यु-२० साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित – Nepal Press

यु-२० साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । जारी यु-२० पुरुष साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–० गोलको नतिजामा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालको जितमा कप्तान आयुश घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे ।पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलको ५८औँ मिनेटमा आयुशले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो ।
लेफ्ट फ्यांकबाट अभिषेक वाइबाले गरेको क्रस श्रीलंकाका गोलकिपरबाट रिबाउन्ड आएको बललाई आयुशले जाली चुमाएका थिए ।खेलको ५८औँ मिनेटमा कृतिशले नेपालको अग्रता दोब्बर पारे । कृतिसले कप्तान आयुशको पासमा बक्सबाहिरबाट सुन्दर गोल गरेका थिए ।

यस्तै, निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा मनग्यले तेस्रो गोल गरेसँगै नेपालले सहज जित निश्चित गर्यो । सब्सिच्युट खेलाडी मनग्यले सुगम सुवालले राइट साइडबाट गरेको क्रसलाई ६ यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडे पनि गोल आधारमा बङ्गलादेश देश तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा मालदिभ्सलाई ४–० ले पराजित गरेको थियो ।

नेपालले जुलाई ३१ मा भारतसँग र अगस्ट दुईमा बङ्गलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोविन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट पाँचमा हुने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर