प्रचण्ड-माधवको दोहोरो भूमिका : आफैं सरकारमा, आफैं आन्दोलनमा – Nepal Press

प्रचण्ड-माधवको दोहोरो भूमिका : आफैं सरकारमा, आफैं आन्दोलनमा

काठमाडौं । परम्परागत कम्युनिष्ट पार्टीहरुले प्राय: दोहोर्‍याइरहने शब्दावली हो- संघर्षका सबै मोर्चा उपयोग गर्ने । संघर्षका सबै मोर्चा भन्नाले सडकदेखि संसदसम्मलाई बुझिन्छ र यो मुलतः सरकारमा नरहेको अवस्थामा लागू हुन्छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी हाल गठबन्धन सरकारमा छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ । तर, आफैं सम्मिलित सरकारले अनुमोदनका लागि पेश गरेको सम्झौताविरुद्ध यी दुई दलले सडकमा कार्यकर्ता उरालेका छन् ।

अमेरिकी सहायता परियोजना (एमसीसी) लाई लिएर माओवादी र एकीकृत समाजवादी दोहोरो भूमिका अहिले छताछुल्ल बनेको छ । यी दुई दलले बुधबार कार्यव्यवस्था परामर्श समितिमा सरकारले अघि बढाउन खोजेको एमसीसीविरुद्ध फरक मत राखे । सत्ताका सहयात्रीमै बेमेल हुँदा संसदमा आज एमसीसी टेबुल हुन सकेन ।

अर्कोतर्फ गठबन्धन के हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ ।

माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ बुधबार बानेश्वरमा भएको एमसीसीविरुद्धको सडक प्रर्दशनमै सहभागी भए । आफ्नै सरकारविरुद्ध पार्टीको भातृ संगठनको आन्दोलनमा जाँदा उनीमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी अनुमोदन गर्ने वाचा गर्दै अमेरिकालाई पत्र लेखे । तर, उक्त प्रतिवद्धताको जवाफदेहिता अहिले उनी बोक्न चाहँदैनन् । बरु कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतारेका छन् भने एमसीसी टेबुल गरिएमा सरकारबाटै हट्ने भनेर पार्टीबाट आधिकारिक निर्णय गराएका छन् ।

माओवादी केन्द्रका भातृ संगठन अखिल (क्रान्तिकारी) र वाईसीएल तथा एकीकृत समाजवादीका भातृ संगठनहरु अनेरास्ववियू र युवासंघको प्रदर्शनका कारण बुधबार बानेश्वर वरपरको अवस्था तनावग्रसत बनेको थियो ।

वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले दोहोरो भूमिका खेलेको आरोप अस्वीकार गर्छन् । गठबन्धन एमसीसी पास गर्न सर्तमा नबनेको र संसोधनबिना एमसीसी पास गर्नुहुँदैन भन्ने माओवादीको पहिलेदेखिकै अडान रहेको उनको भनाइ छ ।

‘यो गठबन्धन र सरकार एमसीसी पारित गर्ने सर्तमा बनेको होइन,’ उनको भनाइ छ, ‘हाम्रो पार्टीले पटक–पटक एमसीसी संशोधनबिना स्वीकार गरिन्न भनेर भनेको छ । अहिले त्यही भनेर आफ्ना भावना राख्दा कसरी दोहोरो हुन्छ ?’

जबरजस्ती एमसीसी टेबुल गरिए सरकारमा नबस्ने निर्णय पार्टीको संसदीय दलको बैठकले पनि गरेको उनले बताए ।

‘हामी बस्दैनौं भन्ने कुरामा प्रष्ट छौं,’ सापकोटाले भने ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली देशको राष्ट्रियतासँग जोडिएको विषयमा विरोध गर्दा सरकारमा रहने–नरहने कुरा गौण हुने बताउँछन् । सरकार आफूहरुका लागि प्राथमिकताको विषय नभएको र आवश्यक पर्दा बाहिरिन बेर नलगाउने उनको भनाइ छ ।

समाजवादीपछि माओवादीका संगठन सडकमा

सरकारमा रहँदा–रहँदै एकीकृत समाजवादीका भ्रातृसंगठन सुरुमा एमसीसीविरुद्ध सडकमा आए । फागुन १ गते सबै भ्रातृ संगठनले एमसीसीविरुद्ध एकीकृत प्रदर्शन गरेका थिए । त्यतिबेला माओवादी भने सडकमा आइसकेको थिएन । माओवादी नेताहरु व्यक्तिगतरुपमा एमसीसीको विरोध गरिरहेका थिए ।

तर, कांग्रेसले मंगलबार संसदीय दलको बैठक राखेर एमसीसी संसदमा टेबुल गराइछाड्नेतर्फ अग्रसरता देखाएपछि बुधबार बिहानैदेखि माओवादीका भातृ संगठन पनि विरोधमा उत्रिएका हुन् ।

अब दुवै सत्तारुढ दलका भातृ संगठन सडकमा आइसकेका छन् । सत्ता गठबन्धकै अर्को दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीविरुद्ध सडकमा गइसकेको छ ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका पार्टीले गरेको एमसीसीविरुद्धको प्रर्दशनमा जनमोर्चा सहभागि भएको थियो ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड-माधवको दोहोरो भूमिका : आफैं सरकारमा, आफैं आन्दोलनमा

  1. प्रचण्डले एमसिसिलाई स्वार्थमा प्रयाेग गरेका दृष्टान्तहरू: १) केपिलाई प्रधानमन्त्री भएकाे समयमा असहयाेग गर्न अहिले एसमा भएका नेता र पूर्व माओवादी सहित बनाईएकाे झलनाथ संयाेजक भएकाे समितिले एमसिसिलाई पारित नगर्ने गरि सिफारिश गर्न लगाए । याे ओलिलाई अप्ठ्याराे पार्ने मात्र उद्देश्यबाट प्रेरित थियाे । २) केपि सरकारले एमसिसि सदनमा पेश गर्न खाेज्दा आफ्नाे हनुमान सभामुखलाई प्रयाेग गरेर दर्ता नै हुन दिएनन् । ३) केपि ओलिलाई प्रधानमन्त्रीबाट हटाउन सहयाेग गर्ने भए आफूले एमसिसि पारित गर्न सहयाेग गर्ने भनेर अनाैपचारिक रूपमा अमेरिकी अधिकारीहरूकाे कान फुक्दै हिडे । ४) आफू एमसिसिकाे पक्षमा नै हाे भनेर अमेरिकालाई आश्वस्त पार्न पार्टीलाई थाहै नदिई देउवासँग मिलेर कुटनीतिक हिसावले अत्यन्त लज्जास्पद पत्र लेखे । ५) अमेरिकालाई एमसिसि पास गर्ने नै हाे भनेर लेखे पनि पार्टीमा चाहिँ आफू पनि संशाेधनविना पारित गर्नुहुन्न भन्नेमा नै रहेकाे भनेर दाेहाेरा भूमिका खेले, क्रन्तिकारी बन्न । ६) एमालेले संसदकाे अवराेध हटाएमा छलफल अगाडि बढ्छ भनेकाे पनि सुनियाे । यसकाे मतलव संझाैता आफैमा खराब हाेईन त्याे मार्फत एमालेकाे संसद अवराेधलाई निश्तेज पार्न सकिन्छ भनेर प्रयाेग गर्न खाेजियाे तर एमालेले मानेन । ७) पछिल्लाे समय एमसिसि पास गर्ने भए प्रधानन्याधिशलाई महाअभियाेग लगाउनु पर्छ भनेर शर्त राखे । काँग्रेस महाअभियाेगकाे पक्षमा नभए पनि एमसिसि पास हुन्छ भने चाेलेन्द्रलाई महाअभियाेग लगाउन तयार भयाे । तर जब महाअभियाेग दर्ता भयाे एमसिसि पास गर्ने भए सरकार छाड्ने भनेर पार्टीबाट निर्णय गर्न लगाए । यसरी दुई देशकाे सम्बन्धलाई असर पार्ने र विशुद्व आर्थिक परियाेजनालाई आफ्नाे स्वार्थमा प्रयाेग गर्ने जस्ताे घातक काम गर्ने पनि नेता हुन्छ ? याे त दलालव्यापारी जस्ताे भयाे । सुनिदैछ उनकाे अर्काे शर्त भित्रभित्रै आउँदैछ रे कि एमसिसि पास गर्ने भए पास भए पछि उनलाई प्रधानमन्त्री बनाउनुपर्ने रे ।

  2. उहाँहरू दुबै जना र उहाँहरूको पार्टी निति सिद्धान्त र विचार बिहिन हो उहाँहरू राज्य तहसनहस गर्न लागि पर्नु भएको उहाँहरूको गतिविधिबाट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर