दाङमा महरा र पोखरेलबीच टक्कर निश्चित, मेटमणि र हीराचन्द्रमध्ये को पछि हट्ने ? – Nepal Press
आम निर्वाचन- २०७९

दाङमा महरा र पोखरेलबीच टक्कर निश्चित, मेटमणि र हीराचन्द्रमध्ये को पछि हट्ने ?

रुपन्देही । आगामी निर्वाचन नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका प्रभावशाली केन्द्रीय नेताहरुमध्ये दाङमा कसले टिकट पाउला भन्ने चर्चा सुरु भएको छ ।

दाङ २ एमाले महासचिव शंकर पोखरेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो । अघिल्लोपटक प्रदेशसभामा झरेका महासचिव पोखरेल यसपटक प्रतिनिधिसभामा उक्लिने सम्भावना छ । तर गठबन्धनबाट महराले टिकट पाउँदा दुई वाम नेताबीच कडा टक्कर पर्ने देखिएको छ ।

दाङ क्षेत्र नं १ नेकपा एसका नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो । यहाँ एमालेबाट गंगा वा शान्ता चौधरी दावेदार छन् । क्षेत्र नं ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे वा कोमल वलीको चर्चा छ ।

दाङमा सत्ता गठबन्धनबाट १ नं क्षेत्रमा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका कृष्णबहादुर महरा र ३ मा कांग्रेसका दीपक गिरीले टिकट पाउने बलियो सम्भावना छ । एमालेबाट क्षेत्र नं २ मा महासचिव पोखरेलको निश्चित जस्तै छ । १ नं र ३ नम्बर क्षेत्रमा कसले टिकट पाउने भन्ने रस्साकस्सी चलिरहेको छ ।

पाँच दल सत्ता गठबन्धन बलियो बनाएर एमालेलाई माथ खुवाउने योजनामा छ । त्यस्तै स्थानीय निर्वाचनमा गठबन्धनमा देखिएको विवादमा टेकेर एमाले आफ्नो वर्चश्व जोगाउने रणनीतिमा लागेको छ । एमालेले स्थानीय निर्वाचनमा दुई उपमहानगरमा बलियो गठबन्धन भत्काएर जित निकालेको थियो । माओवादीका केही प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेको, नेकपा एसले धेरै मत काट्न नसकेको र कांग्रेस तथा माओवादीका कार्यकर्ताले एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेकाले स्थानीय तह निर्वाचनमा जस्तै आफ्नो पुरानो वर्चश्व कायम राख्ने दाबी एमालेको छ ।

महरा र पोखरेलबीच टक्कर, कसले मार्ला बाजी ?

२०७४ मा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा प्रतिनिधिसभा र शंकर पोखरेल प्रदेशसभामा चुनाव लडेका थिए । तर, यसपटक प्रतिनिधिसभामा महरा र पोखरेल आमनेसामने हुने स्थिति बनेको छ ।

गठबन्धनमा यो क्षेत्र महराले नै पाउने करिब निश्चित छ । तर, यसअघि महराले हराएका कांग्रेस नेता राजु खनालले पनि यहाँ दाबी गर्दै आएका छन् । माओवादी केन्द्र दाङका सहइन्चार्ज निर्मल आचार्यले दाङ २ मा कृष्णबहादुर महराले नै प्रत्यक्ष निर्वाचन लड्ने बताए ।

यसअघि महराले खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाउँदा खनालले २५ हजार ८९७ मत ल्याएका थिए ।

एमालेबाट पोखरेलबाहेक कसैको दाबी देखिएको छैन । उनी क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए । एमाले दाङका सचिव मनोहर बुढाथोकीले क्षेत्र नम्बर २ मा एमालेबाट महासचिव पोखरेल निश्चित जस्तै भए पनि अन्य क्षेत्रमा धेरैको दाबी रहेको बताए ।

पोखरेलले प्रतिस्पर्धीभन्दा ९ हजार ५२५ मत बढी प्राप्त गरेका थिए । उनले २० हजार ६९४ मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत ल्याएका थिए ।

प्रदेशसभाको अर्को क्षेत्रमा एमालेकै अमरबहादुर डाँगी निर्वाचित भएका थिए । तर, पोखरेल नेतृत्वको सरकार ढाल्न उनले सांसदमात्रै छाडेनन् एमाले नै छोडे । अहिले डाँगी माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार बनेका छन् ।

क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । बंगलाचुली गाउँपालिका माओवादी केन्द्रले जितेको छ । घोराही उपमहानगरपालिका एमाले जितेको छ । गएको निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धन पराजित भएपछि कांग्रेस र माओवादी केन्द्र एक-अर्कोलाई अन्तर्घातको आरोप लगाइरहेका छन् । जसले गर्दा क्षेत्र नम्बर २ मा गठबन्धनमा उत्साह छैन ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा आएको मतअनुसार यो क्षेत्रमा एमाले ३३ हजार ५९३, कांग्रेस २३ हजार ३०१, माओवादी १० हजार ४७८, राप्रपा ३ हजार २६४ र नेकपा एसको २ हजार ९४२ रहेको छ ।

मेटमणिलाई गठबन्धनको आश

आफ्नो पार्टीको बलियो सांगठनिक आधार नभए पनि सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा शहरी विकासमन्त्री मेटमणि चौधरी बलियो दावेदार हुन् । उनी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । चौधरीसँगै एमालेबाट प्रदेशसभा सांसद एवं एमालेका केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा र गंगा चौधरी बलिया उम्मेदवार हुन् ।

यो क्षेत्रमा कांग्रेस नेताहरुले स्थानीय निर्वाचनमा २ हजार ३ सय मत ल्याएको पार्टीलाई ३० हजार हाराहारीमा मत ल्याएको पार्टीबाट भोट दिलाएर जिताउन नसकिने तर्क गर्दै आएका छन् ।

यसअघि पहिलोपटक निर्वाचन लडेका मेटमणिले ३७ हजार ९०८ मत पाएका थिए । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् । नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासेले क्षेत्र नम्बर १ बाट मेटमणि नै उम्मेदवार बन्ने बताए ।

क्षेत्र १ को प्रदेशसभातर्फ शर्मा र माओवादी केन्द्रका इन्द्रजीत थारूले जितेका थिए । थारूले पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता स्व. खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरका ४ वटा वडा पर्छन् । गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा वडाध्यक्षमा आएको मतभारअनुसार कांग्रेस २९ हजार ७५७, एमाले २७ हजार ०२५, माओवादी १९ हजार २७६, राप्रपा २ हजार ३५०, एस २ हजार ३४१ र जसपाको ८०७ मत रहेको छ ।

चर्चामा क्षेत्र नं ३

कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको क्षेत्र हो दाङ ३ । यहाँबाट अहिलेका सांसद तथा राज्यमन्त्री बनेका हीराचन्द्र केसीले नेकपा एसबाट दाबी गरेका छन् । तर, १ नम्बर क्षेत्रमा मेटमणिले नपाई केसीले पाउने सम्भावना छैन ।

एमालेबाट घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीमध्ये एक उम्मेदवार हुने चर्चा छ । पाण्डे मुख्यमन्त्री बन्ने दलबाट आधिकारिक भनाइ नआएसम्म संघमा नछोड्ने अडानमा छन् । अघिल्लोपटक तुलसीपुर उपमहानगरमा मेयर हुँदा राम्रो काम गरेको र अहिलेको पालिका निर्वाचनमा पनि तुलसीपुरमा एमालेलाई जिताएपछि पाण्डेको पक्षमा माहोल बलियो बन्दै गएको जिल्ला नेताहरू बताउँछन् । तर, वलीले केन्द्रको पहुँचमा टिकट ल्याउन पनि सक्ने केहीले आंकलन गरेका छन् ।

कांग्रेसबाट पूर्वमन्त्री गिरी यसअगाडि पनि उम्मेदवार थिए । यो क्षेत्रबाट यसअगाडि एमालेबाट निर्वाचित हीराचन्द्र केसी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । केसीले ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत ल्याएका थिए ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरीले जितेका थिए । चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मालाई २ हजार ३३६ मतान्तरले हराएका थिए । चौधरी अहिले लुम्बिनी प्रदेशको मन्त्री छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (ख) मा एमाले उम्मेदवार उत्तरकुमार वली निर्वाचित भएका थिए ।

वलीको सडक दुर्घटनामा ३ वर्ष अगाडि निधन भएपछि भएको उपनिर्वाचनमा उनकी धर्मपत्नी विमला वली निर्वाचित भएकी थिइन् । हाल उनी माओवादीमा छिन् । उनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री भए पनि विवादमा तानिएपछि अहिले हटाइएकी छन् ।

कांग्रेस दाङका सभापति शंकर डाँगीले गठबन्धन दलबीच तीन निर्वाचन क्षेत्रमा सीट बाँडफाँट हुने बताए । क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका केही वडा पर्छन् । तुलसीपुरबाहेक तीनवटै क्षेत्रमा कांग्रेसले जितेको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले यो क्षेत्रमा ल्याएको मत परिणामअनुसार एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, एस १ हजार ९३८, राप्रपाको १ हजार ४४४ र जसपाको १८२ रहेको छ ।


प्रतिक्रिया

One thought on “दाङमा महरा र पोखरेलबीच टक्कर निश्चित, मेटमणि र हीराचन्द्रमध्ये को पछि हट्ने ?

  1. कहाँको यौनकाण्डवाला कहाँको महासचिव। तुलना नै हुदैन। ष‌‌‌‍‌‌‌‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर