धनुषा कांग्रेस सभापतिमा पराजित यादवको चेतावनी- बाहुबली ठान्नेलाई चुनावमा देखाउँछु – Nepal Press

धनुषा कांग्रेस सभापतिमा पराजित यादवको चेतावनी- बाहुबली ठान्नेलाई चुनावमा देखाउँछु

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा सभापतिमा पराजित संस्थापन पक्षका नेता सन्तोष यादवले स्थानीय तहको चुनावमा समन्वय र सहकार्य गरेर अगाडि नबढ्नेको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

जनकपुरस्थित कांग्रेसको प्रदेश कार्यालयमा होलीको अवसरमा शुभकामना साटासाट गर्न भेला भएका नेता कार्यर्तालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा निश्चितरूपमा पराजय भएको छु । तर, कसैले दबंग र बाहुबली ठानेर पार्टीको विधि विधानविपरीत काम गरेमा प्रतिकार गर्छु ।’

पार्टीको धनुषा सभापतिमा विमलेन्द्र निधी समूहका योगेन्द्र पंजियार निर्वाचित भएका छन् । उनको समूहलाई लक्षित गर्दै नेता यादवले भने, ‘स्थानीय तहको निर्वाचनमा वडामा असहयोग गरे आफूहरू पालिकामा असहयोग गर्छु । पालिकामा असहयोग गरे जिल्लामा गर्छु । जिल्लामा असहयोग गरे प्रदेश र केन्द्रमा गर्छु ।’

स्थानीय निर्वाचनमा आफ्ना पक्षका नेताहरूलाई बाइपास गरे असहयोग गर्ने उनले स्पष्ट पारे । पार्टीका १ हजार ४६ कार्यकर्ताको भोट आफूले पाएकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको उनको भनाइ थियो ।

नेता यादवले उच्च मनोबलका साथ होली मनाउन आफ्ना पक्षधर नेता कार्यकर्तालाई आग्रह समेत गरे । वैशाख ३० मा स्थानीय निर्वाचन हुने भएपनि प्रक्रिया वैशाख १ बाटै सुरु हुने भएकाले निर्वाचनको तयारीमा लाग्न उनले सुझाए ।

पार्टी कार्यालयमा संस्थापन पक्षका नेताहरू आसपमा होलीको शुभकामना साटासाट गरेका छन् । उक्त कार्यक्रममा शेखर कोइराला र विमलेन्द्र निधी पक्षका नेता कार्यकर्ता भने सहभागी थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर