घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने – Nepal Press

घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने

कैलाली । चलचित्र छायांकन र सम्पादनका लागि कैलालीको घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा चलचित्र छायांकन स्थलको विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण गरिने भएको हो ।

मंगलबार छायांकन स्थल निर्माणका लागि चलचित्र विकास बोर्ड र घोडाघोडी नगरपालिकाबीच सम्झौता भएको हो ।  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् ।

‘सुदूरपश्चिम प्रदेशमा नेपालमै पहिलोपटक  प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ’ घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले भने, ‘यो घोडाघोडी नगरपालिकाको लागि ठुलो  उपलब्धि हो ।’

सुन्दर सुदूरपश्चिममा नेपाली चलचित्र छायांकनको सिलसिला अत्यन्त कम भइरहेको अवस्थामा छायांकन स्थल निर्माणपछि यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगरप्रमुख चौधरीले बताए  ।

नेपाल सरकारले गत आर्थिक वर्षमा सातै प्रदेशमा छायांकन स्थल पहिचान गर्ने कार्यक्रम ल्याएको थियो । गत वर्ष नै कैलालीको घोडाघोडी– २ मा चलचित्र छायांकन स्थल छनोट भएको थियो । नेपालमै पहिलो पटक घोडाघोडीमा छायांकन स्थल निर्माणका लागि सम्झौता भएको चलचित्र विकास बोर्डका सदस्य प्रकाश भट्टराईले बताए ।

‘पहिलो चरणमा डिपिआर र मास्टर प्लान निर्माण हुने छ’ उनले भने ‘त्यसै आधारमा आन्तरिक चलचित्र छायांकन स्थल, सम्पादक कक्ष, विभिन्न जातजातिको संस्कृति झल्किने संग्राहलय, प्रशासनिक भवन निर्माण गरिनेछ ।’

नजिकै रहेको चिडिया तलमा छायांकनका लागि पनि विकास गर्ने नीति लिएको उनले जानकारी दिए ।  मन्त्रालयले जारी गरेको छायांकन स्थल मापदण्ड अनुसार नगरपालिकासँग सम्झौता गरिएको थियो ।

चलचित्र विकास बोर्डका तर्फबाट हस्ताक्षर गर्न अध्यक्ष दाहाल बोर्ड सदस्य भट्टराई प्राविधिक सन्देश ढकाल घोडाघोडी पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *