सुर्खेतका महिला जनप्रतिनिधिकाे एकस्वर: पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो – Nepal Press

सुर्खेतका महिला जनप्रतिनिधिकाे एकस्वर: पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो

सुर्खेत । कर्णाली प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला हो, सुर्खेत । प्रदेश राजधानीसमेत यस जिल्लामा २०७४ सालको स्थानीय चुनावबाट एकजना पनि महिला प्रमुख पदमा चुनिएनन् अर्थात् उम्मेदवारी नै दिन पाएनन् । तर यसपटक भने उनीहरुले स्थानीय तहको प्रमुख या अध्यक्षमा दाबी गरेका छन् । उनीहरु भन्छन्– पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो हो ।

सुर्खेतको लेकबेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेल नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उनले अबको नेतृत्व आफूले पाउनुपर्ने बताइन् । ‘हामीले उपप्रमुख भएर पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । संविधानमा व्यवस्था भएअनुसार ३३ प्रतिशत महिला प्रमुख हुन आवश्यक छ । हाम्रो पार्टीले महिलालाई पहिलो प्राथमिकता दिएका कारण पनि मैले मेरो पालिकामा नगरप्रमुखमा दाबी गरेकी हुँ’, उनी भन्छिन्, ‘सीमान्तकृत वर्गको उत्थानका लागि महिला नेतृत्व आवश्यक छ । गाउँमा भएका समस्याहरुबारे हामी जानकार छौं । ती समस्या समाधानका लागि मैले नेतृत्व गर्ने अवसर पाएको खण्डमा ‘वेस्ट’ हुन्छ ।’

नेपाली कांग्रेसबाट भेरिगंगा नगर उपप्रमुखमा विजेता बनेकी रेणु आचार्य पनि महिलाले अब अवसर पाउनुपर्ने धारणा राख्छिन् । ‘हामीले सदियौंदेखि घर चलाएका थियौं । पाँच वर्ष उपप्रमुख भएर चलाएका छौं । अब संसार चलाउन चाहन्छौं । दलहरुले हामी महिलालाई अवसर दिनपर्छ । हामी अनुभवी र सक्षम पनि भइसकेका छौं’, उनले भनिन्, ‘नयाँ व्यक्ति आउँदा उसलाई नगरपालिका सञ्चालनको तौरतरिका बुझ्न समय लाग्छ । यदि म नगरप्रमुख बन्न पाएँ भने अधुरा विकासे आयोजन देखि जनका आवश्यकता अनुसारका सबै कार्य ूुरा गर्न सजिलो हुन्छ ।’

उनले जनताका लागि गर्नुपर्ने काम धेरै बाँकी रहेको बताउँदै यसपटक पार्टीले महिलाको हातमा नेतृत्व हस्तान्तरण गरेर महिलाले पनि फ्रन्टलाईनमा बसेर जनताको सेवा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न दिनुपर्ने माग गरिन् ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको पनि नगरप्रमुखमा दाबी छ । उनले एमालेको नगरपालिकामा नगरप्रमुख नभए पनि कार्यपालिकामा दुईतिहाई भएका कारण प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विभिन्न विकास निर्माणको काम गरिएको बताउँदै नगरप्रमुख भएको खण्डमा त्योभन्दा बढि काम गर्न सकिने बताइन् । ‘उपमेयर भएर काम गरेको अनुभव छ । जनताका समस्यासँग परिचित भएकी छु’, उनी भन्छिन्, ‘महिलाहरु पनि प्रमुख भएर काम गर्न पाउनुपर्छ । पाँच वर्षमा मैले स्थानीय स्तरमा पर्याप्त अनुभव हासिल गर्दै उपप्रमुखको रुपमा स्थानीय तहमा जिम्मेवारी पूरा गरें । प्रदेश र केन्द्रसँग आवश्यक समन्वय गरेर वीरेन्द्रनगरमा अर्बौंका योजना कार्यान्वयन भएका छन् ।’

सुर्खेतको सबैभन्दा विकट गाउँपालिका चौकुनेमा उपाध्यक्षको रुपमा एमालेको उम्मेदवार निर्मला शर्मा विजयी बनिन् । उनले आफू अध्यक्ष नहुँदा चाहँदाचाहँदै पनि पालिकाका धरै काम गर्न नसकिएको बताउँदै आफ्नो अनुभवलाई कार्यान्वयन गर्न र पालिकालाई सुगम पालिकाको रुपमा पहिचान दिलाउन आफ्नो अध्यक्ष पदमा दाबेदारी रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर