उनको राम्रो पकड छ । राणाले आगामी निर्वाचन लडेर बाँके २ नम्बर क्षेत्रबाट आफू विजयी हुने दाबी गरेका छन् ।

एमालेसँग तालमेलको तयारीमा राप्रपा लागेकोले उनलाई जित्ने आश पनि छ । स्थानीय निर्वाचन अगाडि उनले नेपालगञ्जमै एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । २ नम्बर क्षेत्रमा एमालेको बलियो उम्मेदवार पनि नदेखिँदा एमालेले राणालाई समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाको साथ एमालेलाई रहन सक्ने नेताहरूको अनुमान छ ।

कांग्रेसबाट लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल र उनका दाजु गजेन्द्र हमालको चर्चा छ । गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरे पनि ४० घण्टा नबित्दै हमालले राजीनामा दिएका थिए । आगामी निर्वाचनमा तालमेल नहुने अवस्था आए २ नम्बर क्षेत्रबाट गजेन्द्र वा उनका भाइ सुरेन्द्र प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने दौडमा छन् ।

गत निर्वाचनमा इस्तियाक राई २१ हजार ५७५ मतका साथ विजयी भएका थिए । इस्तियाकका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनले समर्थन गरेका पशुपति दयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरेका थिए । राईले मुस्लिम समुदायको मतका साथ गत निर्वाचनमा जीत निकालेका थिए ।

मिश्रलाई अहिले एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाए पनि उनी पराजित भएका थिए । २०७४ सालमा मिश्र हृदयेश त्रिपाठी समूहबाट थिए । २ नम्बर क्षेत्रबाट प्रदेश सभातर्फ तत्कालीन फोरमका विजयबहादुर यादव र कांग्रेसका सुरेन्द्र हमाल विजयी भएका थिए । २ नम्बर क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका पर्छन् ।

स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा यो क्षेत्रमा कांग्रेस १८०३७, एमाले १५४७८, जसपा १३८०९, राप्रपा ८४९४, माओवादी ६८५९, एस ८२१, लोसपा ५६४ मत ल्याएका छन् ।

बाँके ३ नम्बर क्षेत्रमा यसपटक एमालेबाट जिल्ला अध्यक्ष किस्मत कक्षपति उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । कांग्रेसबाट बादशाह कुर्मी, महासमिति सदस्य मेघराज वली, माओवादी केन्द्रबाट ईन्द्रप्रसाद खरेल (आईपी) र नेकपा एकीकृत समाजवादीबाट दलबहादुर सुनारको चर्चा छ ।

२०७४ मा यहाँ एमालेका नन्दलाल रोकाया ३१ हजार ६०१ मतका साथ विजयी भएका थिए । रोकायाका प्रतिस्पर्धी कांग्रेसका कुर्मीले २५ हजार ६१७ मत ल्याएका थिए । कुर्मी अहिले पनि उम्मेदवारको दाबेदारमा पर्छन् । २ नम्बर क्षेत्रमा प्रदेश सभातर्फ माओवादीका आईपी खरेल र एमालेका बाबुराम गौतम निर्वाचित भएका थिए । २ नम्बर क्षेत्रमा खजुरा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २ वडा पर्छन् ।

अध्यक्ष कक्षपतिले गत निर्वाचनको गहन संश्लेषण गर्दै पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउँदै आउँदो निर्वाचनमा केन्द्रित हुने बताए । उनले  भने, ‘पार्टीले अगाडि सारे यो पटक उम्मेदवार बन्ने हो । अहिले हामी पार्टी सुदृढीकरण, प्रशिक्षण, विभाग बैठक र संगठनहरूको प्रशिक्षणमा केन्द्रित छौं ।’

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् । उनी बाँके एमालेमा सर्वस्वीकार्य नेताको रूपमा चिनिने एमाले कार्यकर्ताहरू बताउँछन् ।

यता, कांग्रेसका युवा नेता वलीले ३ नम्बर क्षेत्रमा कांग्रेसले आफूलाई अगाडि सार्नुपर्ने बताए । ‘गठबन्धनको नाममा २-३ हजार मतको पनि जनाधार नभएका पार्टीलाई टिकट दिए दुर्भाग्यपूर्ण हुन्छ । त्यसैले नेतृत्वले टिकट वितरणमा सुझबुझ रूपमा विवेक पुर्‍याउनुपर्छ,’ नेता वलीले भने ।

बाँकेमा प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी र जसपाको जनाधार बराबर जस्तै देखिन्छ । स्थानीय तहको वडाध्यक्षमा आएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस २५६८९, एमाले २२१५९, माओवादी १४८१८, राप्रपा ४६४१, जसपा ४१९९, एस २३४८, लोसपा १०३७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *