सुर्खेत कांग्रेसमा शेखर समूहले माग्यो ४० प्रतिशत हिस्सा – Nepal Press
स्थानीय चुनाव

सुर्खेत कांग्रेसमा शेखर समूहले माग्यो ४० प्रतिशत हिस्सा

गठबन्धन गर्ने निर्णयले कार्यकर्ता निरास भएको निष्कर्ष

सुर्खेत । सुर्खेत कांग्रेसको शेखर कोइराला समूहले ४० प्रतिशत हिस्सा मागेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेपछि अब पार्टी र उम्मेदवार दुवैमा ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष निकालेको हो ।

पार्टीमा भागबण्डाको राजनीति नगर्ने भनिए पनि संस्थापनइतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको ले ६०-४० को दाबी गरिएको एक नेताले बताए । रेग्मीले कांग्रेसलाई विजय गराउन मैदानमा खटिन आग्रह गर्दै आफूहरूको पनि सम्मानजनक उपस्थितिमा जोड दिए ।

पार्टीमा मनोनीत गर्ने, जिम्मेवारी दिने सवालमा संस्थापनइतर समूहलाई बेवास्ता गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि यस्तै जोखिम बढेकाले ४० प्रतिशतको दावा गरिएको युवा नेता नारायण कोइरालाले बताए ।

आजसम्म आफूहरुले पर्खेर बसेको भन्दै उनले संस्थापन पक्षको गतिविधिले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरे । पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठबन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निरास छाएको उनको भनाइ छ ।

निवर्तमान सभापति कमलराज रेग्मीले स्थानीय तहको निर्वाचनमा संस्थापन पक्षलाई पनि बाइपास गर्न सक्ने जोखिम भएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावानी दिए । पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

सिद्धान्तै नमिल्ने पार्टीसँग कांग्रेसले गठवन्धन गर्नु दुर्भाग्य भएको भन्दै निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर