कैलाली जिसस गठनको ‘रोचक अंकगणित’, यस्तो छ सम्भावित समीकरण – Nepal Press

कैलाली जिसस गठनको ‘रोचक अंकगणित’, यस्तो छ सम्भावित समीकरण

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी हाबी, स्वतन्त्र विजेता हमाल निर्णायक

कैलाली । स्थानीय तहको निर्वाचनपछि अहिले कैलालीमा जिल्ला समन्वय समिति निर्वाचनको चर्चा सुरु भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेसले तीन पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको छ ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ । एमालेले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै माओवादी केन्द्रले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । कैलालीमा स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुख र नेकपा एकीकृत समाजवादीले एक पालिका प्रमुख जितेको छ ।

जिल्ला समन्वय समिति बनाउने विषयमा अहिले कैलालीमा फरक फरक ढंगबाट छलफल सुरु भइरहेको छ । जिल्ला समन्वय समिति निर्माण गर्न १४ मत आवश्यक पर्छ । कांग्रेस र नागरिक उन्मुक्ति मिल्ने अवस्थामा दुई पार्टी मिलेर जिसस बन्न सक्छ । नत्र तीन पार्टी मिलाउनुपर्ने बाध्यता छ ।

कांग्रेस र नागरिक उन्मुक्ति दुवैले सभापति नछोड्ने देखिएपछि यी दुई पार्टीको पनि सम्भावना कम भएको छ । यता कांग्रेसले पहिले प्राथमिकतामा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जिसस बनाउने आन्तरिक तयारी गरेको छ । तर, संख्यात्मकरूपमा त्यो पनि त्यति सहज देखिएको छैन ।

यसो गर्दा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्णायक देखिन्छन् । कांग्रेससँग आठ, माओवादीसँग चार र नेकपा एकीकृत समाजवादीसँग एक मत छ ।
यसरी गठबन्धनका दलहरूको १३ मत पुग्छ । उता नागरिक उन्मुक्ति, एमाले र स्वतन्त्र उम्मेदवारको संख्या पनि १३ नै रहेको छ ।

कांग्रेसबाट निर्वाचित कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आफू तटस्थ बस्नसक्ने जनाएपछि थप समस्या सृजना भएको छ । उनी गठबन्धनका आधिकारी उम्मेदवारविरुद्ध निर्वाचनमा होमिएर जितेका थिए । त्यो बेला उनलाई गठबन्धनका विरुद्धमा लागेको भन्दै कारबाही गरिएको थियो । उक्त कारबाही फुकुवा नभए आफू तटस्थ बस्नेसक्ने उनले बताए ।

‘मैले रुखभन्दा बाहिर मत हाल्ने कुरा हुँदैन तर मेरो कारबाही फुकुवा नभए म तटस्थ बस्न सक्छु’ उनले नेपाल प्रेसलाई भने ।

यता स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि तटस्थ बस्नसक्ने बताइएको छ । उनले अझैसम्म यस विषयमा आधिकारिक धारणा व्यक्त गरेका छैनन् ।

दुवै जनाले निर्वाचन प्रकृयामा सहभागिता नजनाउने हो भने गठबन्धनसँग र अन्यसँग १२–१२ मत रहन्छ । यति बेला नागरिक उन्मुक्ति कांग्रेससँगको हाराहारीमा पुग्छ । दुवै पार्टीसँग सात–सात मत रहन्छ ।

यस्तो बन्न सक्छ समीकरण

कांग्रेससँग मिले एक्लै र अन्य दलहरूसँग मिलेर पनि नागरिक उन्मुक्तिले जिल्ला समन्वय समिति बनाउन सक्छ । तर, दुवै पार्टीले प्रमुखमा दाबी गरेका छन् । यस विषयमा छलफल भइरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए ।

‘हाम्रो पहिलो प्राथमिकतामा गठबन्धन हो । गठबन्धनमा रहेका दलहरूबीच सहमति गरेर जिल्ला समन्वय समिति बनाउने कुरा हुन सक्छ’ उनले भने ‘त्यो भएन भने अरू विकल्पमा छलफल हुन्छ ।’

कांग्रेससँग मिल्दा कांग्रेसले सभापति र आफूहरुले उपसभापतिमा चित्त बुझाउनुपर्ने अवस्था देखेर नागरिक उन्मुक्ति पार्टीले कांग्रेसलाई बाहिर राखेर पनि जिल्ला समन्वय समिति बनाउने आन्तरिक तयारी गरेको छ ।

‘हामी एमाले र माओवादीसँग मिलेर पनि जिल्ला समन्वय समिति निर्माण गर्ने छलफलमा छौँ’ नागरिक उन्मुक्तिका एक नेताले भने ‘दुवै दलसँग छुट्टाछुट्टै छलफल भइरहेको छ । ठोस सहमति हुन बाँकी छ । ’

यी तीन दल मिल्ने अवस्थमा पनि कैलालीका जिसस बन्न सक्छ । प्रमुख उपप्रमुख सहित ९ सदस्य रहने जिल्ला समन्वय समितिमा नागरिक उन्मुक्तिले प्रमुख पाउने विषयमा करिब सहमति भएको छ । उपप्रमुखमा माओवादी र एमाले दुवैले दाबी गरेका छन् ।

नागरिक उन्मुक्तिका ती नेता भने आफ्नो दलले प्रमुख पाउने, एमालेले उपप्रमुख पाउने र माओवादी केन्द्रले अन्य दुई दल भन्दा धेरै सदस्य पाउने गरी आन्तरिक छलफल भइरहेको बताउँछन् ।

यता माओवादी केन्द्रले भने नागरिक उन्मुक्तिसँग छलफल भएको स्वीकार गर्दै अहिले सम्म ठोस सहमति भने हुन नसकेको जनाएको छ ।
‘छलफल भइरहेको छ तर, सहमति हुन सकेको छैन’ माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवालीले भने , ‘हाम्रो सम्मानजनक उपस्थितको लागि जुनसुकै दलसँग पनि मिल्न सक्छौँ ।’

नेकपा एमालेले पनि आफूहरूसहितको जिल्ला समन्वय समिति बन्ने दाबी गरेको छ । एमाले कैलालीका सचिव डेजी पाण्डेयले अहिले छलफलकै चरणमा रहेको बताएका छन् । ‘कैलालीमा एमाले सहितको जिल्ला समन्वय समिति बन्छ । कसरी बन्छ र कुन कुन दल रहन्छन् भन्ने कुरा हामी छलफलमै छौँ’, उनले भने ‘छलफल निष्कर्षमा पुग्न बाँकी छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर