एकैपटक चार दाजुभाइ चुनाव लड्दा तीनले जिते, एकले हारे – Nepal Press

एकैपटक चार दाजुभाइ चुनाव लड्दा तीनले जिते, एकले हारे

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ र धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकै परिवारका तीन दाजुभाइले चुनाव जितेका छन् । अर्का एक भाइ भने पराजित भए ।

ओखलढुंगाको मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाइ एकैपटक चुनाव लडेका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रुम्दाली गाउँपालिकाको अध्यक्षमा विजय भएका हुन् । उनीहरूका दाजु राजकुमार रुम्दाली मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. १ मा वडाअध्यक्षमा विजयी भए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

ज्ञानेन्द्रले कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएर ५ हजार २१ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले उछिने ।

गठबन्धनको समर्थनमा धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएका जीतेन्द्रले नेकपा (एमाले) का कुमारजंग याखालाई ५७१ मतले पराजित गरे । उनले ५ हजार ३ सय ९९ मत प्राप्त गर्दा याखाले ४ हजार ८ सय २८ मत ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

उनीहरूकै भाइ दीपेन्द्र रुम्दाली मानेभञ्ज्याङमा जनता समाजवादीको तर्फबाट उपाध्यक्षको उम्मेदवार थिए । उनले भने कांग्रेसका उम्मेदवारसँग भारी मतान्तरमा हार व्यहोर्नु पर्‍यो ।

जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजय हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

एकाघरका ५ दाजुभाइमध्ये धिरेन्द्र र दिपेन्द्र जनता समाजवादीमा सकृय भएर राजनीति गरिरहेका छन् भने राजकुमार, जितेन्द्र र ज्ञानेन्द्र कांग्रेसमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर