छोरीको प्रशंसा गर्दै प्रचण्डले भने- यत्रो काम भएको छ, चुनावले होला टिमकैले प्रशंसा गरेनन् – Nepal Press

छोरीको प्रशंसा गर्दै प्रचण्डले भने- यत्रो काम भएको छ, चुनावले होला टिमकैले प्रशंसा गरेनन्

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नी छोरी मेयर रेणु दाहाल र भरतपुर महानगरपालिकाको तारिफ गरेका छन् । उनले विकासको मोडलका रूपमा देशभित्रदेखि विदेशसम्मले भरतपुरलाई हेरिरहेको दाबी गरे ।

महानगरको नवनिर्मित प्रशासकीय भवन शिलान्यास गर्दै उनले भरतपुरको विकासलाई दुनियाँले मोडलका रूपमा हेरिरहेको बताएका हुन् ।

‘साँच्चै भरतपुर महानगरपालिकाको एउटा पहिचान बनेको छ देशभरि, आम नेपाली भरतपुरलाई एक ढंगले हेर्छन्, विकास प्रक्रियाको तीब्रताले,’ उनले भने,‘र दुनियाँभर पनि विकासको मोडल गतिलाई निकै सकारात्मकरूपले हेर्ने गरिएको छ । छिमेकीहरूदेखि धेरै परपरसम्म भरतपुरलाई विशिष्ट महानगर भनेर ।’

उनले हर समयमा मेयर रेणु दाहाल सकारात्मकरूपमा देखिने गरेको प्रशंसा गरे । उनले भने, ‘मैले यहाँको मेयरलाई जहिल्यै सकारात्मक सोचमा नै भेटेँ । टिमभित्र पनि सहज अन्तरक्रिया र सकारात्मक सोचका साथ काम गरिरहेको पाएँ ।’

यद्यपि अहिले टीममा रहेकाहरूले भरतपुरको विकासबारे ‘बोल्न कञ्जुस्याइँ’ गरेको गुनासो गरे । ‘उहाँहरूले गरिए जति अहिले भनिदिनुभएन । सायद चुनाव आएर होला । विकासप्रति भन्दा चुनावप्रति चिन्ता देखियो,’ उनले भने ।

विकास भएको कुरालाई सबैले भन्न कञ्जुस्याइँ गर्न नहुने प्रचण्डको भनाइ छ ।

‘साथीहरू यहाँ बोल्न हिच्किचाउनुभयो । रिङ रोड बनिरहेको छ, बनेन भन्नुभयो । ५ अर्बको नारायणी तटबन्ध बन्दैछ, जुन चितवनका जनताको वर्षौं पुरानो सपना हो । टेन्डर भएको छ, प्रक्रिया अगाडि बढेको छ,’ उनले भने,‘विकासलाई त विकास भयो भनिदिनुपर्छ नि ।’

अघिल्लो स्थानीय तहको जस्तै गठबन्धनको परिवेश अहिले रहेको संयोग निकै राम्रो रहेको पनि उनले बताए ।


प्रतिक्रिया

One thought on “छोरीको प्रशंसा गर्दै प्रचण्डले भने- यत्रो काम भएको छ, चुनावले होला टिमकैले प्रशंसा गरेनन्

  1. ओलिले गरेकाे त्यत्रा कामलाई तिमीले गरेकाे comment हेर्दा त तिमीलाई याे भन्ने अधिकार नै छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर