निर्वाचन नजिकिएसँगै सियारी र शुद्धोदन गाउँपालिकाका अध्यक्षद्वारा सुविधा त्याग्ने घोषणा – Nepal Press

निर्वाचन नजिकिएसँगै सियारी र शुद्धोदन गाउँपालिकाका अध्यक्षद्वारा सुविधा त्याग्ने घोषणा

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र शुद्धोदन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले आफूले लिँदै आएको सेवा सुविधा छोड्ने घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनको लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा सुविधा त्याग गरेको चौधरी र थारुले बताए ।

२०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा चौधरी शुद्धोदन र थारु सियारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

हाल जनप्रतिनिधि रहेका व्यक्तिहरू फेरि उम्मेदवार बन्न खोजे अहिले पाइरहेको सेवा सुविधा त्याग्नुपर्ने निर्वाचन आयोगको नियम अनुसार आफूले गाउँपालिकाबाट प्राप्त गरेको सेवा सुविधा त्याग गरेको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

अधिकांश थारु समुदायको बाहुल्यता रहेको सियारी र शुद्धोदनमा आगामी निर्वाचनको लागि समेत थारु र चौधरी दुबैजनाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

निर्वाचन आयोगले हालका जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवारी दर्ता गरेपछि सेवा सुविधा त्याग्नुपर्ने बताएको छ ।

चौधरी र थारुले भने उम्मेदवार बन्ने घोषणा गरेपछि चैत्र २७ गतेदेखि नै लागू हुने गरी उक्त सेवा सुविधा छोडेका हुन् । उनीहरू दुवै जना एमालेबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *