गाउँपालिका अध्यक्ष गौचनको पहलमा भेटियो हराएको जहाज – Nepal Press

गाउँपालिका अध्यक्ष गौचनको पहलमा भेटियो हराएको जहाज

कैलाली । हिजो बिहान १० बजेर ७ मिनेटदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

पोखराबाट जोमसोम उडेको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएदेखि नै खोजी सुरु भएको थियो । तर, आइतबार अबेरसम्म कुनै सम्पर्क नभएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

मौसम प्रतिकुल भएका कारण हेलिकप्टरबाट खोजी गर्न सकस भएपछि सोमबार बिहानैबाट खोजी सुरु भएको हो । उता थासाङ गाउँपालिकाका अध्यक्ष प्रतीप गौचनले भने हिजोबाटै चारजनाको टोली सम्भावित क्षेत्रमा खटाएका थिए ।

‘हिजो यार्सा टिप्दै गरेको अवस्थामा एक जना भाइ टाउको नजिकबाट विमान उडेपछि तर्सिएका थिए । बादल भित्र छिरेपछि आवाज आएको र त्यसपछि प्लेनको आवाज नआएको कुरा मलाई भनेका थिए’, गाउँपालिका अध्यक्ष गौचनले भने ‘त्यो कुरा थाहा पाइसकेपछि सम्भावित क्षेत्रबारे अनुमान गर्न सहज भएको थियो । ’

विमान हराएको समय र ती युवाले टाउको माथिबाट विमान उडेको भनेको समय मिलेका कारण पनि हराएको विमान त्यहीं नै भएको अनुमान गर्न सकिएको उनले बताए ।

स्थानीय चारजना युवाले गाउँपालिका अध्यक्षको निर्देशनअनुसार सम्भावित क्षेत्रमा जहाज खोजी रहेका थिए । राति अबेरसम्म पनि सम्पर्कविहीन जहाज नभेटिएपछि त्यहाँ गएका चारजना मध्ये तीनजना फर्किए । सुनित गौचन भने राति पनि यार्सागुम्बा टिप्नेहरूसँगै बसेका थिए ।

‘तपाई त्यही बस्नु होला, यार्सा टिप्नेहरूसँग बिहानै ५ बजे सम्भावित क्षेत्रमा जानुहोला भने हामीले उहाँलाई आग्रह गरेका थियौं । त्यहीअनुसार चार–पाँचजना लिएर बिहान उहाँ जानु भएको रहेछ’ गाउँपालिका अध्यक्ष गौचनले भने, ‘आधा घण्टाअगाडि सम्पर्क हुँदा उहाँहरुले कोही जिवित नभएको बताएका छन् । अहिले उहाँहरूको मोबाइलको ब्याट्री सकिएको हुँदा सम्पर्क हुन सकिरहेको छैन।’

उनीहरूकै सूचनाको आधारमा प्रहरी अहिले त्यहाँ पुग्न खोजिरहेको छ । तर, मौसम खराब हुँदा हेलिकप्टर ल्यान्ड गर्न सकिरहेको छैन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि यार्सागुम्बा टिप्नेहरूले दिएको सूचनाका आधारमा प्रहरी घटना स्थलतर्फ गइरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर