बजेट पारित गराउन कानुन मन्त्री सक्रिय, चौलानीमा ‘टी पार्टी’ – Nepal Press

बजेट पारित गराउन कानुन मन्त्री सक्रिय, चौलानीमा ‘टी पार्टी’

कैलाली। सुदूर पश्चिम प्रदेशमा सरकारले ल्याएको बजेट माथिको छलफल २८ दिन सम्म पनि सुरु हुन सकेको छैन ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेश सभामा प्रस्तुत गरेको बजेट उपयुक्त नभएको भन्दै सत्ता पक्ष र विपक्षमा सांसदहरूले विरोध गरिरहेका छन् ।

सत्ता पक्ष र विपक्षमा सांसदहरूले निरन्तर विरोध गरेपछि अहिले सम्म छलफल हुन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेका दलहरूका नेताहरू बजेट यथास्थितिमा पारित गर्ने मनस्थितिमा रहेपनि ती दल भित्रका अधिकांश प्रदेश सभा सदस्यहरूले बजेटको विरोध गरिरहेका छन् ।

यसै बिच कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले बजेट पारित गर्ने गरि भूमिका निर्वाह गरिरहेका छन् । उनकै पहलमा आज धनगढीको चौलानीमा ‘टी पार्टी ’ भएको छ । सत्ता गठबन्धनमा रहेका दलका सांसदहरूलाई त्यहाँ बोलाइएको थियो ।

सत्ता गठबन्धन भित्रै बजेटका बिषयमा फरक फरक धारणा भएपछि सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुलाई चिया पिउन भन्दै बोलाएका थिए ।

सामाजिक विकास मन्त्री गोविन्द बोहरा,अर्थ राज्य मन्त्री अमर साउद, भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरी, सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैका उपस्थित थिए । त्यहाँ माओवादी केन्द्रका मन्त्रीहरू भने थिएनन् ।

त्यहाँ बजेट कसरी पारित गर्ने भन्ने बिषयमा छलफल भएको थियो । त्यहाँ उपस्थित प्रदेश सभा सदस्यहरूले पनि बजेटमा धेरै योजनाहरू दोहोरिएका, सम्पन्न भएका योजनामा पनि बजेट वियोजित गरिएका, ठेगाना नमिलेका योजनाहरू परिष्कृत गर्नु पर्ने सुझाव दिएका थिए ।

आज दुई पटक सम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो । ११ बजे गणपूरक संख्या नपुगेर बैठक स्थगित गरियो भने ३ बजे प्रतिपक्षी दलले बहिस्कार गरे पनि संसद् चल्न सकेन ।

भोली ११ बजेका लागि बैठक बोलाइएको छ । काङ्ग्रेस नेताको निम्तोमा चिया पिउन गएकाहरू भोली सम्म वार्ता र संवाद गरेर निकास दिन सुझाव दिएका थिए । उनीहरुले प्रतिपक्षी दलहरूसँग पनि छलफल गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सभामा एमाले, जसपा र लोसपा प्रतिपक्षी दल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर