आज गठबन्धन कार्यदलको बैठक- टुंगिएला सीट बाँडफाँटको मापदण्ड ? – Nepal Press

आज गठबन्धन कार्यदलको बैठक- टुंगिएला सीट बाँडफाँटको मापदण्ड ?

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

कार्यदलको बैठक यसअघि बिहीबार बसेको थियो । त्यसदिन भागबण्डाको मापदण्डमा छलफल भएपनि बैठक निष्कर्षमा पुगेको थिएन ।

मंसिर ४ का लागि सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको ‘डाटा’ को विश्वसनीयता प्रश्न उठाएका छन् ।

कार्यदलका सदस्य माओवादी नेता देव गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सीट जितेका छन् ती कायम राखेर एमालेले जितेका सीट बाँडफाँट हुने बताएका थिए । सदनमा उपस्थितिको आधारमा, समानुपातिक मतलगायतयलाई सहमतिको मोडालिटी बनाइने उनको भनाइ थियो ।

तर, कांग्रेसले भने स्थानीय चुनावलाई मुख्य आधार बनाउन खोजेको छ । आज यसबारे टुंगो लाग्ने बताइएपनि सम्भावना न्यून रहेको एक नेताले बताए ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइसकेको छ । भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा पेचिलो बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर