शेखरले भने- केन्द्रबाट भागबण्डा गरेर गठबन्धन लाद्न खोजे कांग्रेसलाई नै अप्ठ्यारो पर्छ – Nepal Press

शेखरले भने- केन्द्रबाट भागबण्डा गरेर गठबन्धन लाद्न खोजे कांग्रेसलाई नै अप्ठ्यारो पर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तल्ला तहको अधिकार मिचेर माथिबाटै गठबन्धन लाद्न नहुने बताएका छन् ।

कांग्रेसले आवश्यकता र औचित्यका आधारमा स्थानीय स्तरमै चुनावी तालमेल गर्ने विषयमा निर्णय गरेको बताउँदै त्यसलाई बेवास्ता गर्न नहुने उनले बताए ।

केन्द्रबाटै भागबन्डा गरेर गठबन्धन लाद्न खोजे त्यसले सबैलाई अप्ठेरो पार्ने उनले बताए ।

उनले भने, ‘त्यसले कांग्रेसलाई त अप्ठेरो पार्छ, पार्छ, सत्ता गठबन्धनका अन्य दललाई पनि अफ्ठ्यारो पार्छ ।’

यद्यपि आफू गठबन्धन दलहरूबिचमा तालमेलकै पक्षमा रहेको बताए ।

‘तालमेल पनि हुन्छ । तर जिल्लामै, स्थानीय तहमै, क्षेत्रमै । स्थानीय आवश्यकता र औचित्यताका आधारमा,’ उनले भने । त्यसरी गर्दा मात्रै तालमेलले मूर्त रूप लिन सक्ने उनले बताए ।

निर्वाचनका विषयमा आशंका उठिरहेको भए पनि त्यसमा पनि शङ्का नगर्न पनि उनले आग्रह गरे ।

‘गठबन्धनका शीर्ष नेताहरूले नै बोल्दिएका कुराले तपाईँहरूलाई लागेको हुनसक्छ,’ उनले भने, ‘तर निर्वाचन हुन्छ, हुन्छ, हुन्छ ।

उनले सरकार सञ्चालनका लागि गठबन्धन हुनु र निर्वाचन भिन्न प्रयोजन रहेको पनि बताए । कांग्रेस विगतदेखि नै एक्लै निर्वाचन लडिरहेको पनि उनले स्मरण गरे ।

२०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा त्यति बेला एमाले पनि सरकारमा रहेको स्मरण गर्दै उनले चुनाव भने एक्लै एक्लै लडेको बताए ।

दोस्रो जनआन्दोलन २०६२÷०६३ मा गिरिजाप्रसाद कोइरालाले एमाले, माओवादीसहितका दललाई साथमा लिएर संघर्ष गरेको र पछि सरकार चलाउँदा गरिएको निर्वाचन पनि एक्लै एक्लै लडेको उनले स्मरण गराए ।

‘गिरिजाबाबुले त्यति बेला चुनाव गर्दा कांग्रेस हार्छ तर देश र लोकतन्त्रले जित्छ भन्दै चुनाव गराउनुभएको थियो,’ उनले भने ।

कांग्रेसको विधानअनुसार पनि महानगरबाहेकको टिकट बाँड्ने अधिकार केन्द्रलाई नभएको बताउँदै उनले तल्ला तहका अधिकारहरू प्रयोग गर्न पनि तल्लै तहमा छलफल हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर