विवाइसी महिला गोल्डकपः आर्मी सेमिफाइनलमा – Nepal Press

विवाइसी महिला गोल्डकपः आर्मी सेमिफाइनलमा

धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा बागमती युवा क्लबलाई ७–० गोलको नतिजामा हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्‍यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका लागि पहिलो हाफको १७ औँ मिनेटमा इन्दिरा राई, २९ औँ मिनेटमा अमिषा कार्की र ३९औँ मिनेटमा दीपा शाहीले गोल गरिन् । पहिलो हाफको २८औ मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो । बागमतीकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन् ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन् । उनले खेलको ४९औँ र ६०औँ मिनेटमा गोल गरिन् । कुसुमको व्यक्तिगत दोस्रो गोल उनले पेनाल्टीको सदुपयोग गर्दै गरेकी थिइन् । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा अमिषा कार्कीले खेलको ९०औँ मिनेटमा गोल थपिन् । नेपाल आर्मी क्लबले सेमिफाइनलमा नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिवार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेको छ । समूह ए मा रहेको पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ । सोमबार विभागीय टिम नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्ड कपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्ड कपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर