पर्दाभित्रका प्रदीप गिरी : नखुलेका पाटाहरु – Nepal Press

पर्दाभित्रका प्रदीप गिरी : नखुलेका पाटाहरु

काठमाडौं । समाजवादी चिन्तकको छवि बनाएका कांग्रेस नेता प्रदीप गिरी अब हामीबीच छैनन् । गत शनिबारको रात मेडिसिटी अस्पतालमा अन्तिम सास फेरेका उनको भौतिक शरीर धुवाँ बनेर हावामा विलिन भइसकेको छ ।

गिरीको राजनीतिक चिन्तन र योगदानबारे अहिले सञ्चारमाध्यममा चर्चा-परिचर्चाहरु जारी छन् । यस आलेखमा चाहिँ उनको निजी जीवनका केही पाटोहरुलाई खोतल्ने प्रयास गरिएको छ, जुन उनी जिउँदो छउञ्जेल रहस्यको पर्दाभित्र रहे । सार्वजनिक व्यक्ति भएर पनि उनको जीवन विरलै सार्वजनिक चर्चाको विषय बन्यो । कतिलाई त गिरी विवाहित थिए कि अविवाहित नै इहलोक प्रस्थान गरे भन्नेसमेत एकिन छैन ।

क्यान्सर रोगबाट पीडित नेता अस्पतालको बेडमा मृत्युसँग संघर्ष गरिरहँदा गत शुक्रबार बेलुकी सामाजिक सञ्जालमा नराम्रो हल्ला फैलियो । केही जिम्मेवार व्यक्तिले उनलाई जिउँदैमा श्रद्धाञ्जली दिएपछि शुभचिन्तक आहत बने । त्यसपछि परिवारले ‘स्टेटमेन्ट’ नै दिनुपर्‍यो ।

परिवारका तर्फबाट भारती सिलवालले विज्ञप्ति निकाल्दा उनी गिरीकी पत्नी हुन् भन्ने धेरैले पहिलोपटक थाहा पाए । सिलवाल गिरीपत्नीको रुपमा खुलेको पनि उनी मृत्युशय्यामा पुगेपछि मात्रै हो । अन्यथा यो जोडी दम्पती भएर पनि दम्पतीको रुपमा थिएन ।

निकटस्थका अनुसार प्रदीप र भारतीबीच औपचारिक बिहेवारी कहिल्यै भएन । तर, उनीहरुले कानूनी रूपमा विवाह दर्ता भने गरेका छन् । दार्जिलिङे बाबु र नेपाली आमाकी छोरी भारतीको यो दोस्रो विवाह थियो ।

कानूनी विवाह गरे तापनि भारती र प्रदीप सँगै भने बस्थेनन् । भारती सुरुमा रेडियो नेपालमा अंग्रेजी समाचार वाचन गर्थिन् । पछि संयुक्त राष्ट्रसंघमा जागीर खान थालिन् । उनले धापासीमा घर बनाएकी छन् । सोे घरमा उनी आफ्नो छोरा सन्तोष गिरीसँग बस्छिन् ।

प्रदीपको घर चाहिँ भीमसेनगोलामा थियो । उनी महिनामा एकपटकजस्तो श्रीमतीको घरमा गएर बस्थे । दिगो रुपमा श्रीमान-श्रीमती सँगै नबस्नुको कारण भने उनीहरु दुईलाई मात्रै थाहा हुनसक्छ । यद्यपि, स्वच्छन्द जीवनयापनका पक्षपाती प्रदीप पारिवारिक बन्धनमा बस्न नचाहेको अनुमान गरिन्छ ।

प्रदीप र भारतीबाट कुनै सन्तान भएनन् । भारतीको पूर्वश्रीमानतर्फका छोरा हुन् सन्तोष । प्रदीपले उनलाई धर्मपुत्रका रुपमा स्वीकारेका थिए । बाबुको नामसमेत दिएका थिए । सन्तोषको नागरिकता उनले आफ्नै नामबाट बनाइदिएका हुन् ।

भीमसेनगोलामा रहेको घर प्रदीपले करिब दुई वर्षअघि अढाइ करोडमा बिक्री गरेका थिए । घर बिक्रीबाट आएको पैसाले एउटा अस्पताल खोल्ने उनको योजना थियो । जन्मस्थान बस्तीपुरमा रहेको आश्रम लहानमा सारेर त्यहाँ उनी एउटा अस्पताल निर्माण गर्न चाहन्थे । तर, केही समयमै बिरामी परेपछि सो योजना अधुरो रह्यो ।

घर बेचेको पैसा गिरीको भारतमा उपचार गर्दा खर्च भएको उनका निटकस्थ कांग्रेस कार्यकर्ता रामपल्टन साह बताउँछन् । भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गर्न डेढ करोड आईसी जति खर्च भएको उनको भनाइ छ । उनले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग आर्थिक सहयोग मागेनन् ।

घर बेचे पनि गिरीलाई काठमाडौंमा बस्न दुःख थिएन । चाबहिलमा रहेको एउटा अपार्टमेन्टमा जुगल भुर्तेलले उनलाई बस्न एउटा फ्ल्याट उपलब्ध गराएका थिए । यसैगरी टोखामा डा. बाबुराम भट्टराई बस्ने हाउजिङमा पनि उनको एउटा घर थियो । बिरामी हुनुअघि उनी त्यही घरमा सर्ने तयारीमा थिए । तर, पछिल्ला केही महिना भारत आउजाउमै बित्यो । भारतकै अस्पतालमा उनी महिनौंसम्म थलिए । त्यसैले टोखाको हाउजिङमा सर्न पाएनन् ।

काठमाडौंमा गिरीको आफ्नो जग्गाजमिन भने थिएन । उनको पुर्ख्यौली घर लहान नगरपालिकाको बस्तीपुरमा छ । उनका बुवाको १७ विघा जग्गा थियो । उक्त जग्गा चार दाजुभाइमा भागबन्डा हुँदा प्रदीपले तीन दाजुभाइलाई छान्न लगाएर कमसल खालको जग्गा आफूले लिएका थिए । कुनै उब्जनी गर्न नसकिने सोही जग्गामा गिरीले एउटा आश्रम स्थापना गरे । २०४८ सालको चुनाव हारेपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सोही आश्रममा प्रदीपसँगै एक महिना गीता पाठ गरेर बसेका थिए ।

त्यो भेगका सबै पार्टीका नेताहरु त्यो आश्रममा गएर बस्ने गर्थे । आश्रममा गिरीले अनाथालयसमेत सञ्चालन गरेका छन् । पाँच वर्षदेखि अनाथालयमा उनले १०० बच्चालाई राखेर लालनपालन र शिक्षादीक्षा दिइरहेका थिए । यसमा उनलाई विभिन्न उद्योगी-व्यवसायीले आर्थिक सहयोग गरेका छन् । अनिल रुङ्टा र सीपी खेतान उनका निकट सहयोगी हुन् ।

मेडिसिटीले गर्यो निःशुल्क उपचार

रोग ठीक नहुने निश्चित भएपछि गिरीलाई मुम्बईबाट काठमाडौं ल्याएर साउन १० गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालले गिरीलाई करिब १ महिना राखेर उपचार गरेको सम्पूर्ण शुल्क मिनाहा गरेको छ ।

भर्ना गरेपछि पहिलो चरणमा गिरीका मित्र सीपी खेतानले अस्पताललाई १ लाख ६२ हजार रुपैयाँ बुझाएका थिए । त्यसको चार दिनपछि सो अस्पतालका सञ्चालक उपेन्द्र महतो विदेशबाट आए । उनले प्रदीप आफ्नो बुवासरह भएको भन्दै सबै उपचार निःशुल्क गर्ने बताए । ‘उहाँकै चिठीका कारण आफू रसिया जान पाएको’ भन्दै कुनै पैसा असुल उनले नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । दुई दिनमै साढे ३ लाख बिल उठिसकेको थियो ।

उपचारमा छँदा नेपालमा नपाइने दुई-तीन वटा औषधि विदेशबाट मगाउनुपरेको थियो । यसका लागि वीरगञ्जका अनिल रुङटा र राजेन्द्रबहादुर अमात्यले सहयोग गरेका थिए ।

गगन थापालाई प्रधानमन्त्री बन्न आशीर्वाद

अवस्था गम्भीर भएपछि अस्पतालमा कांग्रेसका नेता-कार्यकर्ताको ताँती लागेको थियो । तर, करिब एक साताअघिबाट भने उनी अचेत भए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीलाई अस्पतालमा भेटे पनि दोहोरो संवाद गर्न पाएनन् । देउवा पुग्दा गिरी होसमै भए पनि बोल्न सक्ने हालतमा थिएनन् ।

भेटमा देउवाले ‘जसरी पनि हजुर ठीक हुनुपर्छ, पार्लियामेन्ट जानुपर्छ’ भन्दै हौसला दिने प्रयास गरेका थिए । गिरीले देउवातिर हेरेर केही बोल्न खोजे । तर, उनको मुखबाट ‘पा पा पा पा…’ मात्रै निस्कियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले चाहिँ गिरीलाई भेटेर संवाद गर्न भ्याए । गिरीले उनलाई चुनावपछि प्रधानमन्त्री बन्न आशीर्वाद दिएका थिए । युवाहरु अघि आउनुपर्छ भन्ने पक्षमा रहेका गिरी चुनावपछि प्रधानमन्त्रीमा दाबी गर्ने गगनको घोषणाप्रति सकारात्मक थिए ।

स्रोतका अनुसार उनले गगनलाई भनेका थिए, ‘तपाईंको प्रधानमन्त्री बन्ने उद्देश्यमा मेरो समर्थन छ । आफ्नो अभियानमा अडिक रहनुस् । सत्यतथ्यलाई बोकेर हिँड्नुस् । युवाको पक्षमा बोल्नुस् । पार्टीलाई बलियो बनाउनुस् ।’

गिरीले कांग्रेसभित्र गगनसँगै विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालाई बढी माया गर्थे । व्यक्तिगत रुपमा सबैभन्दा नजिक चाहिँ विमलेन्द्र निधि थिए ।

‘तपाईं आँट गर्नुस्, शेरबहादुर चार चोटि सभापति हुनुभयो । तपाईं किन डराउनुहुन्छ ? सत्यको विजय निश्चित छ’, गिरीले विमलेन्द्रलाई पनि प्रधानमन्त्री बन्न हौस्याएका थिए ।

तर, एक साता अघिबाट गिरी पूर्ण अचेत बने । त्यसपछि उनलाई भेन्टिलेटरमा राखियो । तीन दिन भेन्टिलेटरमा राखेपछि चौंथो दिन भदौ ४ गते बेलुका उनलाई मृत घोषित गरियो । मृत घोषित गर्दा अस्पतालमा श्रीमती भारती, छोरा सन्तोष, दुई डाक्टर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सहयोगी रामपल्टन साह थिए ।

घाँटीको क्यान्सर निको भयो, तर…

करिब १० वर्ष अगाडि नै प्रोस्टेटको अपरेसन गराउन गिरी मुम्बई गएका थिए । त्यतिबेला उनले आफूलाई १० वर्षपछि क्यान्सर हुने भविष्यवाणी गरेको रामपल्टन बताउँछन् ।

सुगर, थाइराइडलगायतका रोग पनि भएकाले उनी ६–६ महिनामा स्वास्थ्य जाँच गर्न दिल्ली वा पटना पुग्थे । करिब दुई वर्षअघि पटनामा नियमित जाँचकै क्रममा उनलाई क्यान्सरको आशंका गरिएको थियो । घाँटीको ग्ल्यान्डमा क्यान्सरको आशंका पछि उनी परीक्षण गर्न दिल्ली गए । पटनामा गरिएको आशंका दिल्लीमा पुष्टि भयो । त्यहाँ उनलाई केमो दिइयो । ६ महिना दिल्लीको हिन्दूजा अस्पतालमा बसेपछि उनलाई मुम्बई लगियो । त्यहाँको अपोलो अस्पतालमा रेडियसन गरियो ।

मुम्बईमा लामो बसाइपछि गिरीको घाँटीको क्यान्सर बिसेक भएको थियो । तर, पेटमा समस्या सुरु भयो । पेट दुख्न थालेपछि सुरुमा डाक्टरले औषधि चलाए । तर, ठीक भएन । त्यसपछि भिडिओ एक्सरे गर्दा पेटमा शंकास्पद गाँठो देखिए । फेरि डाक्टरले पेट सीटी स्क्यान गर्न सुझाए । उक्त सीटी स्क्यानले हार्ट, लङ्समा क्यान्सर फैलिएको देखायो । अहिलेको क्यान्सर निको हुन नसक्ने अवस्थामा पुगिसकेको डाक्टरहरुले बताएपछि गिरीलाई नेपाल फर्काइएको हो ।

काठमाडौंमा ओर्लिएपछि सरासर मेडिसिटी अस्पताल लगियो । रोग ठीक नहुने निश्चित भए पनि बाचुञ्जेल शारीरिक पीडा कम होस् भन्नका खातिर अस्पताल राखिएको थियो । मेडिसिटीमा पनि उनलाई केमो दिइएको थियो । पहिलो केमो दिएपश्चात गिरीले केही आराम महसुस गरेका थिए । तर, दोस्रो केमोपछि उनलाई गाह्रो हुन थाल्यो । तेस्रो केमो उनले लिनै सकेनन् । निमोनियाले समेत उनलाई थप गाह्रो बनायो ।

आफ्नो शरीरिक स्वास्थ्यलाई गिरी सहज रुपमा लिने गर्थे । आत्मबल दह्रो थियो । क्यान्सर देखिएपछि पनि उनी नर्भस भएका थिएनन् । तर, मुम्बईबाट फर्काइएपछि भने उनका सबै आशाहरु समाप्त भए ।

गिरीले उपचारका लागि नेपाल सरकारबाट सहयोग लिएका छैनन् । मेडिसिटीले उपचार निःशुल्क गरे पनि भारतमा उनको ठूलै खर्च भयो ।

गिरीका निजी सहायक कृष्ण खनालले भारतमा भएको उपचार खर्चबारे जानकारी दिन चाहेनन् । ‘उपचारमा कति लाग्यो अहिले नभनौं । तर, सबै पैसा आफैंले म्यानेज गर्नुभएको हो । साथीभाइ र शुभचिन्तकबाट जुटाउनुभएको हो’, उनले भने ।

उनले भारत सरकारसँग उपचार निःशुल्क गराउन कुनै आग्रह नगरिएकोसमेत बताए ।

दूतावासका विश्वासपात्र

भारतका विश्वासपात्र नेपाली नेताहरुमध्ये अग्रपंक्तिमा आउँथे गिरी । काठमाडौंस्थित भारतीय दूतावाससँग उनको न्यायो सम्बन्ध थियो । दूतावासले उनलाई मधेसी नेताहरुभन्दा बढी विश्वास गर्थ्यो । नेपालमा धेरै संघ–संस्थाहरुलाई आर्थिक सहयोग दिलाउन गिरीले भारतीय दूतावाससँग मध्यस्थता गरेका थिए ।

भारतले नेपाली विद्यार्थीहरुलाई दिने छात्रवृत्तिमा पनि गिरीको सिफारिस अकाट्य रुपमा चल्थ्यो । उनको सिफारिसमा अहिलेसम्म दूतावासले सयौंको संख्यामा मधेसी विद्यार्थीलाई भारतमा छात्रवृत्ति प्रदान गरिसकेको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा भर्ना भएकै अवस्थामा पनि उनले फोनबाट दूतावासमा आर्थिक रुपमा विपन्न एक मधेसी विद्यार्थीको सिफारिस गरेका थिए । उनलाई एम्बेसीले अघोषित रुपमा ३–४ जना विद्यार्थीको कोटा नै दिएको थियो ।

राजनीतिक एजेन्डाहरुमा पनि गिरीले भारतीय लाइनको पक्षपोषण गर्दै आएका थिए । उनले नेपालको संविधानमा हस्ताक्षर नगर्नुमा भारतसँगको निकटता नै प्रमुख कारण थियो । भारतले अस्वीकार गरेको संविधानमा उनले हस्ताक्षर गर्न चाहेनन् ।

आदर्शवादी नेता

राजनीति छोडेर बाँकी जीवन आश्रममै बिताउने योजना गिरी निकटस्थलाई सुनाउने गर्थे । १० वर्षदेखि चलाइरहेको अनाथालयलाई थप समृद्ध बनाउन चाहन्थे उनी । आश्रमलाई लहानमा सिफ्ट गर्ने र हस्पिटल बनाउने सोच थियो ।

प्रदीप गिरीलाई धेरैलै आदर्शवादी नेताका रुपमा चिन्छन् । महात्मा गान्धीका अनुयायी उनको जीवनशैलीमा तडकभडक थिएन । उनले समाजवादको व्यवहारिक अभ्यास गर्न खोजेका थिए । जातपातमा पटक्कै विश्वास नगर्ने उनी मजदुरदेखि उद्योगीसम्मलाई समान व्यवहार गर्थे ।

गिरीको आश्रममा दलित भनिने मुसहर, डोम, चमार आदिलाई खाना पकाउन राखिएको छ । उनको आफ्नै भान्से मुस्लिम युवक छन्, जसको नाम परिवर्तन गरेर उनले कमल राखेका छन् । समाजवादको गफ गर्ने तर व्यवहारमा सम्भ्रान्त सीके लाल टाइपका थिएनन् उनी ।

कांग्रेस पार्टीमा रहे पनि उनका विचारहरु धेरै कम्युनिष्ट, खासगरी माओवादीसँग मिल्थे । समर्थकहरुले उनलाई अध्ययनशील, बौद्धिक र समाजवादी नेताका रुपमा प्रशंसा गर्छन् । आलोचकहरुले चाहिँ उनलाई साम्प्रदायिक र भारतपरस्त नेताका रुपमा चित्रण गर्ने गर्छन् । जसले जसरी चिने पनि गिरिको अवसानले नेपाली राजनीतिमा एउटा रिक्तता पैदा गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “पर्दाभित्रका प्रदीप गिरी : नखुलेका पाटाहरु

  1. विद्वान भए पनि भारतपरस्त नेताको रूपमा चिनिन्थ्ये भारतको इच्छा भन्दा बाहिर गएर नबोल्ने ।

  2. “समाजवादको गफ गर्ने तर व्यवहारमा सम्भ्रान्त सीके लाल टाइपका थिएनन् उनी ।” WHAT KIND OF SENTENCE IS THIS IN THIS TYPE OF FORMAL WRITING FOR A WIDER AUDIENCE?

Leave a Reply

Your email address will not be published. Required fields are marked *